जेष्ठ २, २०८१ बुधबार

लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रियता

अनिल सापकोटा

आज २२ अप्रिल अर्थात सर्वहारा वर्गका महान गुरू रुसी अक्टोवर क्रान्तिका नायक लेनिनको जन्मजयन्ती । १८७० को आजकै दिन पिता इल्या निकोलायभिच उल्यानोभ तथा माता मारिया अलेक्सान्द्रभ्ना उल्यानोभ को गर्भवाट दोश्रो सन्तानको रुपमा भोल्गा नदीको किनारमा अवस्थित शहर सिम्विस्र्क (हालको उल्यानोभ्स्क) मा भ्लादिमिर लेनिनले जन्म लिनुभएको हो ।

छोटो समयमा कैयन आरोह अवरोह पार गर्दै रसियामा सन १९१७ मा माक्र्सवादलाई विकसित रूपमा स्थापित गर्न सफल हुनु भएको हो । उनै कम्युनिष्ट संगठनवादी सिद्धान्तका प्रणेता कम्रेड लेनिन कै जन्म उत्सवको अवसर पारेर सन् १९४९ अप्रिल २२ तारिकका दिन भारतको कोलकत्ता स्थित श्याम बजारमा पुष्पलाल श्रेष्ठ, महासचिव रहने गरि नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जन गोविन्द वैद्य लगायत सदस्य रहेको नेपाली कम्युनिष्ट पार्टीको स्थापना भयो । अतः आजको दिनलाई कम्यिुनिष्ट पार्र्टीहरुले आफ्नो स्थापना दिवसको रुपमा पनि मनाउदै आएका छन् ।

लेनिनले माक्र्सवादको व्यवहारिक कार्यान्वयन गर्नका लागि कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्धान्तको प्रतिपादन गरेका हुन् । जसलाई पछि लेनिनवादी संगठनात्मक सिद्धान्त भनियो । र, आज पनि कम्युनिस्ट पार्टीहरू लेनिनवादी संगठनात्मक सिद्धान्तबाट नै सञ्चालित वा संगठित छन् । संगठनात्मक सिद्धान्तको कुरा गर्नु पर्दा रसियाली समाजवादी जनवादी मजदुर पार्टीको’ दोस्रो महाधिवेशन सन् १९०३ मा बेल्जियमको राजधानी ब्रसेल्समा सुरु भयो तर त्यहाँको सरकारले अवरोध गरेपछि महाधिवेशन लन्डनमा सारियो । महाधिवेशनमा रूसी कम्युनिस्ट आन्दोलनका घागडान नेताहरू लेनिन, ट्राटस्की, मार्तोभ, मार्तिनोभ र प्लेखानोभ लगायतको सहभागिता थियो । महाधिवेशनमा कम्युनिस्ट पार्टीको संगठनात्मक स्वरूपमाथि बहस गरियो । यसमा लेनिनको प्रस्ताव पनि संलग्न थियो । त्यसो त लेनिनले अघि सारेको कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तले रूसी कम्युनिस्टहरूलाई नराम्ररी विभाजित समेत गरायो । लेनिनले कम्युनिस्ट पार्टीको सदस्यता लिने व्यक्ति कुनै न कुनै समितिमा आबद्ध रहेर पार्टी जिम्मेवारी बहन गर्नुपर्छ र पार्टीले तोकेको शुल्क बुझाउनुपर्छ भन्ने मत राखे भने उनका पार्टीभित्रका प्रतिद्वन्द्वी मार्तोव र मार्तिनोवले भने पार्टीका प्रत्येक सदस्यलाई कमिटेड गर्नुभन्दा आवश्यक पर्दा सहयोग दिन सक्नेलाई सदस्यता प्रदान गर्नु उपयुक्त हुने विकल्प अघि सारे ।

