बैशाख १३, २०८१ बिहीबार

झापा विद्रोह – उठान, उत्कर्ष र बैठानको इतिहास

अनिल सापकोटा

नेपाल कम्युनिस्ट आन्दोलनमा फागुन २१ लाई सहिद दिवसको रुपमा मनाइन्छ । सुखानीका ५ क्रान्तिकारीको सहादतको४३ वर्षपछि २०७२ साल फागुन १९ गते सो क्रान्तिका सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्ले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।मुलुकको एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माणमा झापा किसान विद्रोह एउटा महत्त्वपूर्ण कडीको रुपमा इतिहासमा अंकित छ । त्यसबेलाको कम्युनिस्ट पार्टी भन्नाले एउटा आन्दोलनकारी शक्ति, गरीब, मजदुर, भूमिहिनको पक्षमा पैरवी गर्ने दलको रुपमा बुझिन्थ्यो ।

वि.सं.२००६ साल देखि नै नेपाली धरतीमा सामान्तवाद र साम्राज्यवाद विरुद्ध कम्युनिस्ट आन्दोलनको सुरुवात भएको थियो । त्यसले नेपाली जनवादी क्रान्तिलाई पुरा गरि समाजवाद हुँदै साम्यवाद तर्फ अघि बडने लक्ष्य लिएको थियो ।त्यसो त २००७ सालको राणा शाही विरोधी आन्दोलनमा पनि झापाको अग्रिणी भूमिका रहेको छ । त्यस बेला पनि भैरव आचार्यहरुको अगुवाइमा राणा विरोधी प्रोभिजनल गभर्मेन्ट सक्रिय थियो । ०१९ सालको तेश्रो महाधिवेशनसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन विभाजित हुन पुग्यो । तुलसीलाल अमात्य र पुष्पलालहरुको एउटा पक्ष थियो भने राजा महेन्द्रको दक्षिणपन्थी कदम (निर्दलीय व्यवस्था)लाई समर्थन गर्याे भनेर रायमाझी पक्षलाई पार्टीबाट हटाईएको थियो ।यसरी जनवादी आन्दोलनमा नै ठूलो धक्का लाग्ने गरिनेताहरुलेविभिन्न गुट उपगुटमा विभाजित भएर कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सकिरहेका थिएनन् ।

जसका कारण आन्दालनका कतिपय सहभागीहरुमा निराशा छायो र उनीहरु आन्दोलनबाट समेतपृथकहुन पुगे । आन्दोलनमा देखा परेको विभाजन, पलायनता, निराशा र दिशाहिनतालाई अन्त्य गर्दै नयाँ उचाईबाट उत्साह र दृढताकासाथ नेपाली कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै नेपाली धरतीमा फहराइएको क्रान्तिको झण्डालाई निरन्तरता दिने र अझ माथि उठाउने ध्येयले ०२२ सालमा पूर्व कोशी प्रान्तीय कमिटीलाई पुर्नः जिवित गरियो । जसको नेता मनमोहन अधिकारी जेलमै हुनुहुन्थ्यो भने महासचिव भरतमोहन अधिकारी नै पार्टीको कार्यकारी हुनुहुन्थ्यो । त्यही सिलसिलामा ०२५ सालमा झापामा गोपालकृष्ण प्रसाईं ईन्चार्ज र मदन खपाङ्गी मगर सचिव रहेको जिल्ला कमिटी गठन भएको थियो । जसको सदस्यमा द्रोणचार्य क्षेत्री, विश्वराज रेग्मी लगायत हुनुहुन्थ्यो । तात्कालिन कमिटीले पार्टी संगठन विस्तार तथा शोषक सामान्ति जमिनदारहरुको विरुद्ध किसान आन्दोलनका मुद्दाहरुलाई उजागर गर्ने काम गर्दथ्यो ।

राजा महेन्द्रले हदबन्दीभन्दा माथिको जग्गालाई नियन्त्रण गरी सुकुम्बासी, मोही किसानलाई वितरण गर्ने उद्देश्यले ०२१ सालमा भूमि सुधार ऐन लागु गरे।त्यस समय पञ्चायत लागु भएता पनि सो का शासकहरु चाहीँ शोषक सामान्ति वर्गहरुको पक्षधर भएको हिसाबले स्थानीय संचालकहरुले किसान विरोधी ढंगले प्रयोग गर्दा किसानहरुको हक अधिकारहरु कुण्ठित हुन पुग्यो । जसका कारण जमिनदार र किसानहरु बीचको अन्तरबिरोध पेचिलो बन्दै गयो ।उनीहरुको मोहियानी हक, जमिनमा काम गर्न हक खोसिदै लानु किसान आन्दोलन हुनुको एउटा आन्तरिक कारण थियो । बाह्यरुपमा चीनमा त्यसबेला सांस्कृतिक क्रान्ति भइरहेको थियोभनेसीमावर्ती क्षेत्र नक्सालबारीमा पनि हैदरावादका निजामविरुद्ध किसानहरूले गरेको तेलङ्गना विद्रोह(सन् १९४६–५१जसलाई पछि शासक बल्लभभाई पटेलले सेना परिचालन गरेर दमन गरेका थिए)लाई आदर्शका रूपमा स्वीकार गर्दैकिसानहरु आर्थिक मागको लागि संघर्ष गर्नेदेखि बडेर राज्य सत्ता कब्जा गर्ने तहसम्म उत्रिएर नक्सालवादी आन्दोलन चर्काकाइरहेका थिए । त्यसबाट पनि झापाको किसान आन्दोलन प्रभावित भएको मानिन्छ ।

