बैशाख १२, २०८१ बुधबार

पराजित पक्षले तालावन्दी गरेपछि मेची क्याम्पसको परिणाम घोषणा हुन सकेन

भद्रपुर । मेची बहुमुखी क्याम्पसमा मत गणना सकिएको १२ घण्टा वितिसक्दा पनि औपचारिक रुपमा परिणाम घोषणा हुन सकेको छैन । क्याम्पसमा पराजित पक्षले निर्वाचन कार्यालयमा ताला लगाएका कारण निर्वाचन समितिले विजेता घोषणा गर्न नसकेको हो । तर, विजयी संगठन अनेरास्ववियुले मंगलबार भब्यताका साथ विजय उत्सव मनाइसकेको छ ।

क्याम्पसमा नेपाल विद्यार्थी (नेवि) संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको थियो । ताला लगाएपछि उनीहरूले क्याम्पस परिसरभित्रै कालो झन्डा राखेर नाराबाजी समेत गरेका थिए ।

क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीन वटा विद्यार्थी संगठनको प्रतिनिधिको अनुपस्थितिमा सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले मतगणना स्थलमा ताला लगाएको नेविसंघका नेता भुवन बुढाथोकीले जानकारी दिए ।

असन्तुष्ट बनेका विद्यार्थी संगठनले खामबन्दी भएको मत कुनै पनि हालतमा गणना गरिनु हुँदैन र बराबरी भएको खुला सदस्य पदको नतिजा गोला प्रथाबाट टुङ्गो लगाउनुपर्ने भन्दै निवेदन लिएर जाँदा निर्वाचन समितिले तीन वटा संगठनको प्रतिनिधित्व विनै समानुपातिकतर्फको मतगणना सुरु गरिरहेको भेटाएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता बुढाथोकीको भनाई छ ।

मत गणनाको क्रममा आधिकारिक विद्यार्थी पछि मत हाल्न आएपछि बुथमा भएका सर्वपक्षीय बुथ एजेन्टहरुको सहमतिमा ‘यदि मत बराबर भएमा सो खाम खोलेर निर्णय गर्ने’ गरि मतपत्र खाममा हालिएको क्याम्पस प्रमुख जिवन पोखरेलले बताएका छन् । उनी भन्छन्, ‘समानुपातिक तर्फको व्यालेट पनि सबै संगठनको उपस्थितिमा भएको हो । साथै निर्वाचन समितिले पटक–पटक फोन गरेर समानुपातिक तर्फको मत गन्न बोलाउँदा समेत उहाँहरु नआएको र १२ बजे गन्दै गर्नु हामी आइम् भने पछि गन्न सुरु गरिएको हो ।’, उनी भन्छन्, ‘सहमति गरेर हामी बाँकी मत गन्ने योजनामा छौँ । सबै काम सीसी क्यामेरा, प्रहरी प्रशासन र निर्वाचन समितिको रोहबरमा सम्पन्न भएको छ । यद्दपि विवाद उत्पन्न भएपछि अप्रिय घटना नघटोस् भनेर सहमतिका निम्ति आज ११ बजेलाई सर्वपक्षीय छलफल बोलाएका छौँ ।’

राति १२ बजे लगाइएको ताला अझै खुलेको छैन । निर्वाचन समितिले उत्पन्न समस्या समाधानका निम्ति आज बिहान ११ बजे सर्वदलीय÷सर्वपक्षीय भेला बोलाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेविसंघका विवेक तामाङको मत बराबरी आएको थियो । दुवैजनाले ९१४÷९१४ मत ल्याएका थिए । खाम खोल्दा परिणाम मगरको पक्षमा आएको थियो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन लामाले समानुपातिकको मत गणना तत्काल हुनुपर्ने बताएका छन् । विभिन्न बहाना बनाएर लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गर्न नसक्ने र सिंगो विद्यार्थीहरुको मतलाई अपमान गर्ने गतिविधि गलत भएको उनको भनाई छ । उनले भने ‘मत परिणाम जे भए पनि सार्वजनिक गर्नुहुनु पर्छ भन्ने पक्षमा अनेरास्ववियु स्पष्ट छ ।’

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]