बैशाख ७, २०८१ शुक्रबार

एनएमसीका सहकारी पसल घाटामा

सञ्चालनको पाँच वर्षपछि नाफामा पुराउने लक्ष्य : अध्यक्ष उपे्रती

गगन ढकाल
बिर्तामोड । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बचत–ऋणसहित पाँच वटा व्यवसाय सञ्चालन गरिरहेको छ । त्यसमध्ये पुराना व्यवसाय नाफामा गइसकेको छन् भने नयाँ व्यवसाय कृषि फर्म, सहकारी पसल र चिया व्यापार अझै नाफामा जान सकेको छैन ।

एनएमसीको पाँचवटा व्यवसायहरु सञ्चालनमा छन् । जसमध्ये वित्तिय व्यवसाय र डेरी उद्योग मात्रै नाफामा गएको छ । चिया, कृषि र सहकारी पसल घाटामा रहेका छन् ।

एनएमसीको सहकारी पसल दुःखले सञ्चालन भइरहेको सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । उनी भन्छन्, ‘पसलले प्रोग्रेस गर्ने समयमा कोभिड आयो । जसले गर्दा प्रोग्रेस हुन सकेन । हाल आर्थिक मन्दी छ त्यसैले पनि घाटा भइरहेको छ ।’

एनएमसीले ०७६ सालमा शनिश्चरेमा पहिलो पटक सहकारी पसल सञ्चालन गरेको थियो । हाल एनएमसीका झापामा १४ र इलाममा एक गरेर जम्मा १५ वटा सहकारी पसल सञ्चालनमा रहेका छन् । एनएमसीले विशेषत आफ्नो व्यवसाय र सदस्यहरुका उत्पादनहरुलाई आफैं बजार दिने उद्देश्यका साथ सहकारी पसल सञ्चालनमा ल्याएको हो ।
एनएमसीले आफ्नो व्यवसायहरुलाई थप्ने र सदस्यहरुलाई पनि उत्पादनमुखी कार्यमा जोड्ने योजना बनाएको छ । अध्यक्ष उप्रेती बताउँछन्, ‘हामी इमान्दार व्यापारको परिकल्पना गरिरहेका छौँ । जहाँ उत्पादनको मूल्य व्यापारीले होइन उत्पादकले निर्धारण गर्नेछ । सहकारीको व्यापार नै इमान्दार व्यापार हुन्छ ।’

एनएमसीले सहकारी पसलमा १५ करोड बढी लगानी गरेको छ । तर, निरन्तर घाटाको कारण जेनतेन सञ्चालन भइरेहेको अध्यक्ष उप्रेतीको भनाई छ । यद्यपी, संकटै भए पनि व्यवसाय टिकाउने एनएमसीको अठोट रहेको छ । ‘अहिले घाटा छ दुःख गरेर भए पनि टिकाउँछौ, पछि फाइदा लिन्छौँ’ अध्यक्ष उप्रेतीले थपे ।

अध्यक्ष उप्रेतीले कुनै पनि व्यवसाय सुरुमै नाफा नहुने बताउछन् । सुरु मै नाफा नहुँदैमा व्यवसाय बन्द गरिहाल्न नहुने उनको तर्क छ । उनले डेरी व्यवसाय पनि सुरुमै फाइदा नभएको तर केही वर्ष पछि फाइदामा गएको बताए । उनले कृषि व्यवसायको पनि घाटा निरन्तर घट्दै गइरहेको बताएका छन् । उनले सहकारी पसल पनि सबै ठाउँमा घाटा नभएको बताए । उनी भन्छन्, ‘सहकारी पसलमध्ये पाँच वटा पसलले आफ्नो खर्च आफैं निकाल्न थालेको छ । अरु पसलहरुको पनि घाटा घटिरहेको छ । अबको तीन वर्षभित्र सहकारी पसलको घाटा शून्य बनाउने हाम्रो योजना रहेको छ ।’

संस्थाकी सूचना अधिकारी तेजकुमारी घिमिरेले जगेडा कोषको रकम व्यापारमा लगानी गरेको बताइन् । उनले जगेडाको कोष ७० प्रतिशत रकम व्यापारमा लगानी गरेको जानकारी दिइन् । सूचना अधिकारी घिमिरेले सुरुमा खोलिएका सहकारी पसलले नाफा दिन थालेको बताइन् । उनका अनुसार पसल सञ्चालनको पाँच वर्षपछि नाफा कमाई हुनेछ ।
सूचना अधिकारी घिमिरेले कुल लगानी अनुसार व्यापार घाटामै रहेको जानकारी दिएकी छन् । फरक–फरक राखेर हेर्दा नाफामा पनि रहेको अवस्था छ । उनले नयाँ व्यवसाय सञ्चालनको योजना नरहेको सुनाइन् । सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित गर्दै जाने उनको भनाई छ । उनले सहकारी पसलहरु गैरकानुनी रुपमा आयात गरिएको सामान नरहेकोले मुल्यमा ठुलो सहुलियत नभएको स्वीकार गरिन् । बकैता, कर तिरेर आयात गरिएको सामानमा ठुलो छुट अपेक्षा राख्नु हुदैन, उनले भनिन् – सामान खरिदमा केहि स्किम राखिएको छ । स्किमबाट उपभोक्ताले केहि राहत पाउने उनको भनाई छ ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]