यता झापाका संगठित युवाहरुलाई नक्सालबारीमा जस्तैवर्गशत्रु उच्छेद गर्न सशस्त्र क्रान्तीको हतारो थियो भने, पूर्व कोशी प्रान्तीय कमिटीका नेताहरु भने तत्कालै भुमिगत आन्दोलनमा जाने पक्षमा थिएन । पुर्व कोशी प्रान्तीय कमिटीसँग मातहतको झापा जिल्ला कमिटीको मुटाव बड्दै गए पछि ०२७ सालको चैत्रमा झापा जिल्ला कमिटीलेसम्बन्ध विच्छेद गर्यो । राधाकृष्ण मैनाली सचिव चुनिएर एउटा विद्रोही कमिटी बन्यो ‘अखिल नेपाल कोअर्डिनेसन केन्द्र झापा’ ।जसको इन्चार्जमा मोहनचन्द्र अधिकारी रहनु भएको थियो भने रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, लिला कट्टेल, विसु राजवंशी, राजेन राजवंशी , भोगेन राजवंशी, हर्क खड्का, पुन्य निरौला शर्मा, तुलशी सेलवाल, शिव शिवाकोटी, तिलविक्रम ढकाल, नरेश खरेल, डम्बर बानियाँ लगायत सदस्य रहनु भएको थियो । मुकुन्द न्यौपाने, सिपी मैनालीलाई ०२८ को साउन तिर र खड्ग प्रसाद ओलीलाई पछि फागुनमा मनोनयन गरिएकोे थियो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता चारु मजुमदारको राजनैतिक लाईन ‘वर्ग सत्रु सफाया’ अभियान संचालन गरि गोरिल्ला युद्ध द्वारा नयाँ जनवादी क्रान्ति पुरा गर्ने विचारलाई नै झापा जिल्ला कमिटीले अंगिकार गर्याे । मुलतः दुई उद्देश्यमा अडित यस कमिटीले टुक्रिएको कम्युनिस्ट पार्टी र सिथिल भएको कम्युनिस्ट आन्दोलनलाई विचारको तरंग र संगठनात्मक हिसाबले गतिशिल बनाउँदै एकीकृत, सुदृढ र व्यापक कम्युनिस्ट पार्टीको निर्माण गर्ने तथा जनवादी आन्दोलनलाई सफल बनाउदै समाजवादको बाटोबाट साम्यवाद तर्फ उन्मुख हुने लक्ष्य लिएको थियो । यही कमिटीले जन्माएको थियो झापा विद्रोह भनेपञ्चायती शासकद्वारा ‘झापा विद्रोह’लाई दमन गर्न सुखानी हत्याकाण्ड रचिएको थियो ।

के थियो नक्सलबाडी आन्दोलन ?
नक्सालबाडी भारतको पश्चिम बंगाल प्रान्त दार्जिलिङ्ग जिल्ला स्थित नेपालको सीमावर्ती क्षेत्रको एक सानो बजार हो । सन् १९४७ को स्वतन्त्र संग्रामको आन्दोलन पश्चात भारतमा विकास भएका विभिन्न वाद र विचारहरुले राजनैतिक पृष्ठभुमी पाइरहदा नक्सालबाडीका किसानहरु भने जमिन्दारी शासनबाट आजित थिए । उत्पादनको ५० प्रतिशतभन्दा बडि हिस्सा त्यहाँका जमिनदारहरुलाई बुझाउनु पर्ने व्यवस्था विरुद्ध किसानहरु संगठित भएर सुरु गरेको विद्रोहलाई नै नक्सालबाडीआन्दोलन भनेर बुझ्ने गरिन्छ । जसका भाष्यकार थिए चारु मजुमदार । सन् १९१८ मा जमिनदारी पृष्ठभूमीका ब्राम्हण परिवारमा जन्मिएका मजुमदार सन् १९४८ मा किसानहरुले सुरु गरेको ‘तेभागा’ आन्दोलनका क्रममा गिरफ्तार हुन पुगे । हिरासतमा उनको भेट एक विद्रोही स्थानिय नेता कानु सन्याल सँग भयो ।

दार्जिलिङ जिल्लाको पहाडी सहर खरसाङमा जन्मेर नेपाली बस्तीमा बाल्यकाल बिताएको हुँदा दार्जिलिङ्गे पाराको नेपाली बोल्थे उनी । सन्यालले बंगालका तात्कालिन मुख्य मन्त्री विधान चन्द्र रायलाई एक कार्यक्रमका बीच कालो झण्डा देखाएको आरोपमा पक्राउ गरिएको थियो ।

सन् १९५२ मा कानु र मजुमदार भाकपा(एकिकृत) मा प्रवेश गरेका थिए तर सो पार्टीमा आएको विभाजन पश्चात दुबैले ज्योती बसूले नेतृत्व गरेको भाकपा (माक्र्सवादी) को बाटो तर्फ लागे । चिनियाँ सांस्कृतिक क्रान्तीका प्रणेता माओको सैद्धान्तिक मोडलमा आधारित दिपक विश्वास प्रान्तीय सचिव रहेको भाकपा (माक्र्सवादी)का जिल्ला तहका नेता मजुमदार थिए भने सोको वर्गिय संगठन ‘कृषक सभा’ जिल्ला कमिटीका सचिव थिए कानु सन्याल । सोही कृषक सभाको दार्जिलिङ्ग जिल्ला कमिटीले नक्सल विद्रोहको सांगठानिक आधार तयार पारेको थियो । पछि मजुमदारले पनि आफ्नो गृहनगर महानन्दपाडा रोडमा बसेर क्रान्तिको प्रारुप तयार पार्न थाले जस्लाई नक्साल आन्दोलनको ‘ऐतिहासिक आठ दस्तावेज’भनेर नामाकरण गरिएको छ ।

सन् १९६७ अप्रिलमा पश्चिम बंगालमा एक घटना घट्यो । भिगुल नामको एक किसानले जमिनदार ईश्वर तिर्कीको जमिन जोतभोग गर्ने गर्दथ्यो ।तिर्कीले उनलाई ज्याजती गरी जोतभोगबाट निकालिदिए पछि भिगुलले तिर्कीका विरुद्ध कृषक सभामा उजुरी गरे । कानु सन्यालले इश्वर तिर्की माथि कारवाही गर्ने निर्णय गरे तर बिना पूर्व तयारीको कारवाही सफल नभए पछि तिर्की बाच्न सफल भए । विद्रोहको राखले भत्भतिएका सन्यालले क्रान्तीलाई थप शसक्त बनाउनका लागि सन् १९६७ मई १८ मा किसान सम्मेलनको आयोजना गरे । सम्मेलनले जिल्लामा रहेका जमिनदारहरुलाई समाप्त पार्दै तानाशाही उत्पिडनबाट किसानहरुलाई मुक्त गर्ने नीति अवलम्बन गर्ने निर्णय गर्याे । फलस्वरुप अर्का जमिन्दार नगेन राय चौधरीलाई स्थानिय हात हतियार सहित जंगल सन्थालको नेतृत्व दस्ताले हत्या गर्याे । नक्सलबाडी नजिकै हात्तीघिसा ग्राम पञ्चायतको दरीद्र सतार परिवारमा जन्मेका जंगल सन्थाल किसान विद्रोहका अर्का नायक थिए ।उनी कानु सन्याल पछिका नेताको दर्जामा गनिन्थे ।

