जेष्ठ ६, २०८१ आईतबार

अन्तरपालिका फुटबलमा शिवसताक्षीलाई उपाधि

बिर्तामोड । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि कब्जा गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन १६ औं मिनेटमा उमेश दनुवारले पहिलो गोल गरे । शिवसताक्षीका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा कविर योङहाङले गरेका थिए । उसका लागि तेस्रो गोल ४५ औं मिनेटमा श्रवण मल्लिकले गरे । शिवसताक्षीकालागि चौथो गोल खेलको ५८ औं मिनेटमा दिपक तामाङले गरे ।

पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता कायम गरेको मेचीनगरले दोस्रो हाफमा भने अग्रतालाई बचाई राख्न सकेन् । शिवसताक्षीले दोस्रो हाफमा ३ गोल फर्काउदाँ मेचीनगरले भने १ गोल मात्रै थप गर्न सक्यो । मेचीनगरका लागि २० औं र २५ औं मिनेटमा रोजित अलिले दुई गोल गरेका थिए । उसका लागि थप एक गोल टिम कप्तान विशाल जवेगुले गरे । खेलको ६७ औं मिनेटमा उनले गरेको फ्रि–किक प्रहारलाई शिवसताक्षीका गोल रक्षकले बचाउ गर्न नसक्दा गोल स्कोर भएको थियो ।

उपाधि जितेसंगै शिवसताक्षी नगरपालिकाको टिमले नगद ६५ हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा शिवसताक्षीले दोस्रो पटक उपाधि जितेको हो । २०७७ सालमा दमक नगरपालिकालाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
प्रतियोगितामा उपविजेता बनेको मेचीनगरपालिकाको टिमले नगद ४० हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच शिवसताक्षीका उमेश दनुवार घोषित भए । उनले नगर २५ सय र ट्रफी पुरस्कार पाए ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्टाइगर मेचीनगरका रोजित अलि घोषित भए । उनिहरुले जनही नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।

मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका मेयर मेघहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]