जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडको लक्ष्य : सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा

झापाको बिर्तामोड जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा विकसित भएको स्थानीय तह हो । शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि विकास भइरहेको बिर्तामोडमा नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार र सेवालाई विस्तार गर्दै गइरहेको छ ।

बिर्तामोडमा बिएण्डसी, मनमोहन मेमोरियल र बिर्तासिटि जस्ता ख्याती प्राप्त नीजि अस्पतालहरु सञ्चालनमा रहेका छन् । स्वास्थ्यमा नीजि क्षेत्रको लगानी बढ्दै गइरहेको बेला नगरपालिकाले सरकारी स्वास्थ्य संस्थाहहरुको सेवा विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेको छ । पछिल्लो समय नगरपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सेवासुविधा वृद्धि गर्दै गइरहेको छ ।

हाल बिर्तामोड नगर स्वास्थ्य शाखा अन्र्तगत १० वटा वडामा गरेर जम्मा ११ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । नेपाल सरकारको नीति अनुसार प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्छ । तर, बिर्तामोड वडा नम्बर १० भूगोलका हिसावले ठूलो भएका कारण त्यस वडामा दुई वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा ल्याइएका छन् । बिर्तामोडमा एउटा नगर अस्पताल दुई वटा स्वास्थ्य केन्द्र र आठ वटा आधारभूत स्वास्थ्य चौकीहरु सञ्चालनमा रहेको बिर्तामोड नगरका स्वास्थ्य शाखा प्रमुख राजीव कृष्ण विष्टले जानकारी दिए ।

सबै स्वास्थ्य चौकीमा प्रिभेन्टिभ र क्युरेटिभ दुबै किसिमको स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य शाखा प्रमुख विष्टले बताएका छन् । उनी भन्छन्, ‘प्रिभेन्टिभ भनेको भ्याक्सिनेसनसँग सम्बन्धित काम हो । हाम्रो नगरको सबै स्वास्थ्य चौकीहरुमा तालिका अनुसार तीन गतेबाट भ्याक्सिनको काम सुरु हुन्छ । त्यसै गरी क्युरेटिभ भनेको औंषधीको प्रयोगले रोगलाई जित्ने विधि हो । हामी क्युरेटिभ अन्र्तगत निशूल्क औंषधी उपचार गर्छौं ।’, कोही मानिस झाडापखाला लागेर आएमा क्युरेटिभ पद्धतिले उपचार गराइन्छ । जसमा साबुन पानीले हात धुने जस्ता सामान्य कुराहरु यस पद्धतिमा पर्दछन् । यस पद्धतिमा बिरामीको परीक्षण गरेर औंषधी पे्रसक्रिसन गरेर दिने गरिन्छ ।’

नगर अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी लगायतका सेवाहरु उपलब्ध छन् । त्यसका लागि हामीले केही रकम कार्यपालिकाको बैठकबाट रकमान्तर गरेर ल्याएको छौं, स्वास्थ्य शाखा प्रमुख विष्ट भने ।

बिर्तामोडको प्रत्येक वडामा भएका स्वास्थ्य चौकीहरुको आफ्नौ सुविधासम्पन्न भवन छन् । पूर्वधारमा स्वास्थ्य चौकीहरु आत्मनिर्भर छन् । अस्पतालहरुमा भौतिक पूर्वधार तर्फ घेराबाराको मात्र अभाव देखिन्छ । उक्त घेराबाराको काम पनि चाँडै सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख विष्टले बताए । उनले भने ‘कम्पाउडको समस्या रहेको छ । त्यो पनि सम्भव भएसम्म आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने हाम्रो योजना छ । कम्पाउण्ड नगरेसम्म स्वास्थ्य चौकीहरु पूर्णरुपले सुरक्षित नहुने भएकाले यो काम चाँडै सम्पन्न गर्ने योेजनामा छौं ।’