यस प्रकारका हिंसात्मक घटनाहरुले पश्चिम बंगालका जमिनदारहरुमा त्रास उत्पन्न भयो, सो समय पश्चिम बंगालका गृहमन्त्री थिए बाङ्गला कांग्रेसका नेता अजय मुखर्जी भने ज्योती बसू उपमुख्यमन्त्री । बसूले उक्त समुहलाई आतंककारी घोषणा गरी आन्दोलन निस्तेज पार्न प्रिभेन्टिभ डिटेन्सन एक्ट (पिडिए) नामको कानुन तयार गरी प्रहरी प्रशासन परिचालन गर्न थाले । यता कृषक सभाले पनि प्रान्तीय कमिटी सदस्य शान्ती पालको नेतृत्वमा जन शैन्य दस्ता तयार पारी जमीनदारहरुको सम्पती कब्जा गरि किसानहरुलाई बाड्ने आन्दोलनको तय गर्याे । सन् १९६७ मइ २३ मा स्थानीय आन्दोलनकारी र प्रहरीहरु बीच झडप सुरुहुन थाल्यो । तात्कालिन इन्स्पेक्टर सोनाम वाङ्दीले एक गर्भवती महिलालाई निर्घात कुटपिट गरी हत्या गरे पश्चात आन्दोलनले विध्वंशको रुपलियो । घटनामा इन्स्पेक्टर वाङदी सहित ११ सर्वसाधारणले ज्यान गुमाउनु पर्यो भने कृषक सभाका मुख्य नेताहरु सहित प्रान्तीय कमिटीका दिपक विश्वास, शान्ती पाल, मुनीलाल सिंह, खुजेन सिंह लगायतका नेताहरु गिरफ्तारीमा परे ।

सन् १९६९ अप्रिल २२ मा चारु मजुमदारले भाकपा(माओवादी) पार्टी गठन गरेर सांगठानिक गतिविधिहरुलाई तीब्रता दिन थालिसकेका थिए । तर उनी पनि १९७२ को जुलाई १६ मा गिरफ्तारीमा परे, पश्चिम बंगाल स्थित लालबजार थानामा कडा सुरक्षाका बीच हिरासतमा राखिएका मजुमदार चरम यातानामा कारण १० दिन पछि अर्थात् १६ जुलाईमा मृत भेटिए, पार्टी जीवनलाई १९७७ मै त्यागिसकेका कानु सन्यालले पनि सन् २०१० को मार्च २३ मा आत्माहत्या गरे । जंगल सन्थाल पनि जेलमुक्त भएपछि निष्क्रीय भए । १९८८ मा उनको जीवनलीला समाप्त भयो । उनी चारु र कानुका निम्ति ‘साहसी’ साथी थिए।

२२ प्रान्त र ६८० जिल्ला रहेको भारतमा एक समय नक्सलवादी आन्दोलन २७७ भन्दा बडी जिल्लाहरुमा फैलिएको थियो भने हाल यसको प्रभाव घट्दो रहेको बुझिएको छ ।

२. सुखानी हत्या काण्ड
नेपालको पूर्वी सीमानाद्वार काँकरभिट्टाबाट करीब साँडे चार किलोमिटर उत्तर मेचीकिनारमा एउटा गाउँ रहेको छ । जसलाई नकलबन्दा भनिन्छ । सीमावर्ती क्षेत्र नक्सालवारीबाट सोझो पश्चिममा पर्ने नकलबन्दा तात्कालिन पूर्व कोशी प्रान्तीय कमिटी अन्तरगत झापा जिल्ला कमिटीका सचिव मदन खपाङ्गीको गाउँ हो । मदन खपाङ्गीको त्यसबेला भाकपा मालेका प्रान्तीय कमिटीका नेताहरु तथा नक्साल आन्दोलनका गाउँ तहका नेता कार्यकर्ताहरु सँग राम्रै उठबस थियो । खपाङ्गी कहिलेकाहीँ भारतीय क्रान्तिकारीलाई आफ्नो निवासमा सेल्टर पनि दिने गर्दथे ।

पूर्व कोशी प्रान्तीय कमिटी संगको राजनैतिक चिन्तनबाट विमुख हुँदै शसस्त्र विद्रोहको हुटहुटीमा लागेका झापाली युवा कम्युनिस्टहरु भारतीय क्रान्तिकारीहरुसँग वार्ता र छलफल गर्न उत्साहित थिए । जसका लागि मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीहरु खपाङ्गी निवास पुगिरहन्थे । ९ फागुन २०२७ सालमा भारतको पश्चिम बंगालबाट नक्सालवादी आन्दोलनका १० जना बन्दीहरुले सिलिगुडी जेल ब्रेक गरेको कुरा सनसनी रुपमा फैलियो । अन्तराष्ट्रिय संचार माध्यमहरुमा समेत छाएको सो खबरले भारतीय राजनीतिलाई नै तरंगित बनाएको थियो । जेल ब्रेक गरेर फरारहुने हरुमा तत्कालिन भाकपा मालेका प्रान्तीय सचिव दिपक विश्वास, मुनिलाल सिंह, निमु सिंह, खुजेन सिंह लगायतका युवा क्रान्तिकारीहरु थिए । सोही कुराको खबर मदन मार्फत राधाकृष्णले थाहापाए पछि साँझ उनीहरु नकलबन्दाबाट ज्यामिरगढी स्थित वीरेन राजवंशीको घर तर्फ लागे ।

