बैशाख १४, २०८१ शुक्रबार

अनेरास्ववियुको प्रतिस्पर्धी संगठन नै छैन : सचिव ताम्ली

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसकेको छ । विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनमा मसिनो गरी लागेका छन् । लामो समयपछि हुन लागेको निर्वाचनमा जीत निकाल्नै पर्ने दवाव विद्यार्थी संगठनहरुलाई छ । चैत ५ हुने स्ववियु निर्वाचनका सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिव मनोज ताम्लीसँग पत्रकार गगन ढकालले गरेको संक्षिप्त कुराकानी :

स्ववियु निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको तयारी भव्य छ । अनेरास्ववियु, निर्वाचन हुने सबै क्याम्पसहरुमा विजयी हुने गरी तयारीमा जुटेको छ ।

अनेरास्ववियुको स्ववियु केन्द्रीत नीति के हो ?
अनेरास्ववियुले भर्खरै २३औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । हिजो व्यवस्था परिर्वनका निम्ति, राजनीतिक एजेण्टा स्थापित गर्नका निम्ति, जनताका जनजिविकाका निम्ति, जनताका अधिकारहरु स्थापित गर्न, सीमा रक्षा गर्न स्वाधिनताका निम्ति अनेरास्ववियुको महत्वपूर्ण भूमिका खेलेको थियो । तर, अहिले हामी राजनीतिक परिवर्तन पछि संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । अब चाहिँ अनरास्ववियुको वा विद्यार्थी आन्दोलनको मुद्दा विशुद्ध रुपमा शैक्षिक परिवर्तनका निम्ति, शिक्षा क्षेत्रका देखिएका तमाम् विकृति, विसंगतीलाई अन्त्य गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने र देशमै रोजगारी बनाउन सक्ने, श्रम र उत्पादनमा जोड्दै हाम्रो जीवनस्तर उकास्ने गरिको जीवन उपयोगी सर्वसुलभ शिक्षा बनाउने रहेको छ । हरेक नेपाली नागरिकलाई समान र सर्वसुलभ शिक्षा प्राप्त गर्ने विषय नै अनेरास्ववियुको मुख्य नीति रहेको छ ।

अनेरास्ववियुले स्ववियुमा अन्य कुनै संगठनसँग चुनावी गठबन्धन गर्ला कि नगर्ला ?
राष्ट्रिय राजनीति र विद्यार्थी राजनीति फरक कुरा हुन् । तर त्यसो भनिरहदा अहिले सरकारमा देखिएको परिवर्तन अनुसार हामी (अनेरास्ववियु) लाई घेराबन्दी गर्ने र हामी विरुद्ध अन्य सबै संगठनहरु एक ठाउँमा उभिने स्थिति देखिन्छ । त्यसैले हामीले आफूलाई सशक्त ढंगले तयारी गरेका छौँ । अन्य सबै संगठनहरु एक भएर निर्वाचनमा आउँदा पनि हामी मैदानमा उत्रन्छौँ र विद्यार्थी साथीहरुले हामीलाई नै रोज्नु हुन्छ । हामीले एक्लै स्ववियुमा देशै भर जीतको लहर ल्याउँने गरि लागेका छौँ ।

झापामा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रवि संघ) र अनेरास्ववियु बीच चाहिँ तालमेल हुने सम्भावना के छ ?
अनेरास्ववियुको देश भरी आफू एक्लै चुनावमा जाने हामीले निर्णय गरेका छौँ । तर, कुनै–कुनै ठाउँमा आवश्कता अनुसार तालमेल गर्ने कुरा पनि त्यति धेरै नकारात्मक त नहेला । यद्दपि, झापा अनेरास्ववियुले पनि मैले बुझेसम्म एक्लै चुनाव लड्ने गरिको तयारी रहेको छ । मनोनयन दर्ता गर्ने समयसम्ममा कुनै क्याम्पसहरुमा तालमेल गर्न पर्ने खालको परिस्थिति र आवश्यकताको निर्माण भयो भने तालमेलको छलफल पनि चलाउन नसकिने भन्ने छैन ।

