जेष्ठ ५, २०८१ शनिबार

बाहुण्डाँगीमा हात्तीसँगै बाच्न ‘हात्तीमैत्री कृषि’

गगन ढकाल
बाहुण्डाँगी । मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ साविकको बाहुण्डाँगी गाउँ बिकास समितिको भूभाग हो । देशमै हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा तीन दशकको लामो मानव र हात्ती बीचको द्वन्द्व छ ।

हात्तीले यहाँको मानिसहरुलाई त्राही त्राहीको अवस्थामा पु¥याएको छ । यसै गरी यहाँका मानिसहरुले पनि हात्तीमाथि गरेको आक्रमणको थुप्रै कथाहरु छन् ।

बाहुण्डाँगीमा २०३४ सालमा योसदा विकलाई हात्तीले मारेपछि यस क्षेत्रमा मानिस र हात्तीको सम्बन्ध कहिल्यै सुध्रन सकेको छैन । यहाँका मानिसले थुप्रै हात्तीलाई लडाए, ढुङ्गाले हाने, आगोले हाने, भालाले घोच्ने खालका कामहरु गरे । हात्तीले पनि अझ आक्रम हुँदै धनजनमा थप क्षति पु¥याइरह्यो । बाहुण्डाँगीका किसानले हात्तीबाट बाली जोगाउन हात्तीलाई दुःख दिएका छन् भने हात्तीले आफ्नो पेट भर्न किसानलाई दुःख दिइरहेको छ ।

लामो समय मानिस र हात्तीको द्वन्द्वबाट यहाँको समस्या सुल्झिनुको साटो झन् भन्दा झन् बिकराल बन्दै गइरहेको छ । मेची नदीको किनारमा लगाएको इलेक्ट्रिक फेन्सिङले अब हात्तीलाई बाहुण्डाँगी पस्नबाट रोक्न सक्दैन । फेन्सिङको क्षमतामा ह्रास आउनु यसको एउटा कारण हो भने हात्ती प्राविधिक भएर करेन्ट नलाग्ने गरी तार नाँघनु अर्को कारण हो ।

लामो समय हात्तीसँग भिडेर यसै ठाउँमा आफ्नो जीवन व्यतित गरेका मेचीनगर ४ का केही ‘बा’ उमेर समुहका मानिसहरु हाल हात्तीमैत्री किसान समूह बनाएर हात्तीसँगको सहअस्तित्व निर्माण गर्न अग्रसर भएका छन् ।

उनीहरुले स्थानीय लक्ष्मी अधिकारीको अढाई बिघा जमिन भाडामा लिएर तरकारी खेती गर्न सुरु गरेका छन् । उक्त जग्गा उनीहरुले वार्षिक ३५ हजारका दरले १० वर्षको लागि लिएको हात्ती मैत्री किसान समूहका अध्यक्ष देविप्रसाद आचार्यले जानकारी दिए ।

किसानहरुले अढाई बिघा जमिनको बाउन्ड्रि बनाउने उद्देश्यले वरिपरी विभिन्न जातका घर तरुल रोपेका छन् । यसै गरी बारीमा भिण्डी, टमाटर, आलु, घिरौला, बोडी, फर्सी, लौका लगाएका छन् । पानी पर्याप्त भएको एक छेउमा सिमरायोको साग पनि लगाएका छन् ।

हाल सामान्य बेरा गरेर तरकारी लगाएका उनीहरु हात्तीले सखाप पारिदेला कि भन्ने चिन्तामा छैनन् । उनीहरुले चाँडै बाली बीमा गर्ने योजना बनाएका छन् । किसान धनपति गौतम भन्छन्, ‘हात्तीसँग भिडेर पार लाग्दैन खाए खाओस् हामी बाली बीमा गर्छौ । यो खेती हात्तीलाई बचाउँदै हामी पनि बाच्नको निम्ति गरिएको हो ।’, उनी भन्छन्, ‘हात्तीबाट बाली जोगाउन हात्तीले नखाने बाली पनि लगाउने योजना गरेका छौँ । हात्तीले नखाने बालीमध्ये कोदो, तोरी, रहरी दाल, अधुवा, बेसार र पिडालु लगाउने योजना छ ।’

साथै वडाले पनि क्षति बराबरको राहत दिने आश्वसन दिएको किसानहरुले बताएका छन् । उनीहरु भन्छन्, ‘उत्पादित बस्तु हात्तीले नष्ट गरे वडाध्यक्षले क्षतिपुर्ती दिने आश्वसन दिनुभएको छ । साथै बजारीकरणमा पनि सहयोग गर्छु उत्पादन गर्नुहोस् भन्नु भएको छ ।’

यस किसान समुहमा ५० वर्ष नाघेका २६ जना सदस्यहरु रहेका छन् । उनीहरु मध्ये १६ जनाले जनही पाँच हजारका दरले उठाएर तरकारी खेती गरेका हुन् । सामूहिक सब्जीखेती गर्न वडाले यस समुहलाई डेढ लाख रुपैयाँ प्रदान गर्ने वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले बताएका छन् । सदस्य बराइली भन्छन्, ‘किसानहरुलाई हौसला दिन र स्थानीय उत्पादन बढाउन हामीले वडाबाट डेढ लाख रुपैयाँ दिने निर्णय गरेका हौं ।’

यसै गरी वडा नम्बर ४ का अध्यक्ष अर्जुन कुमार कार्की किसानहरुलाई बजारीकरणको समस्या नहुने बताउँछन् । उनी भन्छन्, ‘विषादी नहाली अर्गानिक मलको प्रयोग गरेर तयार गरिएको तरकारीलाई बजारीकरणको समस्या छैन । यदी समस्या भई हाले त्यसको जिम्मा वडाले लिनेछ ।’, उनी भन्छन्, ‘मेचीनगर नगरपालिका कार्यपालिकाको हालै बसेको बैठकले हात्ती प्रभावित क्षेत्रको किसानको बाली बीमा गरिदिने निर्णय गरेको छ । हाम्रो वडाका सम्पूर्ण किसानहरुलाई बारी बाँझो नराख्न म अनुरोध गर्दछु ।’

मेचीनगर ४ मा वडाले किसानहरुको समस्यालाई मध्यनजर गर्दै ‘किसानको हात वडाको साथ’ कार्यक्रम तर्जुमा गरेको छ । यस कार्यक्रमले किसानहरुलाई बिउ उपलब्ध गराउनेदेखि हात्तीले क्षति गरेमा राहतसम्म दिने गर्दछ ।

वडाध्यक्ष कार्की हात्तीसँगको सहअस्तित्व निर्माण गरेर बाहुण्डाँगीमा पर्यटन भित्र्याउने योजनामा रहेका छन् । उनी भन्छन्, ‘हात्ती र हामी बीच लामो संघर्ष भयो, न हात्तीले यो ठाउँ छोड्न सक्यो न त हामीले । अब हामी दुबै मिलेर बाच्नुको बिकल्प छैन । अब हामी बाहुण्डाँगीलाई हात्ती प्रभावित होइन हात्तीमैत्री क्षेत्र बनाउन चाहन्छौं ।’

 

प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]