‘सतार’को साटो ‘सन्थाल’ शब्द लेख्ने पालिका उप्रमुखहरुको निर्णय
झापा । झापाका पन्धै्र पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको बैठकले आदिवासी सन्थाल समुदायलाई होच्याउने अपमानजनक ‘सतार’ शब्द अबदेखि कुनै पनि कागजातमा नलेख्ने निर्णय गरेको छ ।
मेचीनगर नगरपालिकाको सभाहलमा आज झापाका उपप्रमुख तथा उपाध्यक्षहरुको जिल्ला समन्वय समितिको संयुक्त बैठक भएको थियो ।
सीमान्तकृत तथा आदिवासी सन्थाल समुदायको पहिचान र आत्मसम्मानको कदर गर्दै यसअघि लेखिँदै आएको सतार शब्दको साटो सन्थाल शब्द प्रयोग गर्ने निर्णय गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।
झापामा सघन बसोबास गर्दै आएका सन्थाल समुदायले सतार शब्दको प्रयोग नगरिदिन आग्रह गर्दै सडक आन्दोलनसमेत सञ्चालन गर्दै आएका छन् ।
सन्थाल समुदायले नेपाली शब्दकोश, पाठ्यपुस्तक, सरकारी कामकाज र सञ्चारमाध्यममा कतै पनि आत्मसम्मानमा ठेस पुग्ने सतार शब्द प्रयोग नगरिदिन आग्रह गर्दै आएको थियो । बैठकले ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र उनीहरुको नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनभयो ।
सन्थाल समुदायको हरेक प्रमाणपत्र तथा दस्ताबेजमा नामको पछाडि वास्तविक थरहरू उल्लेख गर्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सहमत हुनुभएको छ । सन्थाल समुदायका हस्दा, मुर्मु, टुडु, सोरेन लगायत १२ वटा थर हुन्छन् ।
बैठकले झापाका सबै पालिकामा विषादीयुक्त सागसब्जी र आयातीत माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गर्ने निर्णय गरेको छ । उक्त कार्यका लागि खाद्य क्वारेन्टिन र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई समन्वय तथा कार्यान्वयनका लागि बैठकले आग्रहसमेत गरेको छ ।
पालिकाहरुबीच सिकाइ आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समिति गठन गरिएको छ । सञ्जालको बैठक हरेक दुई महिनामा बस्छ ।
पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती सर्वसम्मत रुपमा चयन हुनुभएको थियो । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
बैठकले आगामी दुई महिनाका लागि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई संयोजकमा सर्वसम्मत चयन गरेको छ ।