बिर्तामोडले मासिक रुपमा स्वास्थ्य चौकीहरुबाट प्रगति प्रतिवेदन लिने गरेको छ । जसमा महिना भर गरिएको कामहरुको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । यसरी प्रतिवेदन तयार गर्दा अस्पतालमा कुन रोगको बिरामी धेरै आएको थाहा हुने र त्यसको रोकथामकको निम्ति योजना बनाउन सजिलो हुने गर्छ । बिरामीहरुको पहिचान गरेर सेवा बिस्तार गर्न सहज र प्रभावकारी हुने स्वास्थ्य शाखा प्रमुख विष्टको भनाइ छ ।

आधारभूत स्वास्थ्य संस्थामा दरबन्दीसहितको जनशक्ति उपलब्ध गराउने र विशेषज्ञ डाक्टरको वृद्धि गर्ने लक्ष्य बिर्तामोडले राखेको छ । यसैगरी जति सक्दो चाँडो डाइलसिस सेवा, रेबिजको भ्याक्सिन र थाइराइट टेस्टको सुविधा सञ्चालन गर्ने बिर्तामोडको लक्ष्य हो । यति मात्र होइन, बिर्तामोड नगरपालिका आफ्नो नगर अस्पतालमा चाँडै २४ घण्टा इमरजेन्सी सेवा उपलब्ध गराउन तयारी थालेको छ । स्वास्थ्य क्षेत्रको समग्र बिकास र विशेष गरी निम्न वर्गका मानिसहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउन बिर्तामोड प्रयत्नशील देखिएको छ । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बिर्तामोडको प्रमुख लक्ष्य हो ।

बिर्तामोड स्वस्थ्य क्षेत्रमा प्रभावकारी बिकास गर्ने लक्ष्यको साथ अगाडि बढिरहेको छ । जसको निम्ति केही समय अगाडिको स्वास्थ्य चौकी र हालको स्वास्थ्य चौकीलाई नगर अस्पतालसँग तुलना गर्दै स्वास्थ्य शाखा प्रमुख विष्ट भन्छन्, ‘हिजो सानो भवनमा साधारण उपचार मात्र हुने स्वास्थ्य चौकी अहिले सुविधा सम्पन्न हुँदै गएको छ । भौतिक पूर्वधारदेखि आवश्यक उपकरणहरु पनि तयार हुँदैछ ।’ उनी भन्छन्, ‘पहिले एक जना मात्र एमबीबीएस डाक्टर उपलब्ध भएको उक्त स्वास्थ्य चौकी नगर अस्पतालको रुपमा बिकास हुने वित्तिकै एक जना विषेशज्ञ र चार जना एमबीबीएस डाक्टरहरुबाट सेवा दिन थालिएको छ ।’

बिर्तामोडमा आन्तरिक, प्रदेश र संघीय सरकार गरेर स्वास्थ्यमा कुल तीन करोड ८५ लाख ६६ लाख बजेट रहेको तथ्यांकले देखाएको छ । जसमध्ये एक करोड ५० लाख रुपैयाँ नगर अस्पताल व्यवस्थापनका निम्ति छुटिएको छ ।

बिर्तामोडले स्वास्थ्य क्षेत्रको बिकासका निम्ति जनचेतना मूलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ । जनचोतना मूलक कार्यक्रममा परिवार नियोजन किशोर किशोरी तथा प्रजनन् स्वास्थ्य कार्यक्रम, आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण लगायतका विभिन्न किसिमका कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ ।

बिर्तामोडमा अन्य संस्थागत अस्पतालहरुको संख्या उल्लेखनीय भएको कारण सामुदायिक स्वास्थ्य केन्द्रमा मानिसहरुको आकर्षण कम देखिन्छ । यद्यपि, सामुदायिक स्वास्थ्य केन्द्रप्रति नागरिकहरुको विश्वास भने बढेको पाइएको छ । बिर्तामोडमा पछिल्लो वर्ष सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गराउने मानिसहरुकको संख्यामा १० प्रतिशत वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख विष्ट बताउँछन् । उनी भन्छन्, ‘बिर्तामोडका संस्थागत अस्पतालहरुले दिन नसक्ने टिभि रोगको औंषधी निशूल्क पाइन्छ । सरकारले निशूल्क प्रदान गर्ने सुविधाहरु लिन सबै मानिसहरु आउने तर अरु बेला संस्थागत अस्पताल जानुहुन्छ ।’

