बैशाख २०, २०८१ बिहीबार

काँचुली फेर्दै बलभद्र मावि

मेचीनगर । झापाको मेचीनगर –११ मा रहेको बलभद्र मावि प्रविधिमैत्री बन्दै गइरहेको छ । केही समय अगाडिसम्म जीर्ण अवस्थामा रहेको विद्यालयले यसै शैक्षिक सत्रबाट काँचुली फरेको हो ।

सानो विद्यालय भवनमा पठनपाठन गराउँदै आएको विद्यालयले यसै शैक्षिक सत्रबाट सुविधा सम्पन्न नयाँ भवन निर्माण गरेको छ । वि.सं. २०१७ सालमा स्थापना भएको बलभद्र माध्यमिक विद्यालय हाल प्रविधिमैत्री शिक्षामा अगाडि बढिरहेको छ ।

विद्यायको पुरानो भवन जीर्ण भएपछि २०६९ सालमा सुविधा सम्पन्न भवन निर्माणको काम सुरु भएको थियो । भारतीय राजदुताबासको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको सभा हलसहित २२ कोठे उक्त भवन १५ महिनामा काम सक्ने गरी तुलसी भक्त निर्माण सेवा कम्पनीले २ करोड ६४ लाखमा ठेक्का लिएको थियो । ३ करोड ६४ लाख बजेट भएपनि ठेकेदार कम्पनीले १ करोड कममा ठेक्का लिएपछि घाटा हुने देखेर ठेकेदारले समयमा काम गर्न सकेन । पटक–पटक जिल्ला प्रशासन कार्यलय, ठेकेदार र विद्यालय व्यवस्थापन समितिबीच छलफल भएपछि १० वर्षपछि कामले लगभग पूर्णता पाएको छ ।

समयमा काम नसक्दा विद्यार्थीको पठनपाठन समेत प्रभावित हुँदै आएको थियो । १५ महिनामा सक्ने काम १० वर्षमा पनि पूर्ण भएको छैन । विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद सुवेदी भन्छन्, ‘ठेकेदार कम्पनीले गर्नुपर्ने केही कामहरु बाँकी छन् । यद्यपि हामीले यसै शैक्षिक सत्रबाट नयाँ भवनमा पठनपाठन सुरु गरेका छौँ ।’ सम्झौतामा उल्लेख भएका काममध्ये तटबन्धन खानेपानी र शौचालयको काम पुरा हुन नसकेको उनको भनाई छ ।

विद्यालयले हाल ३ वटा स्मार्ट बोर्ड प्रयोगमा ल्याएको छ । कक्षा ११ र १२ का विद्यार्थीले प्रविधियुक्त बोर्डबाटै अध्ययन गरिरहेका छन् । यसैगरी कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षण सिकाई स्मार्टबोडको माध्यमबाटै पठनपाठन गराउँदै आएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत २०७७-७८ मा नगरबाट ६ लाख ५० हजार, त्यसैगरी प्रदेश सरकारबाट समेत शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत ६ लाख ५० हजार विद्यालयले प्राप्त गरेको थियो । सोही रकमले विद्यालयले स्मार्टबोर्ड १२ वटा कम्यूटर इन्भर्टरलगायतका सामग्री खरिद गरेर प्रयोगमा ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयलाई प्रविधिमैत्री तथा नमूना विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ विद्यालय प्रशासन, शिक्षक, शिक्षक अभिभावक संघ र व्यवस्थापन समितिले सहकार्य गरेर अघि बढिरहेको विद्यालयका शिक्षक होमराज ढकालले बताए । विद्यालयमा आवश्यक पर्ने पुस्तकको अभाव हुन नदिन ६ लाख ५० हजारको विभिन्न पुस्तक सहित पुस्तकालय स्थापन गरेको छ ।

पुस्तकालयको लागि संघीय सांसद विकास कोषबाट पूर्व सांसद राम कार्कीबाट ६ लाख ५० हजार प्राप्त भएको उनले बताए । पुस्तकालयमा विद्यार्थीको लागि आवश्यक पुस्तक तथा अन्य बिभिन्न पुस्तक राखिएको छ । विद्यालयमा स्थानीय सहयोगी दाताहरुले समेत सहयोग गरिरहेको शिक्षक ढकालले बताए ।

विद्यालयमा ८ वटा सीसी क्यामेरा जडान गरिएको छ । उक्त सीसी क्यामेरा स्थानीय समाजसेवी देवेन्द्र थेवे र शिक्षक मञ्जु थेवेले प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयको मुलगेटमा समाजसेवी राजन चिमरिया र योगेन्द्र चिमरियाले डिस्प्ले बोर्ड राखिदिएका छन् भने साना नानीहरुका लागि स्थानीय दाताराम सेडाइँले स्मार्ट टेलिभिजन उपलब्ध गराएको विद्यालयले जनाएको छ । दाताहरुको सहयोगबाट बलभद्र माविले शैक्षिक सिकाईमा प्रगति गरिरहेको अभिभावकहरु बताउँछन् ।

हाल विद्यालयमा सुविधा सम्पन्न भवन, कम्यूटर शिक्षा, स्मार्टबोर्डको प्रयोग र पुस्तकालयको पनि उचित व्यवस्थापन गरएको छ ।

प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]