लेनिनको विचार पार्टी सदस्यता खुल्ला रूपले वितरण नगर्ने थियो भने उनका विरोधी पार्टीलाई लचिलो ढाँचामा अगाडि बढाउन चाहन्थे । त्यही विवादमा पार्टीभित्र मतदान हुँदा लेनिन सुरुमा अल्पमतमा परे । तर उनले आफ्नो मतलाई विजयी गराउने प्रयासलाई जारी राखे । अन्ततः पार्टीको बहुमतले लेनिनको लाइनलाई स्वीकार ग¥यो । त्यही विवादले रूसी पार्टी बहुमत र अल्पमतमा विभाजित भयो । रूसी भाषामा बहुमतलाई बोल्सेभिक र अल्पमतलाई मेन्सेभिक भनिन्छ । लेनिनले बहुमत हासिल गरेपछि उनको पार्टी बोल्सेभिक भनेर संसारभरि प्रसिद्ध भयो । बोल्सेभिक र मेन्सेभिक दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टी बने । मेन्सेभिक पार्टीको नेतृत्वमा रहेका मार्तोभ, ट्राटस्की र अक्सेल्रोदहरू लेनिनवाद र बोल्सेबिक विरुद्ध खनिए । तर, लेनिनको नेतृत्वमा सोभियत क्रान्ति सम्पन्न भयो । यो सफलताले उनको संगठनात्मक प्रस्ताव पनि स्थापित ग¥यो । यसरी लेनिनवादी संगठनात्मक सिद्धान्त बन्यो ।

संगठनात्मक सिद्धान्तको चर्चा गर्दा पार्टीहरूको आन्तरिक शासन प्रणाली जोडिएर आउँछ । विचारले जतिसुकै शुद्ध र कार्यक्रमले सुन्दर भए पनि पार्टीका आन्तरिक संगठनहरू फुर्तिला नहुँदा राजनीति परिणाम विहीन हुनेमा दुईमत छैन । किनभने भद्दा संगठन, अलोकतान्त्रिक नेता र चाकरीबाज कार्यकर्ताले विचारलाई नै गोलमाल बनाउँछन् । यसर्थ आन्तरपार्टी लोकतन्त्र, नेतृत्व निर्माण र हस्तान्तरण, पार्टी अनुशासन र संगठनात्मक प्रभावकारिता बहसका मुख्य मुद्दा हुन् । यी विषय संगठनात्मक सिद्धान्तसँग सम्बन्धित छन् । पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता सुशासनका अभिभाज्य पक्ष हुन् । यिनीहरूको अभावमा संगठनहरू प्रयोजन विहीन र बेढंगका हुन्छन् । सुशासन आर्थिक विषय मात्र होइन जनतासँग गरिएका वाचाहरूको कार्यान्वयनसँग पनि सम्बन्धित छ ।

संगठनहरू आन्दोलनका सफलता र असफलताप्रति जवाफदेही हुनैपर्छ । अनि मात्र राजनीतिक संगठनहरू सुशासन निर्माणका पाठशाला हुनेछन् । लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तमा पनि नैतिक अनुशासन, र सांगठानिक सुशासनको त्यतिकै महत्व रहेको चर्चा गरिएको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनु पर्ने मान्यतामा जोड दिएको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयता, आलोचना तथा आत्मालोचना, नेतृत्व चुन्ने विधि लगायतका विषयहरुको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ । जनवादी केन्द्रियता, आलोचना तथा आत्मालोचना र असल नेतृत्व चुन्ने विधि नै यस सिद्धान्तका मुख्य तीन आधारहरु हुन् । जसमध्ये जनवादी केन्द्रियताका बारे संक्षिप्तमा बुझौं ।

के हो जनवादी केन्द्रियता ?
जनवादको अर्थ जनतन्त्र हो । जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रष्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन् । वास्तवमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने, फरकमत राख्ने वा आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ । म यो समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बन्न पाउँ भन्ने अधिकार पनि जनवादी अधिकार हो । यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा संगठनमा खुला हृदयका साथ राख्ने अधिकार हो । पार्टी संगठनमा जनवादको खाँचो भोकाएको मान्छेलाई खानाको खाँचो जस्तै हुन्छ । तिर्खा लागेकोलाई पानीको जति आवश्यक छ ठीक त्यही प्रकारले पार्टी संगठनभित्र जनवादको खाँचो छ । यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठूलो महत्व छ । जनवादी अधिकारविना पार्टी संगठन पानी विनाको माछा वा प्रशिक्षक विनाका प्रशिक्षार्थी सरह हुन्छन् ।