तपाईंहरुले टिकट बाँडफाँडको नीति चाहिँ कस्तो लिनु भएको छ ?
अनेरास्ववियुले सबै क्याम्पसमा सर्वसम्मत रुपले उम्मेदवार चयन गर्ने नीति लिएको छ । क्याम्पसमा नियमित रहेको विद्यार्थीहरु माझ लोकप्रिय विद्यार्थीहरुलाई नै हामी उम्मेदवार बनाउँछौँ । अनेरास्ववियुको छुट्टै आचरण छ । त्यसभित्र विद्यार्थी माझ लोकप्रिय, नियमित, पढाईमा जेहेन्दार, अनुशासित, क्याम्पसमा उत्पन्न भएका विद्यार्थीहरुका हरेका समस्याहरुलाई समाधान गर्न सक्ने गरिको नेतृत्वलाई अनेरास्ववियुले टिकट दिन्छ । अहिले टिकटको विषयमा सरसर्ती हेर्दा कहीँ पनि त्यास्तो समस्या देखिदैन ।

विद्यार्थी संगठनहरु पार्टीका कारिन्दा जस्ता मात्र भए । हाल आफू निकट दल सरकारमा छैन भने सरकारका कमजोरी देख्ने नत्र विद्यार्थीका हकहीतको स्थापनामा चाहिँ संगठनहरु बोल्न छाडे भन्ने आरोप छ यसलाई कसरी हेर्नु भएको छ ?
यस किसिमको आलोचना हुनु भनेको चाहिँ विद्यार्थी आन्दोलन भित्र अलि गहिरिएर अध्ययन, विचार र विश्लेषण नगर्नुको उपज हो । अनेरास्ववियु निकट पार्टी सत्तामा हुँदा सरकारले गरेको निर्णयको विरुद्धमा आन्दोलित भएन भन्न मिल्दैन । हिजो नेकपा एमालेकै सरकारले सांसदहरुलाई पेन्सनको सुविदा दिनपर्छ भन्ने निर्णय गर्दा हामीले त्यस निर्णयको विरुद्धमा एक–एक रुपैयाँ उठाएर एक पटक निर्वाचित भएको सांसदलाई आजीवन पेन्सन दिनु हुँदैन, राज्यलाई भार बोकाउनु हुँदैन भनेर आन्दोलन गरेको थियो । त्यसैले अनेरास्ववियुको इतिहासलाई हेर्ने हो भने हामीले हाम्रो पार्टीले गरेका कतिपय गलत निर्णयहरुका विरुद्ध आन्दोलन गरेका छौँ । तर, यति भनिरहदा पनि हाम्रो संगठनले कम्युनिस्ट विचार मान्छ । हामी मार्कसवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मान्छौँ । त्यसैले हामी अहिले नेपालमा भएका दलहरुको विचार र कार्यशैलीका कारण नेकपा एमालेसँग नजिक छौँ । त्यस कारण नेकपा एमालेले ल्याएका राम्रा कामहरुलाई हामी प्रसंशा र प्रचार प्रसार गर्छौँ । तर, गलत कामको आलोचना पनि उत्तिकै गर्दछौ ।
हाम्रो मुख्य काम भनेको शैक्षिक क्षेत्रको बिकासको निम्ति शैक्षिक क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्ने र शिक्षाका क्षेत्रमा काम गर्ने नै हो । अनेरास्ववियुले गरेको कामको सन्दर्भमा पनि नेकपा एमाले सरकारमा हुँदा हामीले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण उपलब्ध गराउन पर्छ भनेर आन्दोलन गरेका थियौं र त्यो श्रद्देय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको नेतृत्व रहेको बेला त्यो कुरा कार्यान्वयनमा आयो । हामीले पार्टी सत्तामा हुँदा रचनात्मक सुझाव दिएर सहयोग गरिरहेका छौँ । साथै हाम्रो र अन्य सबै पार्टीहरुले गरेको गलत निर्णयका विरुद्ध पनि हामीले आवाज उठाएका छौँ ।