सहुलियत दरमा सामुदायिक स्वास्थ्य चौकीहरुमा सेवासुविधा थप हुँदै गएकाले यसप्रति नगरिकहरुको आकर्षणमा वृद्धि भएको पाइएको छ । बिर्तामोडको नगर अस्पतालमा भिडियो एक्स–रे, एक्स–रे, इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला लगायतको सुविधा रहेको छ । यसै गरी क्षयरोग तथा कुष्ठरोगको निशूल्क परीक्षण र औषधी वितरणका सुविधाहरु छन् । नगर अस्पतालमा डाइलसिस सेवा पनि सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाका सामुदायिक अस्पतालहरुमध्ये प्रादेशिक अस्पताल भद्रपुरमा मात्र रेविज भ्याक्सिनको सुविधा छ । उक्त सेवा बिर्तामोड नगर अस्पतालमा ल्याउने योजना रहेको स्वास्थ्य शाखा प्रमुख विष्टले जानकारी दिए । ‘नगर अस्पतालको क्षमता वृद्धि गर्ने र सबै वडामा स्वास्थ्य चौकीलाई प्रयोगशालामय बनाउने योजना छ । सबै स्वास्थ्य चौकीहरुमा कम्तिमा प्यारामेडिक्स, नर्सिङ र एक एमबीबीएस डाक्टर सहितको सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । यि योजनाहरु यही कार्यपालिकाको कार्यकालभित्र पूरा गर्ने लक्ष्य छ ।’

बिर्तामोडका जनप्रतिनिधिहरु स्वास्थ्य क्षेत्रको बिकासप्रति सजक र लगनशील रहेको स्वास्थ्य शाखा प्रमुख विष्टको भनाइ छ । उनी भन्छन्, ‘सबै जनप्रतिनिधिहरु स्वास्थ्य क्षेत्रको बिकासप्रति सकरात्मक हुनुहुन्छ । नागरिकको स्वास्थ्य सुरक्षा हुनुपर्ने विषयमा उहाँहरुको ध्यान केन्द्रित रहेको छ ।’, सबै वडाले प्रत्येक वर्ष एक सय जना विपन्न नागरिकलाई निशूल्क स्वास्थ्य बीमा गरिदिने योजना रहेको छ । यहीँ योजनाबाट पनि जनप्रतिनिधि स्वास्थ्यको बिकासको निम्ति सकरात्मक हुनुहुन्छ भन्ने स्पष्ट छ ।’

०७४ अगाडिसम्म जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभरीको स्वास्थ्यको काम गर्दथ्यो । हाल सम्पूर्ण काम गर्न सक्ने गरी स्थानीय तहमा स्वास्थ्य शाखा आएको छ । क्षेत्रगत रुपमा स्वास्थको बिकास गर्न सामुदायिक अस्पतालहरुको हेरचाह र मोनिटरिङ गर्ने काम स्थानीय पालिका आफैंले गर्न थालेपछि स्वास्थ्य क्षेत्रको बिकासमा उल्लेखनीय तथा प्रभावकारी बिकास भएको छ । पालिकाबाट कार्यसम्पादन हुन थालेपछि स्वास्थमा प्रभावकारी र पारदर्शी महसुस गरिएको छ ।

बिर्तामोडले स्वास्थ्य क्षेत्रको कामलाई सहज बनाउन स्वास्थ्य सेवा ऐन निर्माण गरेको छ । जसले गर्दा नीतिगत कठिनाई नभएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताएका छन् । उनी भन्छन्, ‘ऐनगत कठिनाई नभए पनि अरु कठिनाइहरु रहेका छन् । हामीले अझैं पनि नेपाल सरकारबाट उपलब्ध हुने निशूल्क औषधी पर्याप्त रुपमा वितरण गर्न सकेका छैनौं ।’

बिर्तामोड नगर क्षेत्रमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको बढि प्रकोप देखिएको नगर स्वास्थ्य शाखा प्रमुख विष्टले बताएका छन् । उनी भन्छन्, ‘सुगर, प्रेसर दम र कोलस्टोर रोगको प्रकोप बढ्दो छ ।’

स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले स्वास्थ्यको बिकासको निम्ति सरकारले स्वास्थ्य क्षेत्रमा हाल गरिरहेको बजेट पर्याप्त नभएको बताएका छन् । उनले स्वास्थ्यको बिकासको निम्ति सूझाव दिदैं भनेका छन्, पहिलो नम्बरमा बजेट वृद्धि गर्नुपर्ने हुन्छ । त्यसपछि उपकरणको क्षेत्रमा बिकास गर्नुपर्छ ।

…….