कक्षा आठसम्म अध्ययन गरेका २६ बर्षे युवा वीरेन राजवंशीको व्यक्तित्व स्वअध्ययनले परिष्कृत थियो । त्यस बेला उनी दलीय राजनैतिक सोचका नभएता पनि एकदमै विद्रोही स्वभावका भने थिए । सोही क्षमताका कारण पञ्चायत प्रशिक्षण केन्द्र चन्द्रगढीमा पञ्चायत ट्रेनिङ एसिस्टेन्ट(पीटीए)का रूपमा सरकारी जागिरे थिए ।पीटीएको काम जिल्लादेखि वडा स्तरसम्मका पञ्चहरुलाई निर्दलीय पञ्चायती व्यवस्थाका पक्षमा वैचारिक प्रशिक्षण दिनु थियो । पञ्चायत व्यवस्थाका सिद्धान्तविद् वीरेन द्रवीभुत भएर पञ्चायतको प्रशंसा गर्दथे । उनको यस प्रकारको बफादारीका कारण सरकारी तवरबाट निर्दलीय व्यवस्थालाई चुस्त बनाउन मलेसियाको तालिम लिन गएका उनी खरो कम्युनिस्ट बनेर फर्किए ।

त्यस बेला मलेसियामा कम्युनिस्ट आन्दोलनको जगजगी थियो । मलेसिया यात्राका क्रममा उनले कम्युनिस्ट आन्दोलन र आचरणका बारे थुप्रै किस्साहरु सुनेका थिए ।कम्युनिस्टलाई मन नपराउने उनी यात्रामा सुनेको र बुझेअनुसारको पार्टी बनाउनुपर्नेमा जोड दिन थाले । यहीमेसोमा उनले जागिर छाडे ।वीरेनले आफ्नै गाउँका स्थानीय खोका राजवंशी, सत्तालसिंह राजवंशी, विसु राजवंशी, विसुलाल राजवंशी, कोटिया राजवंशीलगायत युवालाई राजनीतिक रूपमा प्रशिक्षित गरिसकेका थिए । झापामा कम्युनिस्ट भनेर चिनिएका मदन खपाङ्गी, गोपालकृष्ण प्रसाई, रामनाथ दाहाल, नेत्र घिमिरेहरुसँग पनि सम्बन्ध विस्तार गरे ।

सो समय गोपाल कृष्ण प्रसाई कहलिएका जमिनदार थिए भने रामनाथ दाहालअर्का महाजन थिए ।वि.सं. १९९५ साल फागुन २९ गते तेह्रथुमको पोखरी इवामा सुवेदार परिवारमा जन्मिएका दाहाल पछि २०१६ साल तिरदेखि झापाको चारपानेमा बुवाले जोडेको २८ बिघा जमिनमा आफ्नो गुजरा चलाएर बसेका थिए । ट्रक, धान मिल लगायतको भव्य व्यापार सम्हालेका उनी त्यो बेला पनि आफ्नो निजि जिपमा सवार गर्दथे । इवा मै पुराना वामपन्थी नेता डा. बल्लभमणी दाहालको राजनैतिक चिन्तन र प्रशिक्षणबाट दिक्षित रामनाथ २०२४ सालमा चारपाने गाउँ पञ्चायतको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । भुमिगत राजनिति नरुचाउने दाहाल क्रान्तिकारी हँुदाहँुदै पनि खुल्ला राजनीतिमा बढी विश्वास गर्दथे । उनी चिन्तनमा जति अगुवा थिए विचार र सिद्धान्त प्रति उतिकै अडीक पनि । जमिनदार परिवारको प्रतिनिधित्व गरेता पनि उदार भाव बोकेका रामनाथले खड्ग प्रसाद ओली, रामचन्द्र दाहाल मालेस्टाएमा(तुलसीराम दाहाल), खड्ग पकुवाललाई संकटका बेला आफ्नै घरमा आश्रय दिएर पढाएका थिए ।

वीरेन राजवंशीको राधाकृष्ण मैनालीसंग २०२२ ताका देखी कै सुमधुर सम्बन्ध थियो ।राधाकृष्ण र नेत्र घिमिरे सहपाठी थिए । २०२३ साल तिर धुलाबारी स्थित नरेन्द्र खनालको घरमा एउटै कोठामा डेरा गरि बस्दथे । पछि घैलाडुब्बाको आदर्श मा. वि. र मेची कलेजमा पनि यो जोडी छुट्टीएन । मेची बहुमुखी क्याम्पस भद्रपुरबाट वि.ए.सम्मको अध्यायन सकाए पछि घिमिरे मालपोत कार्यालयमा खरिदारको जागिरे थिए । पछि गरामुनी (मित्र) नि.मा.वि. मा पढाउन थाले। यसका अलवा घिमिरे सर्वहारा, निम्न वर्गका संगठक, विद्यार्थीका प्रिय शिक्षक र राजनीतिका कुशल प्रशिक्षकको रुपमा तात्कालिन समयमा झापाली जनताका माझ परिचित हुनुहुन्थ्यो । कृष्ण कुईकेल र नारायण श्रेष्ठ नेत्र घिमिरे कै विद्यार्थीहरु थिए । नेत्रकै संगतले उनिहरु कम्युनिष्ट आन्दोलन र झापा विद्रोहप्रति झुकाव राख्न थालेका थिए ।

मदन खपाङ्गी र मैनाली राती विरेनको घरमा पुग्दा सिलगुडी जेल ब्रेक गर्ने १० मध्ये दुई जना मुनीलाल सिंह र अर्को एक जना राजवंशी सुरक्षित सेल्टर खोज्दै विरेनको घरमा आईपुगेका रहेछन् । उनीहरुलाई त्यहाँसम्म ल्याई पु¥याउने काम भने राजवंशी समुदायका त्यस बेलाका पुजारी विशुलाल राजवंशीले गरेका थिए । विशुलालकोे घर झापा सदरमुकाम चन्द्रगढीबाट उत्तर पूर्वमा रहेको कालिकाझार भन्ने गाउँमा थियो । पूर्व पट्टी मेची खोला र पारि पट्टी बंगालको बतासी गाउँ पर्दथ्यो । पुजारी भएकै कारण उनलाई वारीपारि गर्न कुनै बिघ्नवाधा थिएन भने नक्सलाईटहरुसँग पनि उनको सम्बन्ध उत्तिकै प्रगाड थियो । सो दिन विरेन कै घरमा रात विताएका मदन र मैनालीले रातभर मुनिलाल सँगै भारतीय कम्युनिस्ट आन्दोलन, किसान विद्रोहको आवश्यकता लगायतका विषयमा उत्सुकता पुर्वक विमर्श गरेका थिए, सवेर सम्ममा झापामा किसान आन्दोलन सहितको शसस्त्र विद्रोह गर्ने निष्र्कषमा पुगेका उनीहरुलाई गुरिल्ला स्क्वार्ड संचालन सम्बन्धि युद्ध कला र प्राविधिक पक्ष समेत सिकाइदिने क्रान्तिकारी तत्काल पठाइदिन मुनिलाललाई आग्रह गर्दै विहान छुटेका थिए । त्यसको १२÷१५ दिन पछि मुनिलालले जेल ब्रेकमा संम्लग्न निमु सिंह र खुजेन सिंह नाम गरेका दुई क्रान्तिकारीहरुलाई झापा पठाई दिए पछि उनै निमु सिंह र खुजेन सिंह राजेन राजवंशी र भोगेन राजवंशीको नामले चिनिन थाले ।

