बैशाख १२, २०८१ बुधबार

स्ववियुको दायित्व

सम्पादकीय
चैत ५ गते सम्पन्न निर्वाचनले क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व प्राप्त गरेको छ । स्ववियु निर्वाचनमा दलहरुमा आवद्ध संगठनहरुकै हावी रह्यो । हरेक राजनीतिक दलहरुका आआफ्नै विद्यार्थी संगठन, संरचनाहरु छन् । जो पछिल्लो समय दलीय गतिविधि गर्न मात्रै सक्रिय छन् । स्ववियु निर्वाचन समयमा हुन नसक्दा विद्यार्थीको समस्याहरुको पहिचान र समाधानमा विद्यार्थी संगठन लाग्न सकिरहेका थिएनन् । अब, स्ववियु निर्वाचनपछि विद्यार्थी संगठनहरुलाई जिम्मेवार रुपमा काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

समग्र शिक्षा क्षेत्रमा समस्याको चाङ छ । औपचारिकताका लागि मात्रै अध्ययन गर्ने परिपाटी रहेसम्म समस्याहरु समाधान हुने छैनन् । जबसम्म हरेक विद्यार्थी अध्ययनपछि स्वरोजगार बन्न सक्दैनन् तबसम्म शिक्षा क्षेत्रको समस्या समाधान हुन सक्दैन । विद्यार्थीहरुलाई अहिले प्राविधिक शिक्षाको खाँचो छ । घाकन्ते विद्याले विद्यार्थीको जीवन चलाउन निकै कठिन छ । संसारभरका विद्यार्थीहरु हरेक हिसावले धेरै अघि बढि सके । यहाँका विद्यार्थीहरु अध्ययन सकेर काम खोज्न हिड्नुपर्ने बाध्यता छ । कतिपय काम खोज्न नसकेर र राम्रो आम्दानी हुने काम नपाएर वैदेशिक रोजगारीमा जान पनि बाध्य छन् ।

खासगरी अहिले शैक्षिक संस्थाहरुमा अनुशासनको कमि छ । विद्यार्थीहरुको शिक्षक, कर्मचारीलाई मानसम्मान गरिरहेका हुदैनन् । शिक्षक, कर्मचारीमा पनि उत्तिकै कमजोरीहरु छन् । अर्थात, दुवै पक्षमा अनुशासनको खाँचो देखिन्छ । शैक्षिक संस्थाहरुमा विद्यार्थीको उचित नेतृत्व नहुँदा यस प्रकारका समस्याहरु बढिरहेका छन् । शैक्षिक संस्थामा प्राथमिक उपचारदेखि स्वच्छ खानेपानीको व्यवस्थापनमा स्ववियुको भूमिका हुन्छ । गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षासँगै शैक्षिक वातावरण निर्माण गर्ने सवालमा स्ववियुको भूमिका हुन्छ । अहिलेका अधिकांश युवा नेताहरुको उदय स्ववियुबाटै भएको हो । राजनीति जीवनको मुख्य आधार मानिने स्ववियुलाई आम विद्यार्थीहरुको पक्षमा काम गर्ने बनाउन आवश्यक छ । विद्यार्थीका तमाम दुखलाई अन्त्य गर्न स्ववियु जिम्मेवार ढंगबाट प्रस्तुत हुन सकोस् ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]