नागरिकको सारथी नगर अस्पताल

फागुन २० गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले औपचारिक रुपमा उद्घाटन गरेको बिर्तामोड नगर अस्पतालमा दैनिक सेवाग्रहीहरुको घुँइचो लाग्ने गरेको छ । यो अस्पताल हालमा निम्न वर्गका विरामीहरुको उपस्थिति बढ्दो छ ।

बिर्तामोड नगर अस्पताल बीमा भए बीमाबाट नभए पनि निशूल्क रुपमा स्वास्थ्य परीक्षण हुने गरेको अस्पतालका प्रमुख विशेषज्ञ डाक्टर सुनिल अधिकारीले बताएका छन् । उनी भन्छन्, ‘यहाँ विशेष गरि दुई प्रकारका बिरामीहरु आउनु हुन्छ । एउटा बीमा भएको र अर्को निशूल्क रुपमा पुर्जा काटेर स्वास्थ्य परीक्षण गराउने । बीमाबाट र निशूल्क गरेर पुर्जा काट्ने गरिन्छ । अब केही समयमा निशूल्क रहेको पुर्जालाई सामान्य शूल्क लिने तयारी गरिरहेका छौं । तर, अहिले भने सबैले यहाँ निशूल्क रुपमा पुर्जा काटेर डाक्टरको परामर्श लिन सक्नु हुन्छ ।’

बिर्तामोड नगर अस्पतालले हाल एकदमै कम मात्रामा बिरामीलाई अर्को अस्पताल रिफर गर्न थालेको डाक्टर अधिकारीले बताएका छन् । उनी भन्छन्, ‘हाम्रै अस्पतालमा धेरै जाँचहरु हुने भएकाले अब बिरामीलाई रिफर गर्नुपर्ने अवस्था छैन । एकदमै संवेदनशील अवस्था भएमा मात्रै हामी रिफर गर्छौं ।’, उनी भन्छन्, ‘हामीसँग अत्याधुनिक प्रयोगशाला छ । जहाँ हामी धेरै किसिमका परीक्षणहरु गर्न सक्छौं । हामी सीबीसी परीक्षण, सुगर परीक्षण र लिपिट प्रोफाईल जाँच गर्न सक्छौं । जसबाट शरीरमा बोसोको मात्रा हेर्ने गरिन्छ । साथै निमोनिया परीक्षण, एक्स–रे, भिडियो एक्स–रे सेवा, इसीजी, अल्ट्रासाउण्ड लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।’

केही समय अगाडिसम्म बिर्तामोडका कुनै पनि सामुदायिक स्वास्थ्य केन्द्रमा यस किसिमको परीक्षण हुँदैन थियो । जसले गर्दा नागरिकहरु संस्थागत अस्पतालकोे महंगो बिल तिर्न बाध्य भएको डाक्टर अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘हाम्रोमा सबै सेवाहरु बीमाले तोके बमोजिम छ । साथै बीमाले नतोकेको परीक्षणमा पनि हामीले अन्य संस्थागत अस्पतालभन्दा सस्तो नै शुल्क राखेका छौं ।’, केही सीबीसी लगायतका रगतका परीक्षणहरु हाम्रोमा निशूल्क छ । बिर्तामोड नगर अस्पतालमा एक्स–रेको मूल्य चार सय मात्र छ । तर, अन्य संस्थागत अस्पतालहरुमा एक्स–रेको मूल्य आठ सयबाट सुरु भएर १२ सयसम्म पर्नेगर्छ ।

