बैशाख ११, २०८१ मंगलबार

सहकारीभित्र पारदर्शिता खोजौं

सम्पादकीय
सहकारी संस्थाहरुमा धेरै जसो निम्न वर्गीय नागरिकहरुको आवद्धता छ । ठुलो कारोवार गर्ने, धेरै पैसावालहरु प्रायःबैंकहरुमा जोडिएका छन् । बैंकको पहुँचमा पुग्न नसक्नेहरु नै सहकारीहरुमा जोडिने गरेका छन् । तर, पछिल्लो समय सहकारीहरुमा पनि पैसावाल व्यापारीहरुको आवद्धता बढ्दो छ । साना–साना पुँजीको परिचालन सहकारीहरुले गर्ने गरेका छन् । बैंकले निम्न वर्गीय नागरिकहरुलाई कर्जा नदिने, दैनिक बचत संकलनमा प्रतिनिधिहरु व्यवस्था नगर्ने भएकाले सहकारीमा आवद्ध हुनेहरु बैंकमाभन्दा फरक छन् ।

दैनिक मजदुरी गरेर रु ५०, १०० रुपैयाँ सहकारीले बचत गरिदिन्छ । त्यस कारण अधिकांशको पहुँच सहकारीहरुमा छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सदस्यहरुको माग बमोजिम काम गर्न सकिरहेका छैनन् । आर्थिक तरलतादेखि अन्य समस्याका कारण कर्जा लगानी असाध्यै कमि छ । एकाध सहकारीहरु बाहेक धेरै सहकारीहरुले बचत फिर्ता समेत गर्न सकेका छैनन् । सहकारीहरुमा आफ्नो बचत सहजै फिर्ता पाइने अवस्था छैन । सहकारीहरुले कर्जा लगानी वापतको भुक्तानी नआएका कारण समस्या भइरहेको बताइरहेका छन् । यो समस्या झापामा पनि राम्रैसँग देखिएको छ ।
सहकारी संस्थाहरु सदस्यहरुको बचतबाट सञ्चालित छन् । सदस्यहरुले गरेको बचतबाट चलिरहेका संस्थाहरु सदस्यलाई नै बचत फिर्तामा विभिन्न बहानाबाजी देखाइरहेका छन् । सहकारीहरु विधि अनुसार चलिरहेको अवस्थामा फिर्ता गर्न समस्या पक्कै हुदैन । किनभने, विधि बचत फिर्ता गर्नै नसक्ने गरी बनाइएको छैन । सहकारी सञ्चालकहरु संस्थालाई ‘चेन अफ कमाण्ड’ मा चलाइरहेका छन् । अथवा, माथिल्लो तहका पदाधिकारी, सञ्चालकसँग अन्य सदस्यहरुले आफ्नो कुरा राख्न सकिरहेका हुदैनन् । यो अवस्था सबै संस्थामा नहुन पनि सक्छ । तर, प्रायः यस्तै छ ।

संस्थाभित्रको लगानीका बारेमा पारदर्शिता नहुँदा सहकारीहरु समस्यामा परेका छन् । सञ्चालकहरु आफै ठुलो कर्जा लिएर जग्गा व्यापार, अन्य व्यापारमा लगानी गरिरहेको पनि हुन सक्छन् । यस बारे पारदर्शिता छैन । सञ्चालकहरुले आफु खुशी संस्थाको मोटो रकम कर्जा लिएर आफ्नो व्यापार चलाउन थाले भने संस्था समस्यामा पर्छ । यसैले संस्थाभित्रको कर्जा लगानी आम सदस्यहरु समेतले थाहा पाउन जरुरी छ । संस्थाको हितका लागि पनि कर्जा बारे जानकारी लिन आवश्यक छ । कति रकम, कसले कर्जा लिएको छ ? यसको अध्ययन सञ्चालक समितिभित्र खुला रुपमा छलफल हुन आवश्यक छ । यदि यसो गर्ने हो भने सहकारी समस्यामा पर्ने छैनन् । र, संभावित जोखिमबाट पनि सुरक्षित हुनेछन् ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]