०८० को संकल्प
सम्पादकीय
नयाँ वर्ष २०८० को सर्वप्रथम सबैमा शुभकामना । नयाँ वर्षमा सबैको नयाँ योजना संकल्पहरु हुन्छन् । गलत काम छोड्ने र राम्रा नयाँ कामहरु मात्रै गर्ने धेरैको संकल्प हुनेगर्छ । वास्तवमा नयाँ वर्षबाट नयाँ र राम्रा कामहरुको सुरुआत गरौं । दैनिक जीवनमा गर्दै भोग्दै आएका गलत कामहरुबाट आजैबाट छुटकारा लिऔं । विद्यार्थी जीवनमा छौं भने अध्ययनको शैलीलाई रचनात्मक बनाऔं । व्यवसायी छौं भने उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरौं । आफुखुशी मुल्यवृद्धि नगरौं । उपभोक्ताको हित हुने गरी व्यवसाय गरौं ।
सामाजिक जीवनमा अहिले धेरै प्रचारमुखी काम मात्रै गर्ने गरेको देखिन्छ । अब सामाजिक काममा सक्रिय व्यक्तित्वहरुले परिणाममुखी काममा ध्यान दिऔं । ससाना सहयोगमा आर्थिक लाभ मात्रै खोज्नेहरुले सेवालाई पनि ख्याल गर्दै अघि बढौं । सधैं अरुको काम खोज्ने, जवाफदेही मात्रै खोज्नेहरु आफै जिम्मेवार बनौं । आफु जिम्मेवार मात्र बन्न सक्यौ भने सबैलाई जिम्मेवार देखिनेछ । सकेसम्म श्रममा समय दियौं । सधैं काम भएन, रोजगारी छैन भन्दै भौतारिरहेका छौं भने काम खोजेर गरौं । कामलाई सधैं सम्मान गरौं ।
सबैभन्दा सुधार गर्नुपर्ने विषय भनेको नेताहरुले बोली हो । जनतालाई कामभन्दा धेरै आश्वासन दिन छोडौं । संभावना नभएका काममा आश्वासन नबाढौं । किनभने, नेताको आश्वासनमा आम नागरिक विश्वस्त भइरहने काम नहुने प्रवृत्ति बढिरहेको छ । अर्को सवाल , नेताले कार्यक्रममा बोल्दा सबै सुन्न मात्र आएका हुन् भन्ने मानसिकता त्याग गरौं । विषयवस्तुभन्दा अन्यत्र समय खर्चिने आदतलाई सुधार गरौं । समयलाई ख्याल गरेर विषयवस्तुमा केन्द्रीत भई आफ्नो अभिव्यक्ति दिने गरौं । यति गर्न सकियो भने २०८० थप फलदायी हुनेछ । यो वर्ष यस प्रकारका कमजोरीहरुलाई सबैले सुधार गरौं ।