बैशाख १९, २०८१ बुधबार

एमालेबाट पर्याप्त अवसर पाइसकेपछि एसतिर लागे गिरी

बिर्तामोड । पार्टीको निर्णय विरुद्ध मंसिर ४ को निर्वाचनमा उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेका डम्बर बहादुर गिरी अन्ततः नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनले माओवादी कांग्रेसमा जान नसक्ने भएकाले समाजवादी प्रवेश गरेको स्पष्ट पारे । एमालेकै पुराना धेरै साथीहरु समाजवादीमा रहेकोले आफु पनि त्यहि लागेको बताए ।

एमालेले मंसिर ४ को निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग गरेको थियो । सो निर्णय बेठिक भएको भन्दै गिरीले त्यसका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । कारबाहीमा परेपनि आफु एमालेभन्दा बाहिर नगएको स्पष्टिकरण दिदैं आएका गिरीले नेकपा समाजवादीको बाटो रोजेका छन् । समाजवादीले के जिम्मेवारी दिने भन्ने स्पष्ट भइसकेको छैन ।

एमालेले झापा ३ को मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कमजोर बनाउन राप्रपालाई सहयोग गरेको थियो । एमालेको आन्तरिक योजना बुझ्दाबुझ्दै गिरीले उम्मेदवारी दिएपछि उनी आफै कारबाहीमा परे ।
नेकपा एमालेले गिरीलाई स्थानीय तहको पहिलो निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा विजयी भएका उनलाई नै पार्टीले दोस्रो निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । अध्यक्षमा गिरी पराजित भए ।

हल्दिवारी गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि गिरीले एमालेप्रति इमान्दारिता समेत नदेखाएको नेताहरुको आरोप छ । क्रमशः एमाले विरुद्ध गतिविधिमा समेत सक्रिय भएपछि उनलाई कारबाही गरिएको थियो । गिरीले कारबाही भएको पत्र अहिलेसम्म नपाएको बताएका छन् ।

गिरीले भने, कांग्रेसमा जान सकिन्न । माओवादीमा जाने कुरै भएन । आफ्नै साथीहरु भएको ठाउँ समाजवादी तिर लागे । पार्टीले जिम्मेवारी दिने सवालमा सोधीखोजी नगरेपछि यत्तिकै बस्न सकिन । सक्रिय राजनीति गरिरहेको मान्छेलाई जिम्मेवारी विहीन भएर बस्न गाह्रो हुने रहेछ ।

०६३÷६४ तिर एमालेको सदस्यता लिएका गिरीले छोटो अवधिमा पर्याप्त अवसर पाए । हल्दिवारीमा लामो समय पार्टी जीवनमा काम गरेका सदस्यहरुले नपाएको अवसर गिरीले छोटो समयमा पाएको चर्चा हुने गरेको छ । गिरीले युवा संघको क्षेत्रीय अध्यक्ष, साविक जलथलको दुई कार्यकाल पार्टी अध्यक्ष , पार्टीको क्षेत्रीय कमिटीको उपसचिव एक कार्यकाल, १ कार्यकाल अध्यक्ष, युवा संघ झापाको अध्यक्ष, एमाले झापाको जिल्ला सदस्य, सचिवालय सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनलाई एमालेले नै हल्दिवारीको उपाध्यक्ष जस्तो गरिमामय ठाउँमा बसेर काम गर्ने अवसर दियो । अध्यक्षका लागि उनैलाई उम्मेदवार समेत बनायो । उनले मंसिर ४ को निर्वाचनमा सुर्यमुखी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । सुर्यमुखीमा उनले जम्मा ७ सय मत पाएका थिए । एमालेको निर्णय विरुद्ध उभिदा उनले लामो योगदान गरेको पार्टीबाटै कारबाहीमा पर्नुपर्यो ।

एमालेको उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको होइन, गिरी भन्छन् – मैले राप्रपाको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएको थिए । आफ्नै पार्टीको उम्मेदवार विरुद्ध नलागेको मान्छेलाई कारबाही गर्न मिल्छ ? उनले थपे ।

प्रकाशित मिति : चैत्र १४, २०७९ मंगलबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]