बैशाख २५, २०८१ मंगलबार

बुद्धशान्तिको लक्ष्य : गुणस्तरीय शिक्षा, नमूना विद्यालय

जिल्लामा तरकारी खेतीको लागि प्रख्यात मानिएको बुुद्धशान्ति गाउँपालिका शिक्षा क्षेत्रमा उत्तिकै चर्चामा छ । शिक्षा क्षेत्रको विकासका निमित्त गरिरहेको योगदानले बुद्धशान्ति चर्चामा आएको हो । गुणस्तरीय शिक्षालाई प्रमुख प्राथमिकिकरणमा राखेर काम गरिरहेको बुद्धशान्तिले शैक्षिक उपलब्धिको आफ्नो मुख्य ध्येय बनाएर काम गरिरहेको छ । शिक्षाको ठुलो बजेट गुणस्तर निर्माणमा लगानी गर्नुले बुद्धशान्तिले बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर काम गरेको पाइन्छ ।

बुुद्धशान्ति गाउँपालिकामा हाल १६ वटा सामुदायिक विद्यालय, १७ वटा संस्थागत विद्यालय, एउटा धार्मिक विद्यालय, २ वटा सामुदायिक सिकाई केन्द्र र एउटा क्याम्पस गरेर कुल ३७ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको छ ।

हाल पालिकाभित्रका विद्यालयहरु सञ्चालन गर्ने सम्पूर्ण कामहरु पालिकाले नै गर्न सुरु गरेको छ । हाल पालिका भित्रका शिक्षक व्यवस्थानदेखि लक्ष्य निर्माण गर्नेसम्मको काम पालिकास्थर बाटै हुन सुरु भएको छ । समग्र शिक्षा क्षेत्रमा ०७४ अघि र पछिमा तुलना गर्दा सबै स्थानीय सरकारहरुले आफ्ना पालिकाको शिक्षा क्षेत्रका सबै बालबालिकाहरुलाई प्रदान गर्ने शिक्षा गुणस्तरीय होस् र बालबालिकाले उच्चतम सिकाई उपलब्धि हासिल गर्न सकुन् भन्ने अभिप्राय राखेको छ । साथै, गाउँपालिका विद्यालय भन्दा पनि बालबालिका केन्द्रित भएर अगाडि बढिरहेका छ । र, सोही अनुसार थप योजनाहरु पनि बनाईरहेको छ ।

बुुद्धशान्ति गाउँपालिकाले शिक्षाको क्षेत्रको काम गर्दा सबैभन्दा पहिले विद्यालयहरुमा शिक्षकको व्यवस्थापर्न पूरा गर्ने काम गरेको देखिन्छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यमको शिक्षक उपलब्ध गराउन वार्षिक दुई लाख रुपैयाँ विनियोजन गर्ने गरेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् । यसका अतिरिक्त बुुद्धशान्तिभित्र ६ देखि ८ सम्म मात्र सञ्चालन भइरहेका चार वटा विद्यालयहरुमा विज्ञान शिक्षकको अभाव रहेको थियो । पालिकाले ति चारै वटा विद्यालयहरुमा विज्ञान शिक्षकको व्यवस्थापन गरिसकेको छ ।

हाल बुुद्धशान्तिले शिक्षा क्षेत्रको गुणस्तर सुधारको निम्ति काम गरिरहेको छ । बुुद्धशान्तिका विद्यालयहरुमा अधिकतम मात्रामा शैक्षिक सामग्रीहरुको प्रयोग हुने भएकाले विद्यालयहरुलाई उक्त सामग्री पालिका आफैले उपलब्ध गराउने गरेको छ । पालिकाले सबै विद्यालयहरुमा विज्ञान र गणितका शैक्षिक सामाग्रीहरु वितरणलाई प्राथमिकतामा राखेको छ । यसैगरी अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न खेल सामाग्रीहरुको पनि वितरण गर्ने गरेको छ ।

बुद्धशान्तिले आफ्नो शिक्षा सम्बन्धि सम्पूर्ण काम पालिका स्वयमले बनाएको शिक्षा ऐन मार्फत गर्दछ । पालिकाले शिक्षा क्षेत्रको सम्पूर्ण व्यवस्थापनको काम सोही ऐन अन्र्तगत रहेर गर्ने गरेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् । बुद्धशान्तिले आफ्नो शिक्षा ऐनमा गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा ‘गाउँ शिक्षा समिति’को परिकल्पना गरेको छ । यसै समितिले शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण आवश्यक निर्णयहरु गर्ने गर्दछ । यस सिमितिले विद्यालयहरुलाई सुधारका निम्ति सुझाव दिने, अनुगमन गर्ने र योेजनाहरु बनाउने लगायतको काम गर्दछ ।