झापाका भूमिहिन किसानहरुलाई सचेत र संगठित गर्ने लक्ष्य लिएर २०२८ साल बैसाख ९ गतेका दिन ाजेन राजवंशी र भोगेन राजवंशीको आढमा खोका राजवंशी कमाण्डर रहने गरि एक गुरिल्ला स्क्वाड( छापामार लडाकु) टोलीको गठन गर्याे । ७ सदस्यीय सशस्त्र टोली ज्यामिरगढीमा स्थापना भएको थियो । एक एरिया, एक युनिट, एक स्क्वार्ड एक एक्सनको निति लिएको यो नै पहिलो गुरिल्ला स्क्वाड रहेको थियो । पछि पछि यस्तै टोलीहरु बुधबारे, शनिश्चरे, घैलाडुब्बा र चकचकीमा पनि गठन भएको थियो ।यस प्रकार १५० भन्दा वडी छापामार लडाकु र ३०० भन्दा बडी किसानहरु यस अभियानमा जुटेको पाइन्छ । यसरी झापा विद्राहको लडाकुहरुको स्क्वार्ड तयार भईसके पछि सो समुहले अब वर्गसत्रुहरुको पहिचान गर्ने कार्यक्रम तय गर्याे ।

विरेन राजवंशीको अगुवाइमा गठित स्क्वार्डले ज्यामिरगढी कै कर्णबहादुर गौतमलाई वर्गसत्रु छनौट गर्याे । तर कर्णबहादुर कुनै जमिनदार भने थिएनन् । उनि तत्कालिन ज्यामिरगढी गाउँ पञ्चायतका सदस्य रघुविर बुडाथोकी दलालीको रुपमा परिचित थिए । उनले स्थानिय किसानहरुलाई सक्दो शोषण र दोहन गरेर जमिनदारलाई बुझाउने र जमिनदारको नजरमा आफुलाई एक बफादार रहेको चित्रण गर्दथे । २०२८ साल जेष्ठ २ गतेका दिन गौतमको सफाया गरियो । यो नै झापा विद्रोहको पहिलो एक्सन थियो भने यसको नेतृत्व मोहनचन्द्र अधिकारीले गरेको थिए, उनि संगै विरेन राजवंशी, भोगेन राजवंशी, राजेन राजवंशी, रामनाथ दाहाल, भोगेन्द्र सिंह, शिव प्रसाद सिवाकोटी लगायतको युवा दस्ता थियो ।सो काण्डमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशी, बलबहादुर थापा, बिसु राजवंशी र झम्कु राजवंशीलगायतका युवकहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो। २०३० फागुन १३ गते अदालतले मुद्दाको फैसला सुनाएको थियो। बलबहादुर थापा, बिसु राजवंशी र झम्कु राजवंशीले गौतमकाण्डमा सफाइ पाए ।

२०२९ साल बैसाख २६ गते पुन्य प्रसाद कोइरालालाई दोश्रो एक्सन गर्ने भनेर तय गरियो तर विचारी कोइराला घरमा नभए पछि उनको रिस साझँ घरमा खाना खाइरहेकाशनिश्चरे गाउँ पञ्चायतका वडा अध्यक्ष बुटन चौधरी माथी पोखियो । शिव अधिकारी, मंगल सुनुवार लगायतको नेतृत्वले गरेको यो गुरिल्ला स्क्वार्डको दोश्रो एक्सन थियो ।

चौधरी सो समय पञ्च भकारीको व्यवस्था गरेर धान संकलन गर्ने गर्दथे । सरल स्वभावका चौधरीलाई सोहि वडाका विचारी पुन्य प्रसाद कोइरालाले चाहिको बेला दिने सर्तमा सम्पूर्ण धान आफुले लगे तर समयमा दिन सकेनन् जस्को सम्पूण दोष बुटन चौधरीलाई लगाईयो र उनको हत्या भयो । बुटनको हत्यामा मंगल मर्दी सतार, मसला धिमाल, भूसा धिताल, दधिराम उप्रेती, छविलाल राजवंशी, खड्गप्रसाद ओली, भोगेन राजवंशी, हर्कबहादुर खड्का, टंकप्रसाद घिमिरे, खड्गबहादुर मगर, खड्गप्रसाद दाहाल, जगतबहादुर कुमाल, अमृतबहादुर कुमाल, रामदेव चौधरी, शेरबहादुर निरौला, ज्ञानबहादुर कार्की, तुलसी सिलवाल र शेरबहादुर श्रेष्ठका साथै देगनाथ दंगाल, कालीबहादुर बन, गंगाप्रसाद भारती, हरि मैनाली, अमरबहादुर गिरी, राधाकृष्ण मैनाली र हरिभक्त गिरीलाई २०३० चैत २३ गतेको फैसलाअनुसार दण्ड सजाय सुनाइयो ।

