चैत्र १६, २०८० शुक्रबार

कनकाईलाई शैक्षिक गन्तव्य बनाउने लक्ष्य

झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्र हो । बन्द हड्ताल नहुने पालिकाको रुपमा स्थापित कनकाई शान्ति क्षेत्रको रुपमा परिचित छ । त्यति मात्र होइन, कनकाईमा विद्युत चुहावट पनि शून्य छ । धार्मिक एवम् पर्यटकीय हिसाबले परिचित कनकाई जिल्लाका अन्य पालिकाभन्दा पृथक छ । त्यसको एउटा मुख्य आधार भनेको शिक्षा क्षेत्र पनि हो ।

शिक्षामा कनकाईले मुख्य गन्तव्य बनाउने योजनाका साथ काम गरिरहेको छ । कनकाईमा १४ वटा सामुदायिक विद्यालय छन् । त्यसैगरि २१ वटा संस्थागत विद्यालय, एक संस्कृत र दुई मदरसा गरेर तीन वटा धार्मिक पाठशालाहरु छन् । साथै, एउटा सामुदायिक अध्ययन केन्द्र, तीन वटा क्याम्पस र एउटा सिटिइभिटिको कार्यक्रम गरेर कुल ४३ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा छन् ।

कनकाईलाई शैक्षिक गन्तव्यको रुपमा बिकास गर्ने योजनासहित नगरपालिका अघि बढेको छ । त्यसका लागि आवश्यक तयारीका साथ काम गरिरहेकोे नगर शिक्षा अधिकारी पिताम्बर गौतमले जानकारी दिए । झापा र झापा बाहिरका विद्यार्थीहरु पनि यहाँका शैक्षिक संस्थाहरुमा आएर पढ्ने सक्ने शैक्षिक गुणस्तर वृद्धि गर्नेे कनकाईको योजना छ । शैक्षिक गन्तव्य बनाउनका लागि कार्ययोजना पनि बनिसकोको छ । कनकाई कहिल्यै बन्द नहुने पालिका हो । त्यसले पनि शैक्षिक गन्तव्य बन्नमा मद्दत गर्ने गौतम बताउँछन् । झापाका अन्य पालिकामा साधारण बन्द हुँदा पनि शैक्षिक संस्थाहरु प्रभावित हुने गर्छन् । तर, कनकाईमा कुनै किसिमको बन्दको प्रभाव पर्दैन । यद्दपि, यतिले मात्र शैक्षिक गन्तव्यको लक्ष्य पूरा हुँदैन । यसका निम्ति गुणस्तरमा योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको नगर शिक्षा अधिकारी गौतमको भनाई छ ।

कनकाईका सम्पूर्ण विद्यालयहरुमा भवन, विज्ञान प्रयोगशाला र पुस्तकालयहरुको उचित व्यवस्थापन गरिएको छ । त्यसैले अबको कार्य योजना गुणस्तरीय शिक्षाको निम्ति वैज्ञानिक अनुगमनलाई अनुसरण गरिएको छ । कनकाईले शैक्षिक गुणस्तरलाई बढाउन विषयगत अनुगमन समितिको निर्माण गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक गरी मुख्य पाँच वटा विषयको विषयगत समितिको निर्माण गरेको छ । विषयगत समितिमा लामो समयसम्म सम्बन्धित विषय पढाएर विज्ञता र अनुभवले निखारिएका शिक्षकहरु रहेका छन् । उक्त समितिले तालिका बनाएर नियमित रुपमा विभिन्न विद्यालयहरुको शैक्षिक अनुगमन गर्ने गरेको छ । उक्त अनुगमन गर्ने टोलीले विद्यालयमा विषयगत शिक्षकहरुसँग छलफल र सुझावहरुको आदानप्रदान पनि गर्दै आएको छ । कनकाई विषयगत शिक्षकहरुसँग अन्तरक्रिया र छलफलहरुको सञ्चालन गर्ने, शैक्षिक सुधारको बहस र अनुसन्धानहरु गर्ने योजनाका साथ लागि परेका छ । शिक्षामा विश्वस्तरीय प्रविधि र पद्धतिहरु भित्राएर आफ्नो शैक्षिक गन्तव्यको लक्ष्य पूरा गर्ने कनकाईको योजना रहेको छ ।