बुद्धशान्तिले आउँदो शैक्षिक वर्षको निम्ति शैक्षिक क्यालेण्डर बनाउने निर्णय गरेको छ । सो क्यालेण्डरले शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्दछ । कुन काम कहिले गर्ने ? अतिरिक्त क्रियाकलाप कहिले गर्ने ? परीक्षाहरु कहिले गर्ने ? हरेक महिने के–के गतिविधि गर्ने ? कति पाठ पढाउने ? सम्मको जानकारी हुने गरी क्यालेण्डर निर्माण भइरहेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् । उनी भन्छन्, ‘शिक्षामा गुणस्तर बढाउनको निम्ति सबै विद्यालयहरुमा विषयगत शिक्षकहरुलाई विषय गत योजना तयार गर्न लगाउने र सोही अनुसार काम गर्ने गृहकार्य भइरहेको छ ।’

कुनै पनि क्षेत्रको बिकासको निम्ति सम्बन्धित क्षेत्रको आवधिक योजना र लक्ष्य हुन जरुरी छ । बुद्धशान्तिसँग शिक्षा क्षेत्रको बिकासको निम्ति कुनै पनि किसिमको आवधिक योजना नभएको कारण यहाँ सोचे अनुरुप प्रगति भने भएको छैन । शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौला गाउँपालिकाको शिक्षा क्षेत्रमा आवधिक योजना बनिरहेको र सो काम अन्तिम चरणमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘आउँदो शैक्षिक सत्रबाटै लागू हुने गरी आवधिक योजना तयार हुँदैछ । जसले शिक्षा क्षेत्रको बिकासको निम्ति थप मार्ग दर्शन गर्नेछ ।’

बुद्धशान्तिमा शिक्षा क्षेत्रमा दुई करोड ३५ लाख २० हजार बजेट रहेको तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्ने हो भने बुद्धशान्तिको शिक्षा क्षेत्रमा मुख्य प्राथमिकता शैक्षिक गुणस्तरमा देखिएको छ । शिक्षा क्षेत्रको कुल रकममध्ये रुपैयाँ शिक्षकहरुको तालिमको, नमूना कक्षा निर्माणको लागि, स्थानीय पाठ्य पुस्तक बिकासका निम्ति, विषयगत शिक्षा प्रबद्र्धनका लागि जस्ता विविध विषयमा विनियोजन गरिएको छ । ६१ लाख ७० हजार रुपैयाँ शिक्षामा गुणस्तर निर्माणको उद्देश्य बोकेका कार्यक्रमहरुमा मात्र लगानी गरिएको छ । बुद्धशान्तीले वार्षिक ३२ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्कले देखाएको छ ।

बुद्धशान्तीको शिक्षाको बजेट हेर्दा विद्यार्थीहरुलाई अतिरिक्त प्रतिभालाई पनि प्रोत्साहन गरएको पाइन्छ । पालिका आफैले विद्यार्थीहरुलाई लागु औषध दुब्र्यसन रोकथाम सम्बन्धि अभिमुखीकरण तालिम पनि सञ्चालन गरेको देखिन्छ । बुद्धशान्तिले विद्यार्थीहरुलाई पढाउने मात्रै भन्दा पनि सम्पूर्ण तरिकाले सक्षम र सबल नागरिक उत्पादनमा जोड दिएको देखिन्छ । सामुदायिक विद्यालयको नतिजा बढाउँदै समाजप्रति उत्तरदायी नागरिक उत्पादन गर्नु बुद्धशान्तिको शिक्षा शाखाको मुख्य उद्देश्य रहेको उसको बजेट विनियोजन र कार्यक्रमहरुले बुझाएको छ ।

शिक्षालाई गुणस्तरीय बनाउनका निम्ति शिक्षक र विद्यार्थी दुवैलाई प्रोत्साहन गर्ने कार्यक्रम बुद्धशान्तिले तर्जुमा गरेको छ । बुद्धशान्तिले हरेका वर्ष व्यापक रुपमा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्ने गरेको छ ।

