बैशाख २३, २०८१ आईतबार

कमलमा समाधि गृह फोडेर फलामे बस्तु चोरी

झापा । कमल गाउँपालिका वडा नं. ५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य बस्तुहरु चोरी हुन थालेको छ ।

दर्जनौं समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरु राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताउनुभयो । उहाँले किराँत समुदायको आस्थाको धरोहरको रुपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भन्नुभयो–“समाधिस्थलका गृहहरु यसरी काटेर लैजाने घटना नयाँ समस्याका रुपमा देखा पर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरुले बेलैमा ध्यान दिआंै ।”

पितृ पुर्खालाई समाधिस्थ गरिएको स्थानमा राति राति तोडफोड गर्ने र फलामजन्य बस्तुहरु चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उहाँले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कार्वाही गरिनु पर्ने माग गर्नुभयो ।

रतुवामाई वृक्षारोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ । यहाँ हजारौं व्यक्तिको समाधि छ । किरातीहरुले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जंगल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ ।

गेउरियामा करीव डेढ बिगाहा क्षेत्रफलमा राई, लिम्बु, गुरुङ, शेर्पा, मगर लगायतको समाधि राखिदै आएको छ । समाधिस्थलमा कंक्रिटको चिटिक्क परेका साना साना घर निर्माण हुने गरेका छन् । एकै ठाउँमा हजारौं समाधि रहेकाले त्यो जंगल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ ।

कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताउनुभयो । समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालू आर्थिक वर्षभित्रै गरिसक्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]