नगर अस्पालको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिएको कारण व्यवस्थापनको कुनै पनि तनाव छैन । उनी भन्छन्, ‘मेयर साबको नेतृत्वमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति बनेको छ । जसले गर्दा अस्पतालको सम्पूर्ण दायित्व नगरपालिकाले बहन गर्छ । हामीले गुणस्तरीय सेवा मात्र प्रदान गरे हुन्छ ।’, बिर्तामोड नगरपालिका नागरिकको स्वाथ्यप्रति उत्तरदायी र जवाफदेही छ ।

उद्घाटन भएको महिना दिनभित्रमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी सेवा सञ्चालनमा ल्याउने लक्ष्य रोखेको बिर्तामोड नगर अस्पतालले लक्ष्यहरु पूरा गरिसेको छ । उसै बेला तीन महिनाभित्र बर्थिङ सेवा उपलब्ध गराउन राखेको लक्ष्य पूरा हुने चरणमा रहेको छ । यसैगरी डाइलसिस सेवा सञ्चालन गर्ने, रेबिजको खोप उपलब्ध गराउने र निर्माणाधिन भवनलाई सम्पन्न गरी इमरजेन्सी सेवा थप गर्ने लक्ष्य रहेको डाक्टर अधिकारी जानकारी दिए । डाइलसिसको पनि सम्पूर्ण उपकरणहरु अस्पताललाई रोट्रयाक बिर्तामोडले प्रदान गरिसकेको छ । अब अनुमति पत्र लिएर सञ्चालन गर्न मात्र बाँकी रहेको डाक्टर अधिकारीले बताएका छन् । अस्पतालमा एम्बुलेन्स ल्याउने र अस्पतालको सुरक्षाको विषयलाई ख्यालमा राखी अस्पतालको घेराबारा गर्ने योजना रहेको डाक्टर अधिकारीले बताए । बिर्तामोड नगर अस्पताल तीन वर्षभित्र अर्को नयाँ भवन थप्ने योजना लिएर अगाडि बढिरहेको छ । अस्पतालमा भवन थपेर अहिले नभएको अपरेसन सेवा त्यहाँबाट सुचारु गर्ने योजना रहेको बताएका छन् । उनी भन्छन्, ‘नयाँ भवन बन्ने बित्तिकै इमरजेन्सी सेवा र अपरेसन सेवा सुचारु गर्छौं ।’

यस अस्पतालमा बीमा पनि भएकाले प्रायः सबै खाले आर्थिक अवस्था भएका मानिसहरु आउने डाक्टर अधिकारी बताउँछन् । बीमाले गर्दा केही सम्पन्न मानिसहरु पनि यहाँ आउनु हुन्छ । तर, अधिकांश निम्न आर्थिक अवस्था भएका मानिसहरु यहाँ स्वास्थ्य उपचारका लागि आउनुहुन्छ । वास्तवमा हामीले यो अस्पताल पनि उहाँहरुलाई नै लक्षित गरी सञ्चालनमा ल्याएका हौं । सम्पन्न मानिसहरु त जहाँ गएर पनि उपचार गर्न सक्नु हुन्छ निम्न अवस्थाका मानिसहरुले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ भनेर नगरले यो अस्पताल सञ्चालनमा ल्याएको हो । ‘कोही–कोही त कुनै पनि किसिमको परीक्षणसम्म पनि गर्न नसक्ने, औषधी पनि किन्न नसक्नेहरु आउनु हुन्छ । उहाँहरु सबै सामान्य जाँच गराएर निशूल्क औंषधी मात्र लिएर जानु हुन्छ ।’

बिर्तामोड नगर अस्पतालमा स्वास्थ्य बीमाको राम्रो कभरेज भएको छ । बिर्तामोड नगर अस्पतालमा दैनिक तीन सयदेखि चार सय जना बिरामी उपचारका लागि आउने गरेको डाक्टर अधिकारीको भनाई छ ।

डाक्टर सुनिल अधिकारीले भने ‘स्वास्थ्यमा गरेका लगानी पर्याप्त छैन । बजेट वृद्धि गर्न जरुरी छ । सामुदायिक स्वास्थ्य केन्द्रहरुको अनुगमन हुनुपर्छ । सामुदायिक स्वास्थ्य केन्द्रको चुनौतिहरुका बारेमा अध्ययन गरिनुपर्छ ।’

प्रस्तुति : गगन ढकाल

प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]