यति धेरै विद्यार्थी संगठनहरु छन् तर विद्यार्थीले किन अनेरास्ववियु नै रोज्नु ? अनेरास्ववियुलाई नै रोज्न पर्ने कारण के छ ?
सबै विद्यार्थी संगठन र तिनका नेताहरुको चरित्रलाई हामीले अध्ययन गर्नुपर्छ । कुन संगठन कुन पृष्ठभूमिबाट बनो ? विचारधारा के हो ? हिजोदेखि आजसम्म विद्यार्थीहरुको मुद्दामा कुन संगठनले कहाँ, के–के बोल्यो ?
जति खेर भारतले नेपाली भू–भाग मिच्यो त्यति बेला ति भू–भाग नेपालको हुन् भनेर सबैभन्दा अगाडि कसले आवाज उठायो ? जनताको जनजिविकाको सवालमा, मुल्य वृद्धि हुँदा त्यसका विरुद्ध जनताका पक्षबाट कसले आवाज उठायो ? भन्दा सबै प्रश्नको उत्तर अनेरास्ववियु हुन्छ । नेपालमा अनेरास्ववियु मात्र यस्तो एउटा संगठन हो जसले शैक्षिक बहस सञ्चालन गर्यो र नेपालको शैक्षिक नीति कस्तो हुनुपर्छ भनेर प्रत्येक जिल्लाको प्रत्येक क्याम्पसमा बहस गर्यो साथै राज्यलाई बहसबाट निस्किएको निचोट पनि दियो । त्यस कारण राष्ट्रियताको सवालमा, जनताको जनजिविकाको सवालमा र शिक्षामा आमुल परिवर्तन गर्ने सवालमा हरेक सवालमा अनेरास्ववियु नै लड्दै आएको हुनाले विद्यार्थीहरुले अनेरास्ववियु रोज्नु हुन्छ र रोज्नपर्छ ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गराउने सवालमा, विश्वविद्यालय वा क्याम्पसहरुमा छात्रवृत्ति प्रदान गर्न पर्ने सवालमा, निजी विद्यालयले अनावश्यक रुपमा बढाएको शूल्कको विरुद्ध, हरेक किसिमको शैक्षिक विकृति जहाँ विद्यार्थीका पीर मार्का, समस्या साथै महिला साथीहरु महिनावारी हुँदा विद्यालय÷क्याम्पस आउन नसक्ने अवस्था थियो । त्यसैले विद्यालय÷क्याम्पसमै निःशूल्क सेनेटरी प्याड उपलब्ध गराउने आन्दोलनको अगुवाई गर्ने र कार्यान्वयन गराउने लगायतका काम अनेरास्ववियुले गर्यो । अनेरास्ववियुले विगतदेखि आजसम्म के गरो भनेर यदी हेर्ने नै हो भने पनि अनेरास्ववियुको विकल्पमा अन्य संगठनहरु छैनन् । अन्य संगठनहरु पनि हुनका लागि त हुनुहुन्छ । तर हाम्रो प्रतिस्पर्धा वहाँहरु कोहीसँग पनि छैन । किनभने, आज हाम्रो मित्र संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को केन्द्रीय समिति छैन, अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय समिति कुन हो भन्ने कुरा विश्वविद्यालयले नभेटेर पार्टीले पञ्चा सिंहको नेतृत्वको समिति केन्द्रीय समिति हो भन्न पर्ने अवस्था रहेको छ । जबकी हामी त भर्खरै २३औं महाधिवेशनबाट लोकतान्त्रिक पद्धति अनुसार संगठन निमार्ण गरेर आएका छौँ । त्यस कारण विश्वविद्यालयले नचिन्ने र केन्द्रीय समिति नै नभएका संगठनहरुसँग हाम्रो खासै प्रतिस्पर्धा हुँदैन । त्यसकारण कमजोरहरुले शक्तिशालीका विरुद्ध घेराबन्दी गर्ने कुरा अनौठो पनि हैन । तर, सत्य त हिजो पनि अनेरास्ववियु देशको सबैभन्दा शक्तिशाली विद्यार्थी संगठन थियो र यो पाली पनि हामी नै शक्तिशाली हुने कुरामा कुनै समस्या छैन ।

