बैशाख १४, २०८१ शुक्रबार

झापामा भयावय बन्दैछ लागुऔषध दुव्र्यसन

गगन ढकाल
झापा । झापामा कम्तिमा दिन बिराएर लागुऔषध सहित युवाहरु पक्राउ परिरहेका छन् । जिल्लामा प्रायः सबै पत्रपत्रिकाहरु ‘लागुऔषध सहित पक्राउ’ शीर्षकको समाचारले भरिएको हुन्छ ।

पूर्व र दक्षिणको सीमा छिमेकी मुलुक भारतासँग जोडिएको कारण सीमावर्ती क्षेत्रमा लागुऔषध सहित पक्राउ पर्ने युवाहरुको तथ्यांक भयावय रहेको केही पालिकाका प्रमुखहरुको भनाई छ । झापामा यस चालू आर्थिक वर्षमा दुई सय सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

पक्राउ पर्ने कुल संख्या मध्ये एक सय ७८ जना पुरुष रहेका छन् भने २० जना महिलाहरु रहेका छन् । यसैगरी ११ जना भारतीय नागरिकलाई पनि पक्राउ गरी मद्दा चलाएको तथ्यांकले देखाएको छ ।

यसैगरी झापा जिल्ला कारागारमा हाल थुनुवा र कैदी गरेर एक हजार चार सय ७४ जना रहेको कारागारको तथ्यांकले देखाएको छ । यिनीहरुमध्ये ४१ दशमलव ५२ प्रतिशत अर्थात छ सय १२ जना लागुऔषधको मुद्दामा कारागारमा सजाय भोगिरहेका छन् ।

हाल झापा जिल्ला कारागारमा लागुऔषधको मुद्दामा दुई सय ७७ जना कैदीहरु रहेका छन् । जसमध्ये २ सय ५४ जना पुरुष र २३ जना महिला रहेका छन् । यसैगरी ३ सय ३५ जना थुनुवाहरु रहेको तथ्यांक छ । जसमध्ये ३ सय १२ जना पुरुष र १३ जना महिला रहेका छन् ।

झापामा यो चालू आर्थिक वर्षमा ८ सय १२ ग्राम ब्राउन सुगर, एक सय १० एम्पुल लुपिजेसिक, १ सय १५ एम्पुल डाईजापाम, १ सय २५ एम्पुल फेनरागन, १ सय ४० चक्की नाईट्राजेपाम, २ सय ९८ चक्की नाईट्राभेट, ५ सय ५० चक्की स्पास्पेन ट्याब, १५ किलो ९ सय ९१ ग्राम गाँजा र १५ पिस निट्राजिपान प्रहरीले बरामत गरेको छ ।

झापामा मुख्य रुपले सञ्चालित काँकरभिट्टा नाका र भद्रपुर नाकामा लागुऔषधको कारोबार धेरै रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन् । जिल्लाका भित्री पालिकाहरु मध्ये बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा लागुऔषधको प्रकोप धेरै रहेको उनको भनाई छ । उनी भन्छन्, ‘देशैभरीका तराई क्षेत्रका जिल्लाहरुमा लागुऔषध दुव्र्यसनीको तथ्यांक बढ्दो छ । यसको मुख्य कारण खुल्ला सीमा हो । छिमेकी मुलुक भारतमा लागुऔषध सहज उपलब्ध हुने र खुला सीमा भएको कारण नेपाल भित्राउन सजिलो हुने भएकाले प्रकोप बढेको हो ।’

लागुऔषध दुव्र्यसनीमा विशेषतः १८ वर्षदेखि २५ वर्ष बीचका युवाहरु धेरै फसेका छन् । प्रहरीले लागुऔषध दुव्र्यसन विरुद्धमा वडा–वडा पुगेर जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएको डीएसपी रिजालले बताएका छन् । प्रहरीले आफ्नो ठाउँबाट लागुऔषध दुव्र्यसनी विरुद्ध सक्दो काम गरिरहेको भएता पनि समुदाय स्तरमा जनचेतनाको कमी भएकाले यो दिनप्रति दिन वृद्धि भइरहेको उनको बुझाई छ । उनी भन्छन्, ‘यो दुव्र्यसनीलाई रोक्ने उपाय भनेको मनोपरामर्श तथा जनचेतनामा वृद्धि हो । हामीले दुवै काम गरिरहेका छौं । तर, हामीले मात्र गरेको काम पर्याप्त छैन सबै समुदाय लागुऔषध दुव्र्यसन तथा बेचबिखन विरुद्ध लाग्न जरुरी छ ।’

