जेष्ठ ६, २०८१ आईतबार

मुल्यवृद्धि गरेर बेचियो बिर्तामोडमा जनक शिक्षाको किताव

बिर्तामोड । बिर्तामोडको एक पुस्तक पसलले तोकिएको मूल्यभन्दा बढि मूल्यमा पुस्तक विक्री गरेको पाइएको छ । न्यू विद्यार्थी पुस्तक पसल बिर्तामोडले कक्षा ८, ९ र १० को नेपाली र अङ्ग्रेजी विषयका पुस्तकहरुमा बढि मुल्य लिएको पाइएको छ ।

संस्थागत विद्यालयहरुमा पनि कक्षा ८, ९ र १० को नेपाली र अङ्ग्रेजी विषयका पुस्तकहरु जनक शिक्षाकै पढाइने गरिएको छ । न्यू विद्यार्थी पुस्तक पसलले जनक शिक्षाले तोकेको भन्दा महंगो मुल्यमा पुस्तक विक्री गरेको भेटिएको छ ।

जनक शिक्षाले कक्षा ८ को नेपाली र अङ्ग्रेजी विषयको पुस्तकको मुल्य क्रमशः १२३.२ रुपैयाँ र १४६.३ रुपैयाँ तोकेको छ । तर, न्यू विद्यार्थी पुस्तक पसलले उक्त पुस्तकहरु क्रमशः १४० र १६० मा विक्री गरेको बिल फेला परेको छ ।
यसैगरी कक्षा ९ मा जनक शिक्षाले नेपाली र अङ्ग्रेजी विषयको पुस्तकको मुल्य क्रमशः १०७.८ र १३८.६ रुपैयाँ तोकेको छ । तर, न्यू विद्यार्थी पुस्तक पसलले उक्त पुस्तकहरु क्रमशः १२५ र १५० मा विक्री गरेको प्रमाण फेला परेको छ ।
यसरी नै कक्षा १० मा जनक शिक्षाले नेपाली र अङ्ग्रेजी विषयको पुस्तकको मुल्य क्रमशः १३८.६ र १७३.८ रुपैयाँ तोकेको छ । तर, न्यू विद्यार्थी पुस्तक पसलले उक्त पुस्तकहरु क्रमशः १५५ र १९० रुपैयाँमा विक्री गरेको छ ।

न्यू विद्यार्थी पुस्तक पसलका सञ्चालक रविन बरालले आफूले जनक शिक्षाले तोकेको मूल्य थाहा नभएका कारण उक्त दरमा पुस्तक विक्री गरेको स्वीकार गरेका छन् । उनले पुस्तकको वास्तविक मुल्य थाहा पाएपछि आफूबाट पुस्तक किनेकाहरुलाई बोलाएर रकम फिर्ता दिएको बताएका छन् ।
उनले कक्षा ८, ९ र १० को नेपाली र अङ्ग्रेजी विषयका पुस्तकहरु काठमाडौंबाट तीन सय वटाका दरले मगाएर बैशाख ७ गते बेचेको बताए । उनले आफूले ल्याएको तीन सय प्रति पुस्तक एकै दिनमा बिक्रि भइसकेको जानकारी दिए । बरालले महंगो दाममा पुस्तक बेचेको स्वीकारेका छन् ।

न्यू विद्यार्थी पुस्तक पसल जनक शिक्षाको आधिकारिक बिक्रेताको सूचिमा सुचिकृत नभएको जनक शिक्षा कोशी प्रदेशका प्रमुख भुपराज थापाले बताएका छन् । उनले सूचिकृत नभएकोले जनक शिक्षाको पुस्तक बेच्नु गैरकानुनी भएको बताएका छन् ।

न्यू विद्यार्थी पुस्तक पसलले पोहोर साल पनि अनाधिकृत रुपले अधिक मूल्यमा पुस्तक बेचेको प्रमुख थापाले जानकारी दिए । उनले न्यू विद्यार्थी पुस्तक पसलले व्यापारका नाममा ठगी गरेको बताएका छन् । यस्तो ठगीहरुलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने उनको भनाई छ ।

पुस्तक तथा स्टेशनरी महासंघ झापाका अध्यक्ष सञ्जय शर्मा सापकोटाले यसरी अधिक मूल्यमा पुस्तक बेच्नु कालो बजारी भएको बताएका छन् । उनले यस्तो कालो बजारी गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै जनक शिक्षाले तोकेकै मूल्यमा सम्पूर्ण विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]