यसरी नै केन्द्रियताको अर्थ कर्तव्यपालन गर्नु हो । हामीले निरपेक्षरूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन । निरेपक्ष रूपमा स्वतन्त्रता द्वन्द्वात्मकसँग मेल नखाने कुरा हो । त्यसैले केन्द्रियताको महत्व कम छैन । जनवादसँग केन्द्रियता स्वतः जोडिन्छ । केन्द्रियताभित्र निम्न कुराहरू पर्दछन । व्यक्ति संगठनको माताहतमा हुन्छ, अल्पमत बहुमतको अधिनमा, तल्ला कमिटीहरू उपल्ला कमिटीहरूको अधिनमा, सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको अधिनमा र केन्द्रीय कमिटी पनि सम्मेलन वा महाधिवेशनको अधिनस्त हुनुपर्दछ । केन्द्रियता विना पार्टी संगठनहरू परिचालन हुन सक्दैनन् । यसर्थमा केन्द्रीयता भनेको अनुशासन हो ।

त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ । यसर्थमा जनवाद लाई अधिकार र केन्द्रियतालाई अनुशासन वा कर्तव्यको रुपमा परिभाषीत गर्न सकिन्छ । अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ । पार्टी संगठनमा पनि स्वतन्त्रता खोज्दा अनुशासनको ख्याल वा अधिकार खोज्दा कर्तव्यको पालना गर्नैपर्छ । जनवादी केन्द्रीयताको पनि त्यही रूपमा अन्तरसम्बन्ध छ । लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो बुंदा जनवादी केन्द्रीयताले जनवाद र अनुशासनबारे यसरी नै बताउँछ ।

तसर्थ लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहन्छ भन्ने कुरा बुझ्नु पर्दछ । लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनैपनि कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रीक र अनुशासित बनाउन सक्दैन भन्नेमा यसले जोड दिन्छ ।

जनवादी केन्द्रीयताले मुख्यतया ६ कुरालाई इंगित गर्छ :
१.व्यक्ति संगठनको अधिनस्थ हुन्छ – व्यक्ति संगठनको अधीनमा हुने भनेको संगठित व्यक्तिहरु अर्थात् संगठनका सदस्यहरु, सांगठनिक विधि, पद्दति र संगठनात्मक अनुशासनमा बाँधिएका हुन्छन् भन्ने हो । यसको अर्थ अनुशासनहीन र अमर्यादित अभिव्यक्तिहरु दिने जस्ता क्रियाकलापहरु कम्युनिष्ट पार्टीका सदस्यहरुबाट हुने छैनन् । सांगठानिक निणर्यलाई कुनै पनि पार्टी सदस्यले पालना गर्नुपर्ने हुन्छ ।

२. अल्पमत बहुमतको अधिनस्थ हुन्छ – संगठनको विचार प्रवाह अथवा नेतृत्व चयनमा सर्वसहमति हुन नसकी मत विभाजनको अवस्था आएमा अल्पमत र बहुमतको पद्धतीलाई अबलम्बन गरिन्छ, यसो हुदा अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विना सर्त लागु गर्न पर्दछ भने बहुमतले पनि अल्पमतको सम्मान गर्नु पर्दछ ।
३. तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ – लेनिनवादी संगठनात्मक सिद्धान्तको मुख्य पाटो संगठन निर्माण गर्नु हो अर्थात् संगठनात्मक संरचना निर्माण गर्नु हो । माथिल्ला कमिटीहरुले तल्ला कमिटीहरुको गठन, पुनर्गठन तथा संचालन गर्ने भएको हुदा तल्ला कमिटीहरु माथिल्ला कमिटीको मातहतमा रहने गर्दछन् ।

४. पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् – महाधिवेशनले निर्दिष्ट गरेको विचार नीति तथा कार्यदिशाहरु केन्द्रिय कमिटी मार्फत कार्यान्वयन गराउनका लागि मातहतका कमिटीहरुलाई सर्कुलर गरिन्छ, मतहतका कमिटीहरुले सोको अक्षरस पालना गर्नुपर्ने भएकाले सम्पूर्ण कमिटीहरु केन्द्रिय कमिटीको अधिनमा हुन्छन् ।
५. केन्द्रीय कमिटी महाधिवेशनको अधिनस्थ हुन्छ – महाधिवेशनले पार्टीको वैचारिक लाइन, विधान, तत्कालिक कार्यक्रम र नयाँ नेतृत्व तय गर्छ । केन्द्रीय कमिटी लगायत मातहतका कमिटीहरुको संगठनात्मक स्वरुप तय गर्छ । विचार र कार्यक्रमको कार्यान्वयनका लागि महाधिवेशनले केन्द्रीय कमिटीलाई निर्देशन गर्छ । महाधिवेशनको निर्देशनभन्दा बाहिर केन्द्रीय कमिटी जान सक्दैन । त्यसैले केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा हुन्छ ।
६. महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ – लेनिनवादी संगठनात्मक सिद्धान्तले कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कम्युनिष्ट पार्टीको सदस्य हुनका लागि पार्टीको नीति तथा कार्यक्रम मान्ने, सदस्य मात्रै बनेर नबसिकन पार्टीको निश्चित संगठन कमिटी बसेर काम गर्नैपर्ने र पार्टीलाई नियमित लेवी तिर्ने व्यक्ति मात्र सदस्य हुन पाउँछ ।