नगरको शिक्षामा सुधार पनि देखिन थालिसकेको छ । शिक्षामा देखिने उपलब्धी भनेको विद्यालयको उपलब्धीसँग सम्बन्धित हुन्छ । विद्यालयको उपलब्धी चाहिँ विद्यार्थी संख्या, नतिजा र अभिभावकहरुको विश्वाससँग सम्बन्धित कुरा हो । ०७४ साल यता, सामुदायिक विद्यालयको विद्यार्थी भर्नामा करीब २५ प्रतिशत वृद्धि भएको नगरपालिकाको तथ्यांक छ । यो नै शिक्षा क्षेत्रमा देखिएको सुधारको एउटा सबैभन्दा ठूलो प्रमाण हो ।

स्थानीय तहको स्थापना भए पश्चात ०७४ अगाडि विद्यालयहरुमा देखिएको समस्याहरु धेरै हदसम्म समाधान भइसकेको छ । पहिले जिल्ला शिक्षामा धाएर विद्यालयले सुविधा लिनुपर्ने परिस्थिति थियो । अहिले त्यै सुविधा पालिकामा पाइन्छ । विद्यालयलाई रेखदेख गर्न नजिकै पालिका छ । जसले गर्दा विद्यालयहरुले दिने अनावश्यक विदासमेत कमी आएको छ । इ–हाजिरी मार्फत विद्यालयको निगरानी हुन्छ । जस्ले गर्दा शिक्षकहरुले हाजिरी छल्न पाउदैनन् । कक्षाहरुमा सीसी क्यामेरा जडान गरिएको छ । जसले गर्दा कार्यालयमै बसेर पनि कक्षा अनुगमन हुन्छ । फेरि, विद्यालयमा केही तलमाथी वा समस्या उत्पन्न भए अविभावकहरु मार्फत तुरुन्त गुनासाहरु राख्न पनि सहज भएको छ । जबकी जिल्लामा गुनासो राख्न सहज थिएन । स्थानीय तहको निर्माण पछि शिक्षकहरुमा पनि कामप्रतिको उत्तरदायित्व बढेको कनकाई नगरपालिकाको बुझाई छ । विद्यालयमा अविभावक, नगरपालिका र वडा कार्यालय सबैको चासो रहेकाले शिक्षकहरुको जवाफदेहिता र उत्तरदायित्व बढेको छ ।

नगरपालिकाले शिक्षकहरुलाई तलब खुवाउनेदेखि लिएर अनुगमन गर्ने, शैक्षिक छलफलहरुको सञ्चालन गर्ने, विद्यार्थीहरुका लागि नगरस्तरीय विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने गरेको छ । जसले विद्यार्थीहरुमा उत्प्रेरणा वृद्धि भएको छ । कनकाईलाई शैक्षिक गन्तव्य बनाउने योजनाको पनि एउटा आधारपथ तयार भइसकेको छ । के–के गर्दा यो लक्ष्यमा पुग्न सकिन्छ भन्ने एउटा कार्ययोजना पनि तयार भइसकेको छ । त्यसको लागि वार्षिक र बहुवर्षीय योजनाहरु तयार भएका छन् ।

पालिकाभित्रका विद्यालयको भौतिक संरचनाहरुको अवस्था राम्रो छ । केही पुराना भवनहरुलाई मर्मत गरे पुग्ने अवस्था छ । कतै टिनका छानाहरु छन् । पानी चुहिने सामान्य समस्या केहि ठाउँमा हुन सक्छ । नगरले चाँडै यो समस्या पनि समाधान गर्नेछ । केही विद्यालयको भवन साँगुरो ठाउँमा छ । विद्यालयको जग्गा अन्यत्रै छ । त्यस्तो विद्यालयहरुलाई भवन निर्माण गरेर सार्न पर्ने अवस्था देखिएको छ ।