तेश्रो एक्सनको वर्ग सत्रु गरामुनीमा स्थानिय जमिनदार विष्णु प्रसाद विमली र इश्वरी प्रसाद चुडाललाई चयन गर्यो र वि.सं. २०२९ असार २७ गतेका दिन नेत्र घिमिरे नेतृत्वको विद्रोही सशस्त्र टोलीले उनिहरुको एक्सन गर्यो ।सो घटनामा नेत्रप्रसाद घिमिरे, नरेश खरेल, हर्कबहादुर खड्का, कृष्णप्रसाद सेढाई, डिल्लीप्रसाद शिवाकोटी ‘मिस्त्री साइँलो’ भन्ने टंकप्रसाद घिमिरे, ईश्वरीप्रसाद संग्रौला, नारायणप्रसाद तिवारी, गंगाप्रसाद उप्रेती र लोकनाथ ओलीलाई ऋद्धिमानन्द बज्राचार्य र त्रिलोकप्रताप राणाको विशेष अदालतको निर्णयले कैद सजाय गर्ने फैसला गर्याे । यस मुद्दामा राधाकृष्ण मैनाली र राधाकृष्ण घिमिरेले सफाइ पाए । यस्तै फरार रहेका मंगल सुनुवार, उमानाथ सेढाई, तिलत्रिवmम ढकाल, शिवप्रसाद शिवाकोटी, पुण्य निरौला र पुण्यप्रसाद उप्रेतीले सम्पत्ति बेचबिखन गर्न नपाउने गरी रोक्का गरियो ।

विं.सं. २०२९ साल मंशिर २३ गते गरामुनी कै अर्का जमिनदार उद्रकान्त राजवंशीलाई पनि जिवन मगर नेतृत्वको गुरिल्ला स्क्वार्डले वर्ग सत्रुको नाममा वध गर्याे । सो घटनामा जीवनकुमार मगर, हर्कबहादुर खड्का, डिगेन्द्र राजवंशी, गेटला राजवंशी, रामदुलार चौधरी, मुलम राजवंशी, टंकप्रसाद चौधरी, प्रेमप्रसाद उप्रेती, धर्मप्रसाद घिमिरे, खड्गप्रसाद (केपी) ओली, भोगेन राजवंशी, मोहनप्रसाद उप्रेती, काले भन्ने भीमबहादुर खड्का हेमबहादुर खड्का, फतरा सतार, हरिकृष्ण थारू, खड्गप्रसाद थापा र ‘लंगडा’ भन्ने गणेशबहादुर खड्कालाई कैद र जरिवानाको फैसला सुनायो ।

पाँचौं एक्सनमा २०२९ पौष १० गते राष्ट्रिय पञ्चायतका पुर्व सदस्य धर्म प्रसाद ढकालको आफ्नै घर शनिश्चरे हात्ती किल्लामा प्राणान्त गरियो । आफ्नो बुवालाई जोगाउने हुदा ढकालका माहिला छोरा ज्ञानेन्द्र प्रसाद ढकालको दाहिने हात काटियो, भाग्ने हुदा उनको पनि हत्या गरियो । भारतमा बाली विज्ञान सम्बन्धी अध्यान गरिरहेका ज्ञानेन्द्र प्रसाद सोहि दिन घर आइपुगेका थिए । इलामको नामसालिङबाट बसाइँ सरेर झापामा प्रशस्त जग्गा जमिन जोडेका ढकाल सनिश्चरेमा पाइन एप्पल क्यानिङ्ग कम्पनी संचालन गरेर बसेका त्यसबेलाकाप्रसिद्ध उद्योगपति पनि थिए । उनीले आफनो अनारस बगान र कारखानामा काम गर्ने मजदुरहरलाई मानसिक शोषण गर्ने र तिव्र दमन गर्ने गरेको उजुरीका आधारमा उनको एक्सन गरिएको थियो ।

कोअर्डिनेसन केन्द्र झापाको मातहतमा गठन भएको एक्सन स्क्वाडले वर्ग सत्रु सफायको अभियानलाई शृंखलात्मक ढंगले अघि बढाएपछि प्रशासनले दमन र धरपकड तीव्र बनायो । ढकाल मारिएपछि प्रशासनले गरेको घटनाको सूक्ष्म र वस्तुपरक अनुसन्धानले नयाँ मोड लियो । त्यस बेला झापा जिल्लाका सिडिओ थिए दान बहादुर शाही । (पछि २०६१ साल बैसाखमा शाही शासन कालमा उनी गृहमन्त्री समेत भएका थिए ।) राजधानीका उच्चपदस्थ व्यक्तिहरूसँग ढकालको सम्पर्क भएकाले उनी मारिएको खबर जताततै फैलियो । यो काण्डमा खड्गप्रसाद ओली, मनकुमार तामाङ, अमरबहादुर कार्की, अमरबहादुर अधिकारी, भोगेन राजवंशी, ‘छविल’ भनिने छविलाल राजवंशी, मनकुमार गौतम (साधुको भेषमा पक्राउ परेका), राधाकृष्ण मैनाली, भुसा धिमाल, दधिराम उप्रेती, लाखबहादुर तामाङ, फतरा सतार, लीलादेवी कट्टेल, श्यामदास रेग्मी, ताराबहादुर कालाखेती र रत्नबहादुर कार्कीका साथै मुख्य योजनाकार मोहनचन्द्र अधिकारीविरुद्ध अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो ।

तत्कालीन अञ्चल प्रहरी कार्यालयका एसपी पदमबहादुर मानन्धर र अञ्चलाधिश छिरिङ तेन्जी लामा विद्रोह नियन्त्रण गर्नैपर्ने दबाबमा थिए । उनले व्यापक मात्रामा प्रहरी र सुराकी परिचालन गरे । यसैबीच २०२९ साल मंसिर २८ गते विहान ११ बजे रामनाथ दाहाल आफ्नै घरबाट पक्राउ परे । मंसिर ३० गते चन्द्रगढीबाट विरेन राजवंशी , पौष १३ गते निचाझोडा गरामनीबाट नेत्र घिमिरे र माघ १ गते गौरादह र तोपगाछीबाट कृष्ण कुईकेल र नारायण श्रेष्ठ गिरफ्तारीमा परे । दाहाल र केपी ओली भुमिगत भईसकेका थिए । २८ गते विहानै परिवारको हाल बुझन गाउँ आएका थिए । आफ्नो घरमा प्रहरीले छापामारेको देखेपछि घर पुगेका दाहाल प्रहरीको गिरफ्तारीमा परे । कर्ण बहादुर गौतम सफाय काण्डमा जेल परेका विरेन धरौटीमा छुटी खुल्ला जिवनमा फर्किएका थिए । तर मंसिर २३ मा उद्रकान्त राजवंशीको सफाय भए पछि विरेनलाई प्रहरीले ज्यामिरगढीबाट चन्द्रगढी जादै गर्दा पुनः पक्राउ गर्याे ।