बुद्धशान्तीले सानैबाट विद्यार्थीहरुलाई सामुदायिक विदालयमा आकर्षण गर्न पूर्वप्राथमिक कक्षाका बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्थापन गरेको छ । यसैगरी सबै कक्षाका वार्षिक परीक्षा पालिका आफैंले गर्नुले बुद्धशान्तिीको शिक्षा क्षेत्रमा पृथकता थपेको छ । विद्यार्थीहरुलाई उच्चतम रुपमा शैक्षिक उपलब्धि हासिल गराउन बुद्धशान्तिको मुख्य लक्ष्य रहेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् ।

बुद्धशान्तिमा विद्यालयहरुको भौतिकपूर्वाधारको अवस्था सन्तोषजनक नै रहेको छ । विद्यालयहरुमा सफा शौचालय र स्वास्थ्य पानीको व्यवस्थापन गरिएको छ । बुद्धशान्तिका तीन वटा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई आवतजावत गर्न बसको सेवा पनि उपलब्ध छ । नवकिरण आधारभूत विद्यालय, त्रिभुवन मावि र सरस्वती आधारभूत विद्यालय बस भएको तीन वटा सामुदायिक विद्यालयहरु हुन् ।

०७४ सालअघि र पछिको तुलना गर्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको देखिएको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् । उनी भन्छन्, ‘हाल सबै सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यमको पढाई हुन्छ । त्यसैले गर्दा विद्यार्थीको चाँप एकदमै धेरै छ । केही विद्यालयहरुमा विद्यार्थीको चाँप थेग्न नसकेर कठिन भएको छ ।’, उनी भन्छन्, ‘सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढेको छ । जसले गर्दा अविभावकहरुको विश्वास जित्न सकिएको हो ।’

बुद्धशान्तीले विद्यार्थीलाई आकर्षण गर्नका निम्ति सबै विद्यालयहरुमा अङ्ग्रेजी माध्यमको पढाई सञ्चालन गरेको छ । साथै, सामुदायिक विद्यालयका माध्यमिक तहका छात्रा विद्यार्थीहरुलाई साइकल तिरण गर्ने र सुमुदायिक विद्यालय उत्प्रेरणा सबलीकरणको कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

बुद्धशान्तिमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको उत्तरदायित्त्व बढेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताएका छन् । उनी भन्छन्, ‘शिक्षाको समग्र बिकासका निम्ति व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको विशेष भूमिका हुन्छ । उहाँहरुको सहयोग बिना सुधार सम्भव नै छैन । त्यसैले पनि उहाँहरुको उत्तरदायित्व बढ्को छ । उहाँहरु सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ ।’

हाल शिक्षकहरु बढि नै उत्तरदायी भएको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले दावी गरेका छन् । उनी भन्छन्, ‘सबै शिक्षकहरु आफ्नो विषयमा धेरै नम्बर ल्याउन प्रयत्नरत हुनुहुन्छ । हाल शिक्षाप्रति सबै सरोकारवालाहरु उत्तरदायी हुनुहुन्छ ।’

शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले जनप्रतिनिहरु पनि शिक्षा क्षेत्रको सुधारप्रति सकरात्मक रहेको जानकारी दिएका छन् । उनले सबै जनप्रतिनिधिहरु आफ्नो वडाको विद्यालयलाई उत्कृष्ट र नमूना बनाउने गरी लागेको बताएका छन् । शिक्षा क्षेत्रमा लगानी गर्न बुद्धशान्तिका जनप्रतिनिहरु नहिचकिचाएको उनले पाएका छन् ।

शिक्षा शाखा प्रमुख निरौलाले शिक्षा क्षेत्रको सुधारका निम्ति केही सुझावहरु दिएका छन् । उनी भन्छन्, ‘शिक्षा क्षेत्रको सुधार गर्न सानो भिजनले सम्भव छैन । त्यसको लागि आवधिक योजना चाहिन्छ । सबै सरोकावालाहरुको चासो र मेहनत चाहिन्छ । साथै शिक्षालाई प्रविधि मैत्री बनाउन जरुर िरहेको छ । प्रविधिमैत्री नहुने हो भने युगको आवश्यकता अनुरुपको हुन सक्दैन ।’