विद्यालयहरुमा व्यवस्थापन समितिको राम्रो सक्रियता रहेको छ । तर, शिक्षक अभिभावक संघ चाहिँ खासै सक्रिय छैन । विद्यालयमा शैक्षिक सुधार गर्न अभिभावकहरुको बाक्लो जावतजावत हुन जरुरी हुन्छ । अभिभावकहरु विद्यालय नआउने हो भने विद्यालयलाई राम्रो बनाउन सकिदैन । अन्य अनुगमनले मात्र विद्यालय राम्रो हुँदैन । त्यसैले शिक्षक अविभावक संघ सक्रिय बनाउन पर्ने अवस्था छ, शिक्षा प्रमुख गौतमले भने ।

नगरपालिकाले बालबिकासदेखि कक्षा एकसम्मका विद्यार्थीहरुलाई ब्याग, टिफिन बक्स लगायतका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । त्यसैगरी बालबिकासदेखि कक्षा आठसम्मका विद्यार्थीहरुलाई हरेक वर्ष पोशाक र विभिन्न छात्रावृत्तिहरु उपलब्ध गराउने गरेको छ । कक्षा ११–१२ मा अध्ययनरत गरीब तथा जेहेन्दार ३२५ जना विद्यार्थीहरुलाई यसै सालदेखि नगद चार हजारका दरले छात्रवृत्ति दिन थालिएको छ ।

शिक्षा प्रमुख गौतमले नगरमा अन्य बिकासका निम्ति क्षेत्रगत रुपमा छुट्याइने बजेटको तुलनामा शिक्षाको बजेटको अवस्था ठीकै रहेको प्रतिक्रिया दिएका छन् । कनकाईले क्षेत्रगत बिकासका लागि पालिकाबाट छुटिने रकम मध्ये सबैभन्दा धेरै रकम शिक्षाका निम्ति छुटाएको छ । शिक्षामा करीब दुई करोड पाँच लाख बजेट छुट्टाइएको छ । साथै वार्षिक रुपमा बजेट वृद्धि पनि भइरहेको शिक्षा शाखाले जनाएको छ । गत आर्थिक वर्ष एक करोड ५५ लाख छुट्टाइएको थियो ।

कनकाईमा दुई वर्ष अगाडिदेखि कक्षा १ देखि ६ सम्म ‘कनकाई ज्ञानमाला’ स्थानीय पाठ्यक्रम लागु भएको छ । उक्त पाठ्यक्रम अनुसार पाठ्य पुस्तक पनि तयार गरी विद्यार्थीहरुलाई वितरण गरिएको छ । उक्त पुस्तकमा पालिका भित्रको स–साना विषयवस्तुको पनि जानकारी समेटिएको छ ।

शिक्षा प्रमुख गौतमले शिक्षा क्षेत्रको थप बिकासका निम्ति केही सुझावहरु पनि दिए । उनी भन्छन् ‘शिक्षालाई प्रविधिसँग जोड्नैपर्छ । पढ्ने पढाउने दुवै प्रविधिसँग जोडिन जरुरी छ । विद्यार्थीलाई ज्ञानको भोक इन्टरनेटले मात्र पूरा गर्न सक्छ । किताव मात्र घोकाएर पुग्दैन ।’

कनकाईले पालिकाभित्रको आदर्श विद्या मन्दिरले आफ्नै बस सञ्चालन गरेको छ । चाँडै दुई वटा विद्यालयमा पढ्नै कमाउँदै कार्यक्रमसँग पनि जोड्न लागेको शिक्षा प्रमुखले जानकारी दिएका छन् । पढ्दै कमाउँदै गर्ने कार्यक्रमले विद्यार्थीलाई श्रमसँग जोढ्ने छ । त्यसबाट भएको आम्दानी विद्यार्थीले पनि उपयोग गर्न पाउने छन् ।
……….