झापामा क्रान्तिकारीको गतिविधि बढ्न थालेपछि पुराना कम्युनिष्ट नेता तथा तत्कालिन गरामनी गाउँ पञ्चायतका प्रधानपञ्च शिव न्यौपानेलाई कम्युनिष्ट गतिविधिलाई सघाएको आरोपमा शान्ति सुरक्षा ऐन अन्तरगत जेल हालिएको थियो । जेल परेपछि अतालिएका शिव आन्दोलनकारीलाई पक्राउन सहयोग गर्ने शर्तमा मुक्त भएका थिए । उनै न्यौपानेले सुराकी बनाएका राधा प्रसाद घिमिरे र उनका भाई टंक घिमिरेको सहयोगमा विहान ४ बजे नेत्र घिमिरे पक्राउ परे । संगठन विस्तारका क्रममा झापाको पश्चिम दक्षिण क्षेत्रमा खटिएका कृष्ण कुईकेल र नारायण श्रेष्ठ सुराकी कै मद्दतमा गिरफ्तारीमा परे ।

यसरी फरक–फरक समयमा विभिन्न स्थानबाट गिरफ्तार गरि आफैले थुनेका क्रान्तिकारीहरुलाई अञ्चलाधीश छिरिङ तेन्जी लामा र एसपी पदमबहादुर मानन्धरले मार्ने योजना बनाए । सोही योजनाका आधारमा २०२९ फागुन १७ गते एस पी मानन्धरले कारगार क्षमता र लाटा सुधा बन्दीहरुको सुरक्षा सर्तकताको संबेदनशिलतालाई इकिंत गर्दै कैदी सरुवाका लागि मेची अञ्चलाधिशको कार्यालय चन्द्रगढीलाई ७३२ चलानी नम्बरको पत्रमार्फत पत्राचार गरे ।

सोको चार दिन पछि अर्थात फागुन २१ गते आइतवार लामाले ‘मेची अञ्चलाधीशको कार्यालयबाट झापा कारागार चन्द्रगढीको नाममा १६९३ चलानी नम्बर र ‘कैदी चलान गर्ने सम्बन्धमा’ बिषय रहेको पत्र पठाए । पत्रमा जेलमा १५० देखि २०० सम्म मात्र कैदी बस्न सक्ने क्षमता भएको कारागार भवनमा हाल २६३ कैदी भएको र ‘ज्यानमारा र अन्य शान्ति सुरक्षासम्बन्धी’ मुद्दामा जेल परेका बन्दीहरूले ‘लाटासुधा बन्दीलाई भड्काउने सम्भावना भएको हुँदा’ जेल सार्नुपर्ने व्यहोरा उल्लेख थियो । जेल सार्नुपर्ने बन्दीहरूको नामै किटेर आदेश दिइएको पत्रमा झापा विशेष अदालत चन्द्रगढी, एस पी कार्यालय चन्द्रगढी, इलाम कारागार इलाम र गृह पञ्चायत मन्त्रालय, काठमाण्डौलाई बोधार्थ गरार्ईको थियो  ।

अञ्चलाधीशको आदेश पाएकै दिन झापा कारागार कार्यालय चन्द्रगढीले अञ्चल प्रहरी कार्यालयसँग समन्वय गरी कारागारको ५ नं. कोठामा भएका पन्ध्र जना मध्ये पाँच जनालाई शनिश्चरे हुँदै इलाम पठाउने व्यवस्था मिलायो । विहान करिब ११ बजे तिर बन्दिहरुलाई रसियन जिपमा हालेर गरामनी विर्तामोड हुदै शनिश्चरे प्रहरी चौकीसम्म पु¥याइयो । त्यहाँ उहाँहरुको सामान उतारेर एक छिन अलमल गरिएको थियो । शनिश्चरेबाट खुदुनाबारी, सुखानी जङ्गल, गरुवा, सोक्तिम हुँदै हिँडाएर इलाम सदरमुकामसम्म पुग्ने बाटो तय गरिएको थियो । यात्राका क्रममा खुदुनाबारीको एक पसलमा त्यसबेलाका पञ्चायतको स्थानीय दलाल भनेर चिनिएका डबल सुब्बासँग प्रशासनले केहिबेर कुरा गरेको अभिलेख पाइन्छ । ५ जना क्रान्तिकारी योद्धाहरुलाई साझँको करिब ६ बजेतिर सुखानी जंगलमा पु¥याइएको थियो । सोक्तिमबाट आएका ट्रकहरुलाई समेत २०-२५ मिनेट जंगलमै रोकी कायरहरुले सुखानीमा वीरहरुको रगत बगाए । २१ राउण्ड गोली खर्च गरि शहिद जन्माएका प्रतिकृयाबादीका मतियारहरुले रामनाथको छातिमा २ गोली हानेका थिए भने, नेत्र घिमिरेको पेटमा २ गोली लागेको थियो । कृष्ण कुईकेललाई छातिमा र फिलामा एक–एक गोली लागेको थियो भने नारायण श्रेष्ठको छातीमा एक गोली लागेको थियो । विरेन राजवंशीलाई टाउकोमा गोली हानिएको थियो । घटनाको प्रकृति हेर्दा प्रत्येक योद्धालाई करिब १० फिट टाढाबाट गोली हानेको अनुमान सो घटनाका फोटो ग्राफर विष्णुभक्त प्रसाईले बताउनु भएको अभिलेख छ । उहाँ त्यस समयका नामी फोटोग्राफरका रुपमा परिचित प्रसाई शनिश्चरे पाराखोपीमा हाङपाङ फोटो स्टुडियो संचालन गरेर बस्नु भएको थियो ।

