जेष्ठ ६, २०८१ आईतबार

झापा विद्रोहको बलले नै पञ्चायत र राजतन्त्र फालियो : गौतम

गगन ढकाल

झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो ।

उक्त हत्याकाण्डमा कृष्ण कुइँकेल, बिरेन राजवंशी, रामनाथ दाहाल, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई झापा कारागारबाट इलाम कारागारलाने क्रममा हत्या गरिएको थियो ।

वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरुले तत्कालिन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए ।

झापा आन्दोलनलाई प्रत्यक्ष्य अनुभूत गर्ने र त्यस आन्दोलनमा सामेल भएका झापा आन्दोलनका जिउँदा इतिहास मनकुमार गौतम ०२९ सालको फागुन २१ लाई यसरी सम्झनुहुन्छ :

झापा विद्रोहमा लागेर १८ वर्ष कारागार जीवन बिताएका झापाका एमाले नेता मनकुमार गौतमका अनुसार सुखानीमा ज्यान गुमाएका पाँच जना योद्धाहरुले तत्कालिन सत्ताको अगाडि घुँडा टेक्नु भन्दा हाँसीहाँसी बलिदान स्वीकारेको बताएका छन् । उनी भन्छन् ‘तत्कालिन पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वधिनता तथा जनकेद्रीयता लागु गराउन गरिएको आन्दोलन हो, झापा आन्दोलन । देशको राज्य व्यवस्थाको क्रुरताको विरुद्ध संगठित भएर उभिएका हामीलाई चन्द्रगडी कारागारको ५ नम्बर कोठामा लगेर थुनिएको थियो ।

हामी मध्येका पाँच जना साथीलाई तत्कालिन पञ्चायती सरकारले जेल सार्ने निहुँ पारेर सुखानीमा १२–१२ राउण्ड गोलि हानी विभत्स हत्या गरेको थियो । साथीहरुले आफूहरु मारिने पूर्व अनुमान गरेर हामीसँग अब फेरि हाम्रो भेट हुँदैन हामीलाई मार्छन् यो आन्दोलन तपाईंहरुले पूरा गर्नु होला भन्दै हाँसीहाँसी बिदा हुनुभएको थियो ।’ उनी भन्छन् ‘कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने उद्देश्यले उहाँहरुको हत्या भएको थियो । तर उहाँहरुको रगतको थोपाहरुले झन् धेरै भन्दा धेरै वीर योद्धाहरु जन्मिए जसले पञ्चायत मात्र हैन तानशाही राजतन्त्रको पनि अन्त्य गर्यो ।’

०२९ साल फागुन २१ का प्रत्यक्षदर्शी तथा सुखानी हत्याकाण्डमा मारिएका पाँच सहिदसँगै जेल परेका गौतम ति पाँच सहिदहरुसँग अन्तिम पटक हात मिलाएको ताजै रहेको बताउँछन् । उनी भन्छन् ‘हाम्रा साथीहरुलाई इलाम जेल सरुवा गरियो भनिएको समयमा इलाममा एउटा साधारण कैदीलाई पनि राख्न सक्ने अवस्था थिएन । त्यहाँ कुनै अलि ठूलो मुद्दाको कैदी भए दौडाएर ल्याएर झापा जेलमा हालिन्थ्यो । तर, हाम्रा साथीहरुलाई कसरी इलाम सरुवा हुन्छ भनेर साथीहरु बीच सल्लाह गर्दा ति पाँच मध्येकै एक साथीले भन्नु भएको थियो – कमरेडहरु जेल सार्ने निहुँमा हाम्रो हत्या हुँदैछ, हामीलाई मार्न यो नाटक गरिदैछ तर हामी मृत्युदेखि डराउनु हुँदैन अन्याय सहेर बाच्नुभन्दा हाँसीहाँसी मर्न तयार हुनपर्छ ।’

साथीहरुको हत्या भएको खबर सुन्दा केही समय हतास भयौं तर समयले हामीलाई हतास हुन दिएन । उनी भन्छन् ‘छातीमा १२–१२ राउण्ड गोली हानी तिमीहरुको साथीहरुको हत्या भयो भनेको सुन्दा केही समय त हामी हतास भयौं । सँगै आन्दोलन गरेको सँगै जेल परेको, केही घण्टा अघिसम्मसँगै रहेको साथी मारिएको सुन्दा हामी भावविहल भयौं ।

हाम्रो भावविहलताको कुनै सीमा रहेन । तर अत्यचार विरुद्ध आन्दोलनरत हामीलाई भावुक भइरहन समयले दिएन । मुट्ठी कसेर केही बेर मारिएका साथीहरुलाई सम्झिदै उहाँहरुको सपना पूरा गर्ने प्रण गरेर आगामी योजना बनाउन लाग्यौं ।’ उनी भन्छन् ‘हामीले तत्काल मुट्ठी कसेर अठोट गर्यौं जहाँ क्रान्ति हुन्छ त्यहाँ बलिदान हुन्छ, मृत्यु त अनिवार्य घटना हो । सहिदका रगतको उच्चसम्मान नै उहाँहरुको सपना साकार पर्नु हो भनेर हामी तत्कालिन तानशाही पञ्चायती व्यवस्थाको विरुद्ध लागि पर्यौं ।’

वि. सं. २०२९ सालमा पक्राउ परेका मनकुमार गौतम ०४६ पुस १९ गते जेल मुक्त भएका हुन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]