निजी विद्यालयहरुको विकल्प कनकाई मावि
कनकाई नगरभित्रको एउटा उदाहरणीय विद्यालय हो, कनकाई मावि । कनकाईभित्रको शैक्षिक संस्थाहरुको चर्चा गर्दैगर्दा कनकाई सुरु मै चर्चामा आउँछ । ०४७-४८ तिर तीन हजारमाथि विद्यार्थी भएको कनकाई माविमा वि.सं.०६०-६१ मा आइपुग्दा करीब १२ सय मात्र विद्यार्थी भए । सम्पूर्ण विद्यार्थीहरुमा वरिपरि खुलेका संस्थागत विद्यालयहरुले प्रभाव पारे । सबै अविभावकलाई आफ्नो छोराछोरीलाई अङ्ग्रेजी पढाउने भोक जाग्यो ।

अङ्ग्रेजी माध्यमबाट विद्यालयमा पढाई नभएका कारण विद्यार्थी संख्या क्रमशः घट्दै गयो । खँचाखच विद्यार्थी हुने कक्षाहरुमा आठ–दश जना मात्र विद्यार्थीहरु हुने थालेपछि चिन्तित भएका सरोकारवालाहरु एकाएक जागरुप भए । विद्यालयमा विद्यार्थीहरुको संकट पर्न थालेसँगै विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाई सुरु गर्ने बहस सुरु भयो । बहस भएको दुई वर्षपछि देखि कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भयो । आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट राम्रो नतिजा प्राप्त भयो । त्यसैको प्रेरणाले केही समय पछि ९ र १० मा पनि अङ्ग्रेजी माध्यमबाट पढाई सुरु गरियो । अङ्ग्रेजी माध्यम सुरु भएको साल कक्षा ९ मा ह्वात्तै विद्यार्थी बढे । अङ्ग्रेजी माध्यमका कारण एसएलसीमा विद्यालयले राम्रो नतिजा प्राप्त गर्न सफल भयो । त्यसपछि कक्षा १ देखि १० सम्म सबै कक्षामा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन सुरु गरिएको थियो ।

कनकाई माविमा अहिले अङ्ग्रेजी माध्यममा करीब १२ सय विद्यार्थीहरु अध्ययनरत छन् । त्यसैगरी १०२ जना सुस्त श्रवण र बाँकी ११ सयमाथि नेपाली माध्यमका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा २४ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा ८६ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको सहप्रधानाध्यापक एवम् सूचना अधिकारी तीर्थराज खरेलले जानकारी दिए ।

कनकाई माविमा कक्षा ११–१२ मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायको पढाई हुन्छ । यो विद्यालय आफैंमा निजी विद्यालयहरुको विकल्पको रुपमा स्थापित भएको छ । विद्यालयले पालिकाभित्र भएका अन्य निजी विद्यालयहरु भन्दा राम्रो नतिजा ल्याउँदै आएपछि विद्यार्थी संख्या पनि बढ्दै गएको खरेलको भनाई छ । सामुदायिक विद्यालय भएर पनि कनकाई मावि अभिभावकहरुको आशाको पहिलो केन्द्र बन्न थालेको छ ।

यतिका धेरै विद्यार्थी र कर्मचारी भएका विद्यालय सञ्चालनमा ठूलै चुनौति छ । विद्यालयमा ३५ जना निजी स्रोतका कर्मचारीहरु कार्यरत छन् । विद्यालयले उनीहरुलाई अविभावहरुबाट सहयोग उठाएर तलव-भत्ताको व्यवस्तापन गरिरहेको सहप्रधानाध्यापक खरेलले बताए ।