२२ गते बिहान ५ः ३० बजे तिर एस पी मानन्धर र केहि प्रहरीहरु स्टुडियोमा आएर उनलाई घटनाको फोटो खिच्न जिपमा हालेर लगेका थिए । उनका अनुसार नेत्रको लास दक्षिण पूर्व टाउको पारेर घोप्टो परेको अवस्थामा थियो । एउटा चप्पल गोली लागेको ठाउँमा र अर्को खुट्टैमा थियो । रामनाथको लास पश्चिम उत्तर तर्फ डिल जस्तो ठाँउमा पेन्ट सुर्किएको अवस्थामा उत्तानो परेको थियो । दुबै खुट्टाको पिडुला कपडाले बाँधेको थियो । भनिन्छ, उनलाई यातनाका क्रममा १३ वटा वालेस्वरी काँटीले खुट्टा र जिउ भरी रोपिएकोे थियो । त्यस्तै विरेन राजवंशीको शव दक्षिण तर्फ कोल्टे परेर ढलेको थियो । कृष्ण कुईकेलको शव पनि सोहि दिशामा घोप्टो अवस्थामा थियो भने नारायण श्रेष्ठको शव पश्चिम तर्फ उत्तानो पारेर ढलेको अवस्थामा उनले फोटो खिचेको सम्झन्छन् । बिहान जम्मा २५ जना साक्षी बसेर सर्जमिनको मुचुल्का तयार पारियो । “चन्द्रगढीबाट इलाम जेल सार्दा जंगलमा भाग्न खोजेकोले गोली हानी हत्या गरेको” व्यहोराको सर्जमिनमा फोटोग्राफर प्रसाई भने साक्षी नबसेको उल्लेख गर्दछन् । त्यस पछि लासलाई जिपमा हाली हरियो स्याउलाले छोपेर करिब १ बजे तिर चन्द्रगढी तर्फ लगियो । रामनाथ दाहाल र नेत्र घिमिरेको शव प्रशासनको रोहवरमा कनकाई माईमा अन्त्येष्टी गरियो भने , विरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई भने स्थानीय देउनिया खोलामा दाह संस्कार गरियो ।

सुखानी हत्याकाण्ड पछि पनि प्रतिक्रियावादी जल्लादहरुको दमन र धरपकडको श्रृङखला रोकिएन । २०३० साल श्रावण २० गते गरामनी स्थित नडियाबारीमा सामान्त प्रतिकृयावादीहरुले कम्युनिष्ट योद्धा चन्द्र डाँगीको हत्या गरेका थिए भने सोही सालको कार्तिक ४ गते इलामको शान्तिपुर स्थित सानो दुर्गा अधिकारीको घरमा प्रधानपञ्च चन्द्रकान्त भट्टराई सहित पञ्चेहरुको जत्थाले राम प्रसाद प्रधानको बर्बतापूर्वक हत्या गरेका थिए । यसरी २०२८ जेठदेखि २०३० साल कात्तिकसम्म चलेको झापा विद्रोहमा सात जनामाथि ‘एक्सन’ भएको र तत्कालिन शासकले ११ योद्धाहरुको हत्या गरेको थियो ।

झापा आन्दोलनको पवित्र उद्देश्यहरुको ढाकछोप गर्न त्यसलाई विकृत रुपमा प्रचार गरि बद्नाम गर्ने प्रतिक्रियावादीहरुको प्रयत्न भने सफल हुन सकेन । इमान्दार कम्युनिष्ट कार्यकर्ताहरु प्रति शोषित, पीडित जनतामा सम्मान, स्नेह, सर्मथन र सहयोगको भावना कायम रह्यो । आज मुलतः कम्युनिष्ट आन्दोलन एकिकृत भएको छ भने देशको राष्ट्रियता, प्रजातान्त्रिक आन्दोलनको मुलधारको रुपमा नेकपा एमाले स्थापित भई मुलुकको मुख्य राजनीतिक पार्टीको हैसियतमा रहन सफल भएको छ । विचारधारात्मक रुपले जनताको बहुदलीय जनवादका नाउमा जननेता मदन भण्डारीको अगुवाईमा आज नेपाल कम्युनिष्ट आन्दोलनको त्याग बलिदान र अनुभवहरुको सार संकलन तथा माक्र्सवाद, लेनिनवादको सिर्जनात्मक प्रयोगका तरिकाहरु दृष्टीकोणहरु तथा विचारहरु मार्गदर्शक सिद्धान्त र नीतिका रुपमा विकसित भएका छन् ।

अन्त्यमा, झापा विद्रोहको यो विषय उठान र घटनाक्रम व्याख्याता स्वयं भने वर्वरिक होइन । कम्युनिष्ट आन्दोलनको सूत्रपात ठानिएको झापा विद्रोहका बारेमा समय कालमा विभिन्न कृति, स्मृतिग्रन्थ तथा पत्र पत्रिकामा छापिएका लेख, रचना, अन्तरवार्ता, भेटवार्ता र वृत्तान्तहरु नै यसका सन्दर्भ सामाग्री हुन । र समष्टिगत संगालोका सारसंकृत सम्पादन नै यो आलेख हो, अथवा इतिहासको दस्तावेज । यसलाई जसरी माने पनि हुन्छ वा नमाने पनि हुुन्छ । युवा, विद्यार्थी अथवा विभिन्न आन्दोलनलाई हाकिरहनु भएका उदयमान राजनीतिककर्मीहरुको लागि यो महत्वपूर्ण तथ्य बन्न सक्छ भने माथी उल्लेखित सहिदका सहयोद्धा, सहकर्मीहरु तथा कम्युनिष्टका सतीसालहरुका लागि अविस्मरणीय दृष्यको चित्रण हुन सक्दछ ।

सुखानी हत्याकाण्डको पेरिफेरीमा विषय बस्तु पस्कने जोड्ने क्रममा सो बेलाका महत्वपूर्ण योद्धाहरु यसभित्र छुट्नु भएको पक्कै महशुस हुन्छ । प्रसंगमा नजोडिएका कारण अथवा लक्षित घटना पछाडिका घटनाक्रमहरुलाई उल्लेख नगरिएको कारण उहाँहरुको उपस्थिति गौण देखिएकोे बुझाइ रहोस भन्ने चाहान्छु । कम्युनिष्ट इतिहासका अजर अमर सम्पुर्ण योद्धा प्रति सम्मान व्यक्त गर्दछु । [email protected] 

 

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  १० : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]