बैशाख ६, २०८१ बिहीबार

एक चालकको भरमा ‘बारुणयन्त्र’

झापा । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ ।

बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ “अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु । तर सेवासुविधा छैन ”। सेवासुविधाका बारेमा पालिकामा लिखित तथा मौखिकरुपमा कुरा उठाए पनि अझैसम्म सुनुवाइ नभएको उहाँको दुखेसो छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा त्यसैसम्बन्धी काम गरेको अनुभव उहाँसँग छ । उतै पनि कमाई राम्रै थियो तर आफ्नै ठाउँमा केही गरौँ भन्ने लागेर आफ्नै ठाउँमा काम गर्न थालेको उहाँले सुनाउनुभयो । विसं २०७२ मा प्रदेश सरकारले यस पालिकालाई बारुणयन्त्र दिएपछि उतैबाट उहाँ चालकका रुपमा नियुक्ति भई सेवा सुरु गर्नुभएको थियो ।

यतिका समयसम्म चालकसँगै अग्नी नियन्त्रकका जिम्मेवारी बहन गरी आउनुभएका उहाँ सरकारले तोकेको पारिश्रमिक मात्र होइन बीमा, सञ्चयकोषलगायतका सुविधा नपाउँदा परिवारको पालनपोषण गर्न नै धौधौ परेको गुनासो सुनाउनुहुन्छ । कतै आगो लागेको सूचना पाउन साथ प्रतिकार्यमा प्रहरीको सहयोगमा दौडिनुपर्ने अवस्था छ । प्रहरी कता खटिएका हुन्छन्, यतिका संवेदनशील अवस्थामा एक्लै खट्दै आए पनि सुविधा भने सरकारी नियमानुसार भने पाउन नसकेको उहाँ बताउनुहुन्छ । यस पेसामा परिवार पाल्ने जोहो हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बीमा, सञ्चय कोषलगायत चाडपर्वमा दिइने बिदासमेत पाउन नसक्दा कताकता कामको सम्मान हुन पो नसकेको अनुभव हुन्छ ।” छ÷छ महिनामा करार नवीकरण गरी काम गर्नु हुने उहाँ हेभ्भी गाडीका चालक हुन् । तर उहाँले चालकको श्रेणीअनुसारको भने पाउने सुविधाबाट बञ्चित हुनु परेको बताउनुभयो । यसका लागि पटकपटक कुरा उठाउँदै आए पनि अझैसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ । आफू एक्लो भएकै कारण बारुणयन्त्रलाई थप प्रभावकारी बनाउन नसकिएको उहाँको बुझाइ छ । कमल–३ केर्खास्थित प्रहरीचौकी परिसरमा राख्दै आएको सो बारुणयन्त्र आपत्कालीन अवस्थामा भने त्यहीका प्रहरी परिचालित गरी काम गर्न बाध्य हुनुपरेको उहाँको तर्क छ । बारुणयन्त्रका लागि पानी जुटाउन पालिकाले चौकी परिसर, कमल–५ का मङ्गलबारे, कमल–२ को क्याम्पा र बाँसबारीलगायतका चार स्थानमा ‘बोरिङ’को व्यवस्था गरेको छ ।

उहाँका अनुसार प्रहरीलाई भनेको बेला लैजान कठिन हुन्छ, ‘ड्युटी’मा अन्यत्र खटिएकालाई लिएर सँगै लैजाँदा सेवा ढिला भएको गुनासो आउने गरेको छ । आगजनीमा उद्धार र नियन्त्रणका लागि मुख्य साधन र यसमा खटिने अग्नी नियन्त्रक, चालक सधँै तयारीमा रहनुपर्ने भए पनि त्यस विषयमा भने पालिकाका जनप्रतिनिधिले खासै चासो नदिएको उहाँ बताउनुहुन्छ । बारुणयन्त्र सञ्चालन र व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले कार्यविधि निर्माण गरी सेवा पु¥याउन लाग्ने हो भने यो सेवा थप प्रभावकारी र जिम्मेवारी बोध हुने उहाँको सुझाव छ ।

विपद् प्रतिकार्यसम्बन्धी अत्यावश्यक सेवाका रुपमा मानिने यस बारुणयन्त्रको सेवालाई प्रभावकारीरुपमा सञ्चालन गरी लक्ष्यअनुरुप उद्धार तथा राहतमा जोड दिनुपर्ने स्थानीयवासी पारसमणि राई बताउनुहुन्छ ।

झापा १५ वटै स्थानीय तहमध्ये १० वटा बढी स्थानीय तहले अत्यावश्यक बारुणयन्त्र सेवा उपलब्ध गराउँदै आएको छ । कतिपयले अनुदान त कतिले आफँै खरिद गरी सेवा पु¥याउँदै आएका छन् । तर आकस्मिक विपत्तिमा खटिने बारुणयन्त्रका यस्ता मजदुरको पेसागत सुरक्षाका लागि स्थानीय तहले चासो नदिएको गुनासो उनीहरुको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ३ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]