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिका लागुऔषध दुव्र्यसन तथा बेचबिखनको विरुद्धमा योजना बनाएर लागेको बताएका छन् । उनले झापामा भारतसँग सीमा जोडिएका क्षेत्रमा यसको प्रकोप अत्याधिक धेरै रहेको बताए । उनी भन्छन्, ‘हामीले भद्रपुरमा लागुऔषध दुव्र्यसन तथा बेचबिखनसम्बन्धी धेरै प्रकोप रहेको क्षेत्रहरुको पहिचान गरेका छौं । हामीले भद्रपुरमा २० वटा ब्लक बनाएर जनचेतनाको कार्यक्रम तयार गरेका छौं । हामीले यसका निम्ति संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम गर्न नगरबाट करीब चार लाख बजेट छुट्याएका छौं ।’

यसैगरी विशेषतः साविक पृथ्विनगर क्षेत्रमा लागुऔषधको प्रकोप ज्याँदा रहेको प्रमुख पोखरेलले बताएका छन् । उनी भन्छन्, ‘हामी सुरक्षा बलहरुसँग तथ्याङक लिने त्यसलाई न्यूनिकरण गर्न के गर्नुपर्छ भन्ने किसिमका विषयमा निरन्तर जोडिरहेका छौं । लागुऔषधले समाज एकदमै नकरात्मक प्रभाव पारेको छ । यसलाई न्यूनिनकरण गर्न सबै एकजुट भएर लाग्न ढिला भइसकेको छ ।’ भद्रपुर नगरपालिकाले लागुऔषधको प्रकोपलाई नियन्त्रण गर्न विद्यालयमा नै लागुऔषधले गर्ने असरहरुको जानकारी दिने किसिमको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं लागुऔषध दुव्र्यसन तथा बेचबिखनको विषय राष्ट्रिय मुद्दा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘हामीले नगरपालिको तर्फबाट जनचेतना वृद्धि गराउने, शंका लागेको व्यक्तिलाई निगरानीमा राख्ने तथा यसको असरहरुबारे जानकारी दिने किसिमको कार्यक्रमहरु सबै क्षेत्रमा लगिरहेका छौं । तर पनि यसको प्रकोपमा भने कमी आएको देखिदैन । मादक पदार्थलाई व्यवस्थित गरेर बिक्रिवितरण गरिरहेको भारतमा नेपाली युवाहरुले सहजै लागुऔषध प्राप्त गरेको र नेपाल भित्राएको देख्दा यो राष्ट्रिय स्तरमा उठ्नुपर्ने विषय हो जस्तो लाग्छ ।’

बिर्तामोड जिल्लाकै प्रमुख केन्द्रको रुपमा बिसित हुँदै गरेको सहर भएकाले भारतबाट लागुऔषध लिएर सेफ लेण्डिङ गर्न बिर्तामोड आउने गरेको प्रमुख प्रसाईंको बुझाई छ । समाजका सबै क्षेत्रका सरोकारवालाहरु यसका विरुद्ध लाग्न जरुरी रहेको प्रमुख प्रसाईंको भनाई छ । उनी भन्छिन्, ‘हाम्रो समाजका धेरै युवाहरुले लागुऔषधको कारण आफ्नो भविष्य बिगारिरहनु भएको छ । उहाँहरुको भविष्य बिग्रनबाट जोगाउनु हाम्रो कर्तव्य हो । यदी मानिसहरुको चेतना समृद्ध भएन भने सम्पूर्ण बिकासहरु अर्थहीन हुन्छ । त्यसैले चेतनामा वृद्धि गरी यस्तो दुव्र्यसनमा फस्नबाट समाजलाई जोगाउन जरुरी छ ।’

प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]