बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड नगपालिकाद्वारा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक

झापा । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्ट रुपमा वालविकास देखि कक्षा ५ सम्मका विधार्थीहरुको विद्यालय पोसाक हस्तान्तरण गरिएको हो ।

पोसाक वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोसाक खरिद गर्न नसक्दा पठनपाठनबाटै बन्चित हुने गरेका कारण पोसाक वितरण कार्यक्रम ल्याएको बताइन् । उनले यस कार्यक्रमले अभिभावकलाई सहज हुनका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकुल वातावरण बन्ने बताएकी छन् । नगरप्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताउँदै पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएको बताइन् । उनले भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुंदै आएको धारणा राखेकी छन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारी पूर्वक अगाडि बढाउनु पर्नेमा जोडदिए । उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरेका छन् । नगरपालिकाले पोसाक वितरण कार्यक्रमलाई वार्षिक योजना अन्तर्गत राखेर महत्वकासाथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउनसमेत सम्वन्धित सबैले ध्यान दिनुपर्नेमा जोडदिए ।
यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोसाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताएका छन् । उनले यस वर्ष पनि ३ हजार ६ सय भन्दा बढी विद्यार्थीलाई पोसाक वितरण हुने जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोसाक वितरण गर्दै आएको छ ।

सोही कार्यक्रमका विच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ । ६५ औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरेका थिए । नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गरेको भन्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

पोसाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बर बहादुर बस्नेत, शाखा अधिकृत दिनेश कुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]