‘विद्यार्थीको चाप थेग्न सकस ’

बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थित गोपालडाँडामा वि.सं. २०२४ सालमा स्थापना भएको सरस्वति आधारभूत विद्यालय ०७०/७१ साल तिर विद्यार्थी अभावको कारणले बन्द हुने अवस्थामा पुगेको थियो । उति बेला विद्यालयमा विद्यार्थी संख्या ३५ जना मात्र भएकाले विद्यालयलाई मर्ज गर्ने योजना तयार भएको थियो ।

 

विद्यालय मर्ज गर्न भनी बसेको स्थानीय सरोकारवालाहरुले एक पटक योजनाबद्ध तरिकाले विद्यालय सञ्चालन गरौं तब पनि सकिएन भने मात्र मर्ज गरौं भनेर सहमती गरेका विद्यालयका प्रधानाध्यापक लोक बहादुर माझी बताउँछन् । उनी भन्छन्, ‘विद्यालयलाई स्थानीय सरोकारवालाहरुले तत्काल बन्द गर्न मान्नु भएन । बरु अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरौं भन्नु भयो ।’ उनी भन्छन्, ‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको दुई वर्षमै विद्यार्थी संख्या वृद्धि भयो ।’

कुनै बेला विद्यार्थीको अभावमा बन्द हुन लागेको यस विद्यालयमा हाल ६०० वढी विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयमा भर्ना हुन भन्दा एक महिना अगाडि नै फारम भर्न पर्ने व्यवस्था रहेको छ । विद्यालयका भवनमा विद्यार्थीलाई थेग्न सक्ने अवस्था नै नभएको प्रधानाध्यापक माझी बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको चाँप थेग्नै गाह्रो छ । पोहोर पनि २०० जना विद्यार्थीलाई इन्ट्रास मार्फत भर्ना गराउन सकिएन । यो सालको पनि अवस्था उस्तै छ ।’

विद्यालयमा विद्यार्थीको चाँप थेग्न गाह्रो भएपछि हाल विद्यालयमा चार–चार कोठाका दुई वटा भवन निर्माण भइरहेका छन् । एउटा भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले एउटा भवन साथै जेएसपी संस्था जापान र घनश्याम स्मृति प्रष्ठिान भद्रपुरको सहयोगमा अर्को भवनको निर्माण भइरहेको छ ।

प्रधानाध्यापक माझीले पछिल्लो समयमा बुद्धशान्ति गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक बिकास र शैक्षिक गुणस्तर वृद्धिको विषयमा नयाँ पहल कदमी सुरु गरेको बताए । उनी भन्छन्, ‘हामीले पालिको सहयोग अनुभूती गर्ने गरी कामहरु भएका छन् । हाम्रो विद्यालयले पनि भौतिक साधनहरु पालिकाकै पहलमा प्राप्त गरेको हो ।’

विद्यालयको सफलताको कथा सुनाउँदै प्रधानाध्यापक माझी भन्छन्, ‘अभिभावकको चाहना बुझेर अङ्ग्रेजी माध्यमको पढाई सुरु गरेकै कारण विद्यार्थी बढेको हो । तर, सम्पूर्ण सरोकारवालाहरुको सहयोग बिना विद्यालय यो स्थानमा पुग्ने अवस्था थिएन ।’, उनी भन्छन्, ‘हामीले अभिभावकको भरोसा जित्न हाम्रो नानीहरु पनि यहीँ पढाउने गरेका छौँ । यहाँ कार्यरत शिक्षक कर्मचारीहरुको नानीहरुलाई अन्य विद्यालयमा नहाल्ने सल्लाह गरेका छौँ । अभिभावकले हामी प्रति गर्नु भएको विश्वास र हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मिहेनतले नै आज विद्यालय प्रगति पथमा लागेको हो ।’

सरस्वति आ.वि बुद्धशान्ती गाउँपालिकाकै पहिलो स्मार्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ । यस विद्यालयमा इ–पुस्तकालय, कम्प्युवटर ल्याब र विज्ञान प्रयोगशालाको उचित व्यवस्थापन रहेको छ । यो विद्यालय स्मार्ट हुनको साथ साथै बालमैत्री पनि छ । साना कक्षाका नानीहरुको निम्ति कक्षामै खेल्दै पढ्ने वातावरण तयार गरिएको छ ।

