सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उहाँले भन्नुभयो, ‘सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताउनुभयो । सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उहाँले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिनेगरी द्वारको निर्माण गरिने जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले नयाँ नगरको रुपमा अनुभूति गर्ने धारणा राख्नुभयो । सहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७०, महानगरको २५ र सङ्गठनको पाँच प्रतिशत गरी रु.छ करोड २५ लाख २४ हजार ९४४ मा ह्यावीट्याट–आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।