तपाईंले उम्मेदवार बनेर स्ववियु निर्वाचनमा भाग लिदाका अनुभवहरु के कस्ता छन् ?
निर्वाचन विशेष त प्राविधिक कुरा हो । निर्वाचनमा हरेक ढंगका सकारात्मक र नकारात्मक दुबै प्रकारका प्रयासहरु हुने गर्छन् । तर मुख्यतः विद्यार्थीहरु सचेत वर्ग हुन् हामीले राजनीति फोहोरी खेल हो भनेर हामी यसबाट पन्सिएर पनि हुँदैन किनकी त्यसो गर्दा नीति निर्माण तहमा सवल मान्छेहरु जाने कुरा चाहिँ पुग्ने कुरा असम्भव हुन्छ । स्ववियु एक मिनि संसद्को चुनाव जस्तै हो । विद्यार्थीको चुनाव दलहरुको संसदीय निर्वाचन जस्तै उत्सवको रुपमा तयारी हुन्थ्यो । तर अहिले युवाहरु प्रति राजनीतिक वितृष्णा देखिन्छ । त्यसकारणले स्ववियुलाई हामीले एकदमै स्वास्थ्य प्रतिस्पर्धाको रुपमा विद्यार्थीहरुको माझ आफ्ना एजेण्डाहरु राख्ने, आफूले विगतमा गरेका कामहरुलाई राख्ने, आफ्नो इतिहास र विचारका बारेका भन्ने र बहस सञ्चालन गर्ने गर्न जरुरी छ । विद्यार्थी साथीहरुले आफ्ना साथीहरुलाई नेतृत्वको रुपमा स्थापित गराउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।

स्ववियुको औचित्य चै के छ ?
स्ववियुको औचित्य छ । बीचमा लामो समयदेखि यसको निर्वाचन नभएका कारण यसको महत्व, औचित्य र गरिमा चाहिँ कमजोर बनेको छ । पहिले कर्मचारीले मात्र स्थानीय तह चलाउदा र अहिले जनप्रतिनिधिले चलाउदा केही न केही फरक त छ । त्यस्तै क्याम्पसमा पनि विद्यार्थी संगठनहरु त छन् । तर आधिकारिक विद्यार्थीहरुले चुनेर पठाएको आफ्नो प्रतिनिधि जसले चाहिँ हरेक विद्यार्थीका समस्या समाधानका निम्ति काम गर्नुपर्ने हुन्छ । त्यो विद्यार्थीको साझा थलो स्ववियुको निर्वाचन अत्यन्त आवश्यक छ । क्याम्पसले संगठन नै पिच्छेका नेतालाई भन्दा विद्यार्थीले चुनेर पठाएको प्रतिनिधिलाई चिन्ने हो । त्यसकारण स्ववियुको औचित्य छ । तर, विभिन्न कारणले गर्दा स्ववियु निर्वाचन नभएकाले विद्यार्थीका मुद्दाहरु ओजेलमा परिरहेको अवस्था छ । हामीले चैत ५ गतेको स्ववियुलाई भब्य रुपले सम्पन्न गरायौं भने मात्रै यसको गरिमा र औचित्यको रक्षा हुन्छ । साथै विद्यार्थीका मुद्दाहरु पनि स्थापित हुन्छन् । त्यसैले म अनेरास्ववियुको तर्फबाट सबै विद्यार्थी साथीहरुलाई आउँदै गरेको स्ववियु निर्वाचन सभ्य र भब्य रुपले सम्पन्न गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछु । साथै अनेरास्वविका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी बनाइदिनुहुन पनि अनुरोध गर्दछु ।

 

प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]