विद्यालयमा खानेपानीको अभाव छ । विद्यार्थीहरुलाई सहजैसँग बसेर पढ्न गाह्रो भएको भइरहेको छ । आर्थिक मन्दिको कारण आउँदो शैक्षिक सत्रबाट विद्यार्थी अझ बढ्ने सम्भावना छ । अविभावकहरु अहिले नै विद्यालय आएर प्रशासनलाई दबाब दिन सुरु गरिसकेका छन् । विद्यालय आम अभिभावकहरुको सुझाव लिँदै अन्य विद्यालयहरुको असल अभ्यासलाई सिकेर अगाडि बढिरहेको खरेको भनाई छ ।

विद्यालयले विद्यालय नमुना बिकास कार्यक्रम अन्र्तगत ६५ जना शिक्षकहरुलाई ७५ प्रतिशत अनुदानमा ल्यापटप वितरण गरेको छ । शिक्षकहरुले प्रश्नपत्र बनाउनेदेखि पाठ योजना बनाउने, परीक्षाफल राख्ने लगायतका कामहरु आफैं गर्छन् । विद्यालयको परीक्षा बोर्डले कुनै पनि शिक्षकबाट हस्त लिखित प्रश्नहरु लिदैन ।

यस विद्यालयमा ९० प्रतिशत शिक्षकहरु दक्ष र तालिम प्राप्त छन् । सबै कक्षामा सीसी क्यामेरा जडान गरिएको छ । त्यहाँबाट हेरेर शिक्षकहरुलाई सुझाव पनि दिने गरिएको छ । जसले गुणस्तरमा निखार ल्याउने विश्वास गरिएको छ । अभिभावकहरुले विद्यालको कामलाई राम्रो सहयोग गर्दै आएका छन् । तर, विद्यालयमा उपस्थित चाहिँ न्यून रहेको सहप्रधानाध्यापक खरेलको गुनासो छ । उनी भन्छन्, ‘अभिभावकहरुले पनि हामीलाई अनुगमन गरिदिए गुणस्तरमा अझ निखार आउँने थियो । उहाँहरु खासै विद्यालय आउनु हुन्न ।’

सहप्रधानाध्यापक खरेलले शिक्षा क्षेत्रको थप बिकासका निम्ति पालिकालाई सुझाव दिएका छन् । सबै विद्यालयहरुमा पालिकाबाटै सीसी क्यामेरा मार्फत निगरानी गर्न थालिएको छ । यहाँ पनि त्यो अभ्यास गर्न सकिन्छ । शिक्षकहरुलाई मासिक रुपमा तलब भत्ता दिने गर्नुपर्छ । विषयगत रुपमा पुनर्ताजकी तालिम सञ्चालन गर्नुपर्छ । शिक्षामा लगानी बढाउनु पर्छ । विद्यालयहरुमा विस्तारै दरबन्दीहरु मिलाउनु पर्ने देखिन्छ । जनप्रतिनिधिले बिकासका अन्य कुराहरुलाई जस्तै प्राथमिकता दिन जरुरी छ ।
……………

पाँच शैयाको उपचार कक्ष
झापा कनकाई नगरपालिका – ४ मा रहेको सिंहदेवी माध्यमिक विद्यालयले पाँच शैयाको प्राथमिक उपचार कक्ष बनाएको छ । विद्यार्थीमा कुनै पनि प्रकारको स्वास्थ्य समस्या देखिए तत्काल आराम गर्ने ठाउँ बनाइएको प्रधानाध्यापक डम्बर प्रसाद फुँयालले जानकारी दिए । उक्त उपचार कक्षमा सामान्य स्वास्थ्य समस्या भए उपचार नै गरिने व्यवस्था मिलाइएको छ ।

