बैशाख २६, २०८१ बुधबार

लागुऔषध रोक्न विद्यालयहरु संवेदनशिल

गगन ढकाल

झापा । लागुऔषधले समुदाय भयावय अवस्थामा पुगेपनि विद्यालयभित्र प्रभाव नपरेको झापाका बताइएको छ । झापाका शिक्षकहरुले प्रत्यक्ष रुपमा विद्यालयभित्र लागुऔषध दुव्र्यसनको प्रभाव नदेखिएको बताएका छन् । उनीहरुले लागुऔषध न्यूनिकरणको सबैभन्दा प्रभावशाली उपाय चेतना वृद्धि भएकाले विद्यालयहरुमा विभिन्न किसिमका कार्यक्रमहरु मार्फत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनीमा लाग्न हुन्न भन्ने सन्देश दिइरहेको जनाएका छन् ।

जिल्लाको सुधुर पूर्वी विद्यालय काँकरभिट्टा माविका प्रधानाध्यापक हरि प्रसाद न्यौपाने काँकरभिट्टा नाका लागुऔषधबाट प्रभावित भए पनि विद्यालयमा हालसम्म लागुऔषधको प्रभाव नदेखिएको बताउँछन् । तर पनि विद्यालयले यस विषयमा सावधानी अपनाई रहेको उनको भनाई छ । उनी भन्छन्, ‘समुदायमा भएको लागुऔषध जति बेलै विद्यालयमा प्रवेश गर्न सक्छ । त्यसैले हामीले बाहिरका मानिसहरुलाई विद्यालयमा सहजै प्रवेश गर्न दिने गरेका छैनौं । विद्यालयमा प्रहरीसँग साझेदारी गरेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्छौं । विद्यार्थीहरुलाई ‘लागुऔषधको प्रभाव’ शीर्षकमा वादविवाद तथा वतृत्वकला प्रतियोगीताहरुको आयोजना गर्ने गरेका छौं ।’

मेचीनगर प्याबसनका नगर अध्यक्ष डम्बर रुचालले मेचीनगर प्याब्सन यस विषयमा गम्भीर भएर लागेको बताएका छन् । उनी भन्छन्, ‘हामीले प्याब्सन अन्र्तगतका विद्यालयहरुमा लागुऔषधको प्रयोगले पार्ने प्रभावका बारे विद्यार्थीहरुलाई नाटक मार्फत जनचेतना वृद्धि गराउने गरेका छौं । यसैगरी विद्यार्थीहरुलाई विभिन्न सन्दर्भ सामग्रीको प्रयोग गरेर विद्यार्थीहरुलाई लागुऔषध प्रयोग गर्न हुन्न भन्ने कुरा सिकाई रहेका हुन्छौं ।’

अध्यक्ष रुचालले विद्यालय वरपर लागुऔषध, मध्यपान धुम्रपान तथा मधु परागहरु खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । तर, मेचीनगर नगरपालिकाभित्र यो काम प्रभावकारी नभएको बताएका छन् । यसैले यस काम प्रभावकारी रुपमा लागु गराउन मेचीनगर प्याब्सनले नेतृत्व गर्ने बताएका छन् । उनी भन्छन्, ‘विद्यालयमा लागुऔषध प्रयोग गर्न हुन्न भनेर सिकायो तर गेट बाहिरै मध्यपान र धुम्रपान बिक्री हुन्छ । यसको अन्त्य गर्न जरुरी छ । अब नगरपालिका, प्रहरी तथा अविभावकहरुसँग समन्वय गरेरर हामी यो विद्यालय यो प्रकारको सामान बिकाउन प्रतिबन्ध लगाउँछौं ।’

यसैगरी दमक प्याब्सनका नगर अध्यक्ष जनार्दन मैनालीले दमकमा लागुऔषधको प्रभाव धेरै रहेकाले विद्यार्थीहरुलाई चेतना वृद्धि गराउने किसिमको कामहरु गरिरहेको बताएका छन् । उनले दमकमा हरेक महिना विद्यार्थीहरुलाई यस विषयमा कक्षा नै दिने गरेको बताएका छन् । उनी भन्छन्, ‘हामीले संस्थागत विद्यालयको पक्षबाट गर्न सक्ने काम गरिरहेका छौं । तर, दमक नगरपालिकाले लागुऔषधको विरुद्धका चेतनामूलक कार्यक्रमहरुमा समेट्ने गरेको छैन ।’