लेलिनवादी संगठनात्मक सिद्धान्तले उल्लेखित आधारहरुको पैरवी गरेता पनि मौजुदा कम्युनिष्ट पार्टी भित्रका गुट र उपगुटले तल्लो कमिटीसम्म जरा गाडेको देखिन्छ । नेपाली राजनीतिमा गुटहरूको उत्थान र पतन वैचारिक वा राजनीतिक विषय होइन । यो विशुद्ध प्राविधिक र संगठनात्मक विषय हो । संगठनात्मक व्यवस्थापन भित्रको जनवादी केन्द्रियता कमजोर हुँदा पार्टीभित्र एकता, संघर्ष र विभाजन बढ्दै जान्छ । स्वाभाविक छ एउटै राजनीतिक दलभित्र पनि फरक मत, अभिमत हुन्छन् । फरक विचारहरूको एकता, संघर्ष र संश्लेषणबाटै नवीन विचारको जन्म हुन्छ । रचनात्मक बहसका लागि पार्टीहरूमा दुई लाइन संघर्षलाई स्वीकार पनि गरिन्छ । तर दुई लाइन संघर्ष जब स्थायी गुटमा फेरिन्छ त्यसले अन्तरपार्टी लोकतन्त्रलाई दूषित गर्छ । गुट संस्कृतिले योग्यताभन्दा आग्रहहरूमा जोड दिन्छ । यो मठाधीशहरू जन्माउने अप्राकृतिक तरिका हो । जसले हजारांै कार्यकर्तालाई किनारामा धकेल्छ । गुट नसमाउने कार्यकर्ताहरू पाखा पारिन्छन् । उनीहरू कुण्ठाको सिकार हुन्छन् । जसको प्रत्यक्ष प्रभाव सामाजिक व्यवहार र राज्य सञ्चालनमा देखिन्छ । यसको निराकरण गुटको अन्त्य र कार्यकर्ताहरूको सार्वभौमिकताको रक्षाबाट मात्र सम्भव छ । पार्टी संगठनहरूमा जिम्मेवारीको व्यवस्थापन नेताको आग्रहमा होइन, नीतिहरूबाट निर्देशित हुनुपर्छ । योग्यताको कदर गर्ने परिपाटी बसाउन आवश्यक छ ।

अन्त्यमा सही नीति, कार्यदिशा र सिद्धान्तहरु किताब वा व्यक्तिको दिमागबाट पैदा हुँदैनन् । सामाजिक व्यवहार, वर्ग संघर्ष र जनताको बीचबाट पैदा हुन्छन् । सामाजिक व्यवहारका विभिन्न फांट, वर्गसंघर्षका विभिन्न मोर्चा र जनताको जीवन स्थितिका विविधताले गर्दा त्यहाँ स्वतः विविधता हुन्छ । त्यसकारण विचार र काममा एकताको निम्ति जनवादी केन्द्रियताको पालना गर्नुपर्दछ । विचार र संगठनमा एकता कायम गर्न र एकीकृत ढंगले काम गर्नका निम्ति जनवादी केन्द्रियता अनिवार्य तत्व हो । जनवादमा आधारित एकता अनुशासनका सीमाहरु भएको स्वतन्त्रता, पार्टीको जनवाद र केन्द्रियता, स्वतन्त्रता र अनुशासन पार्टी विधानको ठोस निर्देशन अनुरुप हुनुपर्दछ । अतः आजको अवस्थामा कम्युनिष्ट पार्टीलाई बलियो बनाउनका निम्ति जनवादी केन्द्रियता पार्टी संगठनात्मक सिद्धान्तको अर्काे महत्वपूर्ण विषय हो । – [email protected]

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]