अन्य विद्यालयहरुमा नभएको सुविधा सिंहदेवीले दिएको प्रअ फुँयालको दावी छ । संभवतः झापामा कुनै पनि विद्यालयमा उपचार कक्ष स्थापना गरिएको छैन । विद्यार्थीलाई चोटपटक लागेमा तत्काल रोकथामका लागि उपचार कक्षमा राखेर उपचार गरिन्छ । विद्यार्थीको समस्या अनुसार विद्यायल मै रोकथाम गर्न नसके स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचारका लागि बाहिर पठाइने प्रअ फुँयाल बताउँछन् । उनले भने, ‘विद्यार्थीहरुले पेट दुख्यो भन्छन, टाउको दुख्यो भन्छन् । सबै विद्यार्थीसँगै राख्दा विरामीलाई थप समस्या हुन सक्छ । त्यसैले उपचार कक्षको व्यवस्था गरिएको हो ।’

केहि समयअघि ५-७ जना विद्यार्थी एकै पटक विरामी भए । उनले थपे – मास हिस्टोरिया जस्तो समस्या देखियो । जस्ले छोयो उही विरामी हुने अवस्था बन्यो । तत्काल बिद्यार्थीहरुलाई उपचार कक्षमा राख्दा सुरक्षित भयो । विरामी विद्यार्थी र अन्य विद्यार्थीहरुको सुरक्षाका लागि उपचार कक्ष प्रभावकारी बनेको छ ।

विद्यालय र वडा नं. ४ को कार्यालयले प्रदान गरेको ५० हजार सहयोगबाट उक्त कक्ष निर्माण गरिएको छ । बालमैत्री विद्यालय कार्यक्रम अन्तर्गत कोसी प्रदेश सरकारले दिएको १० लाखमध्येबाट ५० हजार समेत थप गरेर उपचार कक्ष निर्माण सम्पन्न गरिएको उनको भनाई छ । विद्यालयमा नर्सरीदेखि कक्षा ९ सम्म ४७८ जना विद्यार्थी अध्ययनरत छन् । सिंहदेवीले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गरिरहेको छ ।

शैक्षिक संग्राहलय
सोही विद्यालयले २०६६ देखी लोपोन्मुख शैक्षिक संग्राहलय स्थापना गरी विद्यार्थीहरुलाई पौराणिक विषयवस्तु बारे जानकारी दिइरहेको छ । संग्राहलयको उचित व्यवस्थापन नभए पनि झापाका अन्य विद्यालयहरुमा यसै प्रकारको संग्राहलय निर्माण भएको पाइँदैन ।

संग्राहलय निर्माणका लागि तत्कालिन जिल्ला विकास समितिले ५० हजार सहयोग गरेको थियो । तत्कालिन जिविससहित अभिभावकहरुको सहयोगमा संग्राहलय निर्माण गरिएको प्रअ फुँयालको भनाई छ । उनका अनुसार कतिपय सामग्रीहरु अभिभावकहरुले उपलब्ध गराएका हुन् । संग्राहलयमा विद्यालयको आफ्नै चिना समेत रहेको छ । कनकाई–४ का ज्योतिष पं. पुरुषोत्तम गौतमले बनाएको विद्यालयको चिना समेत भेटिन्छ ।

संग्राहलयमा २५० वटा सामग्रीहरु छन् । जहाँ पुराना पैसा, थैली, डुङ्ग्रो, हर्पे, जाँतो, चिण्डो, सारंगी, पिरा, टुङ्ना, हलो–जुवा, चोयाबाट बनाइएका विभिन्न सामग्रीहरु, मोइपार्ने तोलुङ लगायतका सामग्रीहरु अवलोकन गर्न पाइन्छ । पाठ्यक्रममा उल्लेख भएका तर विद्यार्थीहरुले देख्न नपाएका धेरै सामग्रीहरु संग्राहलयमा राखिएको छ, प्रअ फुँयालल भने, अध्ययनका क्रममा विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने गरेको छ ।  प्रस्तुति – गगन ढकाल

प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]