पूर्व र दक्षिणको सीमा छिमेकी मुलुक भारतासँग जोडिएको कारण सीमावर्ती क्षेत्रमा लागुऔषध सहित पक्राउ पर्ने युवाहरु तथ्यांक भयावय रहेको केही पालिकाका प्रमुखहरुको भनाई छ । झापामा यस चालू आर्थिक वर्षमा दुई सय सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

पक्राउ पर्ने कुल संख्यामध्ये एक सय ७८ जना पुरुष रहेका छन् भने २० जना महिलाहरु रहेका छन् । यसैगरी ११ जना भारतीय नागरिकलाई पनि पक्राउ गरी मद्दा चलाएको तथ्यांकले देखाएको छ ।

यसै गरी झापा जिल्ला कारागारमा हाल थुनुवा र कैदी गरेर एक हजार चार सय ७४ जना रहेको कारागारको तथ्यांकले देखाएको छ । यिनीहरुमध्ये ४१ दशमलव ५२ प्रतिशत अर्थात छ सय १२ जना लागुऔषधको मुद्दामा कारागार पुगेका हुन् ।

हाल झापा जिल्ला कारागारमा लागुऔषधको मुद्दामा दुई सय ७७ जना कैदीहरु रहेका छन् । जसमध्ये २ सय ५४ जना पुरुष र २३ जना महिला रहेका छन् । यसैगरी ३ सय ३५ जना थुनुवाहरु रहेको तथ्यांक रहेको छ । जसमध्ये ३ सय १२ जना पुरुष र १३ जना महिला रहेका छन् ।

झापामा यो चालू आर्थिक वर्षमा ८ सय १२ ग्राम ब्राउन सुगर, एक सय १० एम्पुल लुपिजेसिक, १ सय १५ एम्पुल डाईजापाम, १ सय २५ एम्पुल फेनरागन, १ सय ४० चक्की नाईट्राजेपाम, २ सय ९८ चक्की नाईट्राभेट, ५ सय ५० चक्की स्पास्पेन ट्याब, १५ किलो ९ सय ९१ ग्राम गाँजा र १५ पिस निट्राजिपान प्रहरीले पक्रिएको छ ।

झापामा मुख्य रुपले सञ्चालित काँकरभिट्टा नाका र भद्रपुर नाकामा लागुऔषधको कारोबार धेरै रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन् । जिल्लाका भित्रि पालिकाहरु मध्ये बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा लागुऔषधको प्रकोप धेरै रहेको उनको भनाई छ । उनी भन्छन्, ‘देशै भरीका तराई क्षेत्रका जिल्लाहरुमा लागुऔषध दुव्र्यसनीको तथ्यांक बढ्दो छ । यसको मुख्य कारण खुल्ला सीमा हो । छिमेकी मुलुक भारतमा लागुऔषध सहज उपलब्ध हुने र खुला सीमा भएको कारण नेपाल भित्राउन सजिलो हुने भएकाले प्रकोप बढेको हो ।’

लागुऔषध दुव्र्यसनीमा विशेषतः १८ वर्षदेखि २५ वर्ष बीचका युवाहरु धेरै फसेका छन् । प्रहरीले लागुऔषध दुव्र्यसन विरुद्धमा वडा–वडा पुगेर जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएको डीएसपी रिजालले बताएका छन् । प्रहरीले आफ्नो ठाउँबाट लागुऔषध दुव्र्यसनी विरुद्ध सक्दो काम गरिरहेको भएता पनि समुदाय स्तरमा जनचेतनाको कमि भएकाले यो दिनप्रति दिन वृद्धि भइरहेको उनको बुझाई छ । उनी भन्छन्, ‘यो दुव्र्यसनीलाई रोक्ने उपाय भनेको मनोपरामर्श तथा जनचेतनामा वृद्धि हो । हामीले दुवै काम गरिरहेका छौं । तर, हामीले मात्र गरेको काम पर्याप्त छैन सबै समुदाय लागुऔषध दुव्र्यसन तथा बेचबिखन विरुद्ध लाग्न जरुरी छ ।’

प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]