चैत्र ८, २०७९ बुधबार

स्ववियु : चार क्याम्पसमा विद्युतीय मतदान

बिर्तामोड । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ ।

उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् ।

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् ।

रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  १ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास