जेष्ठ ६, २०८१ आईतबार

पञ्चायतको सबैभन्दा क्रुर काम नै सुखानी हत्या काण्ड : विष्णु प्रसाई

गगन ढकाल

झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो ।

उक्त हत्याकाण्डमा कृष्ण कुइँकेल, बिरेन राजवंशी, रामनाथ दाहाल, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई झापा कारागारबाट इलाम कारागारलाने क्रममा हत्या गरिएको थियो ।

वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरुले तत्कालिन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए ।
झापा आन्दोलनलाई प्रत्यक्ष्य अनुभूत गर्ने र त्यस आन्दोलनमा सामेल भएका झापा आन्दोलनका जिउँदा इतिहास विष्णु प्रसाईं ०२९ सालको फागुन २१लाई यसरी सम्झनुहुन्छ :

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईंले फागुन २१ को घटना क्रुरताको पराकाष्ठा रहेको बताएका छन् । उनले पञ्चायत शासनले गरेको सबैभन्दा क्रुर काम भने कै सुखानी हत्या काण्ड भएको बताए । उनी भने, ‘जेल सरुवा गर्ने भनेर लगेर हाम्रो पाँच जना साथीहरुलाई सुखानीमा लगेर गाडीबाट झारेर पहिले आफैं लखेटे अनि पछि चाहीँ भागे भन्दै गोली हानी हत्या गरे ।’ शासकहरुले हत्या गरिसकेपछि हामीलाई मलामी समेत जान दिएनन् । सो घटना पछि हामी जेल बाहिर भएकाले पनि यहाँ बसिरहन सक्ने स्थिति बनेन, त्यसबेला म लगायत हामी केही साथीहरुले भारत गएर आफ्नो ज्यान जोगाएका थियौं ।

रामनाथ दाहाल र नेत्र घिमिरे त मेरै घरमा पनि आएर पार्टी काम गर्नु भएको साथीहरु हो । उनी भन्छन् ‘०३० सालमा केपी ओली पनि जेल पर्नु भयो । उहाँलाई पनि जेल सार्ने नाटक गरेर मार्ने प्रयास गरिएको थियो तर उहाँ बाच्नु भयो ।’
प्रसाईंले बिबाह गरेको १७ औं दिनमै आफू घर छाडेर भाग्न परेको स्मरण गर्छन् । उनी भन्छन् ‘बिबाह गरेको १६औं दिनमा प्रहरीहरु आएर मेरो घरमा खनतलासी गरेका थिए, १७औं दिनको दिन मैले घर छाडेर हिडेको थिए ।’ घर–घरमै खनतलासी हुनथाले पछि अब चाहीँ राख्दैन हामीलाई पनि मार्छन् भनेर साथै आन्दोलनलाई जोगाउन भए पनि हामी बाच्न पर्छ भनेर झापाका र आठराई तिरका साथीहरु मिलेर आसाम गएर एक वर्ष जति उतै बसेका थियौं, प्रसाईले भने ।

प्रसाईंले हालको शक्ति सम्पन्न एमाले झापा आन्दोलन कै प्रतिफल रहेको बताएका छन् । उनी भन्छन् ‘तत्कालिन माले पार्टीबाट सुरु भएको झापाको किसान आन्दोलनलाई पार्टीले व्यवस्थित गर्दै देशकै शक्तिशाली दल नेकपा एमाले बनेको हो । तत्कालिन झापा आन्दोलनले नै अहिलेको एमाले बनेको हो ।’, उनी भन्छन् ‘हिजो पार्टी कार्यकर्ता भित्र जुन अनुशासन थियो तर त्यो अहिले छैन । तर पार्टीले प्रशिक्षण मार्फत कार्यकर्तालाई अनुशासित र जनउत्तरदायी बनाउने नीति लिएर आएको छ ।’

प्रसाईंले फागुन २१ नेकपा एमालेका कार्यकर्ता, श्रमजिवी वर्गहरु र प्रगतिशिल बिचार राख्नेहरुको एउटा ऐतिहासिक दिन रहेको बताएका छन् । उनी भन्छन् ‘फागुन २१ तत्कालिन शासकले कायरतापूर्वक क्रुरता प्रदर्शन गरेको दिन हो । यस दिनमा पहिलो पटक हाम्रो साथीहरु मारिनु भएको थियो तर पछि–पछि रत्न बान्तवा, ऋषि आलम लगायत थुप्रै नेता कार्यकर्ताहरुलाई पञ्चायतले मारेको थियो ।’, उनी भन्छन् ‘झापा आन्दोलनले सुरु गरेको पञ्चायत क्रुरता विरुद्धको आन्दोलनले आजको स्वतन्त्रता प्राप्त भएको छ । त्यसैले ति पाँच जना क्रान्तिकारी साथीहरुको सम्झनामा यो दिनलाई भब्यताको साथ ऐतिहासिक महत्व दिएर उत्सब गरेर मनाउनु पर्छ ।’

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]