यस विद्यालयलाई जिल्लाकै नमुना विद्यालयको रुपमा बिककास गर्ने लक्ष्य रहेको प्रधानाध्यापक माझीले बताएका छन् । उनी भन्छन्, ‘हामी विद्यालयमा बाल उद्यान समेत बनाउने योजनामा छौँ । विद्यार्थीहरुलाई पढाईसँगै अन्य व्यवहारिक विषय पनि सिकाएर समाजको लागि तयार गर्ने हाम्रो उद्देश्य हो ।’

प्रधानाध्यापक माझीले गाउँपालिका शिक्षा क्षेत्रप्रति उत्तरदायी भएको बताउँदै शिक्षाको लक्ष्य निर्धारण गर्नमा पछि परेको बताएका छन् । उनले पालिकालाई चाँडो लक्ष्य निर्धारण गर्न आग्रह गर्दै विद्यालय शिक्षाको सुधार र शैक्षिक गुणस्तरको निम्ति बुद्धशान्ती गाउँपालिकाले सम्झौता नगरेको बताएका छन् ।

अहिले पनि सबै सामुदायिक विद्यालयमाथि अभिभावकहरुको भरोसा नभएको प्रधानाध्यापक माझीको भनाई छ । उनी भनछन्, ‘उहाँहरु सामुदायिक विद्यालयमा नानी पढाउनु भनेको बिगार्नु हो भन्ने ठान्नु हुन्छ । तर, हामीले भने धेरै मिहेनत गरेर अभिभावकको मन जित्न सफल भएकाले वर्षेनी सयौंको संख्यामा प्रवेश परीक्षा गराएर मात्र विद्यार्थी राख्न पर्नु अवस्था रहेको छ ।’

…..

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा रहेको बुद्ध आदर्श मा.वि नमुना विद्यालयको रुपमा बिकसित भइरहेको विद्यालय हो । यस विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी गाउँपालिकाले कामहरु गर्न खोजिरहेको तर पर्याप्त मात्रामा काम नगरिरहेको बताएका छन् ।

उनले समयको माग अनुसार प्रविधिमा अग्रसर हुनपर्ने तर, बुद्धशान्तिको शिक्षा क्षेत्रमा प्रविधिको बिकास सुस्त गतिमा रहेको बताएका छन् । उनी भन्छन्, ‘गाउँपालिकाको नारा नै शिक्षा र स्वास्थ्यमा प्राथमिकता भन्ने हो । यसलाई थप प्रबद्र्धन गर्न बालबिकास शिक्षकको व्यवस्था गरेको छ । आधारभुत तहका विद्यार्थीहरुलाई विज्ञान र गणित विषयको चार जना शिक्षकहरुको व्यवस्थापन गरेको छ । स्थानीय पाठ्यक्रम क्रमिक रुपले तयार पारिरहेको छ । साथै आवश्यकताका आधारमा शिक्षकहरुलाई पुर्नताजकी तालिमको व्यवस्थापन गरेको छ । प्रविधिमा अग्रसर हुँदैछ तर त्यो पर्याप्त छैन । निक्कै सुस्त छ ।’

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन विभिन्न किसिमको कार्यक्रमहरुको सञ्चालन गरिरहेको छ । जसले विद्यार्थीहरुमा प्रतिभाको बिकास गराइरहेको प्रधानाध्यापक भण्डारीको भनाई छ । साथै बुद्धशान्ति गाउँपालिकाले सामुदायिक र संस्थागत दुबै खाले विद्यालयहरुलाई सँगसँगै अगाडि बढाउन पहल गरिरहेको छ । समग्रमा पालिकाले पालिका भरीका सबै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पालिका अग्रसर भएको भण्डारीको भनाई छ ।

नमूना विद्यालयको रुपमा अगाडि बढिरहेको बुद्ध आदर्श माविमा गुणस्तरीय शिक्षाको निम्ति विद्यालयले तहगत इन्चार्जको व्यवस्थापन गरेको छ । यसैगरी विद्यालयले विषयगत समितिको पनि व्यवस्थापन गरेको छ ।

यस विद्यालयमा कक्षा १२ सम्म मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकायको पढाई हुन्छ । विद्यालयले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न विभिन्न किसिमका पुरस्कारहरुको व्यवस्था समेत गरेको छ । प्रस्तुति – गगन ढकाल

प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]