जेष्ठ ६, २०८१ आईतबार

‘१५ रुपैयाँले विद्यार्थीलाई पौष्टिक खाजा पुग्दैन’

गगन ढकाल

झापा । सामुदायिक विद्यालयमा बालबिकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । सरकारले दैनिक खाजाको रुपमा विद्यालयहरुलाई विद्यार्थी संख्याका आधारमा जनही दैनिक १५ रुपैयाँ दिने गरेको छ ।

झापाका केही प्रधानाध्यापकहरुले दिवा खाजाको नीति राम्रो भएको तर त्यसको निम्ति छुट्याइएको रकम सान्दर्भिक नभएको बताएका छन् ।

मेचीनगरस्थित धुलाबारी माविका प्रधानाध्यापक महेन्द्र विलास लुइँटेल एक कप चिया नआउने रकममा विद्यार्थीहरुलाई खाजा खुवाउन गाह्रो भएको बताउँछन् । उनी भन्छन्, ‘सरकारले तोकेको पौष्टिक मात्राको परिणाम पु¥याएर खाजा खुवाउन सकिदैन । हामी विद्यालयको स्रोतबाट रकम थपेर खाजा खुवाइरहेका छौँ ।’, उनी भन्छन्, ‘अहिलेको बजार भाउ अनुसार खाजा खुवाउन कम्तीमा पनि २५ रुपैयाँ आवश्यक हुन्छ ।’

प्रधानाध्यापक लुइँटेलले दिवा खाजाले विद्यालय आउने विद्यार्थीको दरमा वृद्धि भएकोे बताएका छन् । उनी भन्छन्, ‘पहिले कति विद्यार्थीहरु भोकै आउने र कक्षामा लल्याकलुलुक हुने समस्या थियो । यो समस्या हल भएको छ । यो राम्रो कार्यक्रम हो । तर, यो कार्यक्रममा राज्यले गरेको लगानी भने अपर्याप्त छ । राज्यले लगानी बढाउनु पर्छ । कम्तीमा पनि २० रुपैयाँभन्दा धेरै बनाउनु पर्छ ।’

बिर्तामोडस्थित देवि माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले राज्यले विद्यार्थीहरुलाई पौष्टिक खाजा खुवाउन ल्याएको नीति राम्रो भएको बताइन् । बजेट भने पर्याप्त नभएको उनको भनाई छ । उनी भन्छिन्, ‘१५ रुपैयाँमा पौष्टिक खाजा खुवाउन सकिदैन । अहिले पनि विद्यार्थीहरुले पर्याप्त रुपमा पौष्टिक खाजा खान पाएका छैनन् ।’, उनी भन्छिन्, ‘विद्यार्थीहरुलाई पौष्टिक खाजा खुवाउने हो भने यो बजेट बढ्नुपर्छ ।’

सामुदायिक विद्यालयमा प्रायः गरीब, विपन्न परिवारका विद्यार्थीहरु आउँछन् । उनीहरुलाई पौष्टिक खाजा खुवाउन ल्याइएको यो कार्यक्रमको व्यवस्थापन विद्यालयले गर्न गाह्रो भएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले राज्यसँग स्थानीय पालिकाले यसको समन्वय गर्ने गरीको नीति बनाइदिन माग गरेकी छन् । उनी भन्छिन्, ‘यसको रकम प्रति विद्यार्थी २५ रुपैयाँसम्म पुग्नैपर्छ । यदि राज्यले त्यति पनि सक्दैन भने २० चाहीँ पुग्नैपर्छ । यो रकम बढ्नै पर्छ ।’

यसैगरी बिर्तामोडको मोहनमाया माविका प्रधानाध्यापक शेर बहादुर श्रेष्ठ दिवा खाजाको निम्ति छुट्टिएको रकम वैज्ञानिक नभएको बताउँछन् । उनी भन्छन्, ‘बालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई १५ रुपैयाँको खाजाले पुग्छ । तर, कक्षा ४, ५ र ६ का विद्यार्थीलाई पुग्दैन । उमेर अनुसार पौष्टिक मात्राको परिणाम पनि वृद्धि हुन्छ ।’, उनी भन्छन्, ‘यो रकमले क्यान्टिनबाट खाजा लिएर खुवाउने हो भने असम्भव छ । तर, हामी शिक्षक कर्मचारी आफैंले खाजा बनाएर विद्यार्थीहरुलाई खुवाउने भएकाले केही हदसम्म पुगिरहेको छ । यद्दपी यो पर्याप्त भने छैन । यो रकम कम्तीमा पनि २० देखि २५ रुपैयाँसम्म हुनुपर्ने देखिन्छ ।’

बालकक्षा र कक्षा ६ का विद्यार्थीलाई एकै रकमबाट खाजा खुवाउने नीति असम्भव छ । यो रकम कक्षा बढेसँगै वृद्धि हुनुपर्ने प्रधानाध्यापक श्रेष्ठले माग गरेका छन् ।

प्रति विद्यार्थी १५ रुपैयाँको खाजा प्रर्याप्त नहुने मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । उनले यो रकम पर्याप्त नभएको बताए । आउँदो आर्थिक वर्षमा यो रकम वृद्धि गर्ने गरी योजना नगर सभामा लानेछौँ । यस्तो सानो आधारभुत कुराहरु समेटेर आउँदो बजेट निर्माण गर्ने हाम्रो योजना छ ।’, उनी भन्छन्, ‘बजेटको आकार सानो भएकाले हामीले सबै कुरालाई समेट्न सकिरहेका छैनौं । तर, अब बन्ने मेचीनगरको बजेट शिक्षा र विद्यार्थीप्रति केन्द्रित भएर बनाउछौं ।’

 

प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]