कृषि उत्पादनमा आत्मनिर्भर बन्दै शिवसताक्षी
हातमा मकैको बोट बोकेर कृषि शाखाको ढोकामा पसौ कि नपसौ गर्दै केही बेर अलमलिएका एक कृषकलाई शिवसताक्षी नगरपालिकाको शाखाका कर्मचारीले भित्र प्रवेश गर्न अनुरोध गरे । मकैमा लागेको किरा मार्ने औषधी निशुल्क पाइन्छ अरे भन्ने सुनेर मकैको बोट लिएर उनी आएका थिए ।
उनी थिए शिबसताक्षी ९ का तिलक पोखरेल । पोखरेलको प्रश्न टुंगिन नपाउँदै कृषि शाखाको प्रबिधिक जानुका श्रेष्ठले यहाँ त औषधी पाइदैन त भन्ने जवाफ दिइन । सबै अलमल परे केहीबेर पछि उनै प्राविधिकले बोट बिरुवामा देखिएको किरा मार्न प्रयोग गर्ने सामाग्रीलाई विषादी भनिन्छ भनेर जानकारी दिइन् । प्राविधिकले उनको मकैको बोट ओल्टाइ पल्टाइ हेरेर फौजी किरा लागेको जानकारी दिइन् ।
जानकारी साथै फौजी किरा मार्ने दुई पोका विषादी प्राबिधिक श्रेष्ठले निशुल्क दिइन् । विषादी छर्ने क्रममा अपनाउनु पर्ने होसियारी, छर्ने व्यक्ति सुरक्षित भएर विषादी छर्न, केही दुबिधा भए आवश्यक सल्लाह लिन प्रबिधिक श्रेष्ठले आग्रह गरिन । वालीमा विषादी छर्दा बेलैमा सावधान अपनाउन सके मात्र भविष्यमा किसान स्वास्थ्य रहन सक्ने कृषि प्राविधिक श्रेष्ठले सुझाव दिइन् । यो संवाद झापाको शिबसताक्षी नगरपालिकाको कृषि शाखाको हो ।
नगर पालिकाको कृषि शाखामा पहिलो पटक मकैमा लागेको किराको समस्या लिएर पुगेका पोखरेलले बाटोमा आउने क्रममा साथी भाइले जा भनेको भरमा आइयो बाटोबाट नै फर्किनुपर्ने हो कि भन्ने दुबिधामा थिए । कर्मचारीले सकियो भनेर त्यसै पठाउने होकी भन्ने डर लागे पनि विषादी पाए पछि खुशी लागेको बताए । दोमुखाको नहर, खोलानाला, पोखरी र सिमसार क्षेत्र यसै शिबसताक्षी नगरपालिकामा रहेको हँुदा व्यबसायिक खेतीको लागि यस ठाउँ अत्याधिक सम्भावना बोकेको छ ।
एक समुह एक उत्पादन कार्यक्रम, किसान सूचीकरण, धान वाली प्रबर्धन, पकेट विकास कार्यक्रम, किसानलाई धानको उन्नत बिउ वितरण, साना सिचाईको सामग्री वितरण, कृषि जैविक विविधता संरक्षण कार्यक्रम, आकस्मिक बाली संरक्षण सेवा र उनै किसानहरु लाई निशुल्क रुपमा नगरपालिकाको कृषि शाखावाट विषादी वितरण त्यसको छर्ने विधि, विषादी छर्ने ब्यक्तिको सुरक्षित हुने तरिका आदिका बारेमा सल्लाह दिने लगायतका काम भइरहेको शिवसताक्षी नगर पालिकाको कृषि शाखाका अधिकृत लेनिन शमशेर कुवँरले बताएका छन् । नगर भित्र पर्ने कनकाई नहर सिचाई आयोजना भित्र जिका परियोजनाको सहकार्यमा व्यवसायिक तरकारी उत्पादन कार्यक्रममा नगर पालिकाको तर्फबाट कृषि विकास शाखाको प्राविधिक सहयोग रहेको पनि अधिकृत कुवँरले बताए ।
एक समुह एक उत्पादन कार्यक्रममा नगदे बाली तोरीको ३ समुह, मकैको २ समुह, फलफुल र कागतीको एक किसानको समुह सक्रिय रहेका छन् । किसान सूचीकरण कार्यक्रम संघीय सरकारको शसर्त अनुदान र आन्तरिक स्रोतबाट वडा नम्बर २ देखि ७ सम्म सञ्चालन भइरहेको कृषि शाखाले जनाएको छ । यसै गरी धान उत्पादन एक समुहले २० हेक्टर क्षेत्रफल चार वटा समुहले गरी रहेका छन् । तोरी, फलफूल उत्पादनमा किसानको लागतको ५० प्रतिशत अनुदान नगर सरकारले दिएको कर्मचारी कुवँरको भनाइ रहेको छ । कृषि विज्ञहरुलाई बोलाएर किसानहरुलाई आधुनिक कृषिको सीप क्षमता अभिवृद्धिका छलफल, अनुभव आदान प्रदान, तालिम सञ्चालन गर्ने गरेको नगर पालिकाले जनाएको छ ।
संघीय सरकारको शसर्त अनुदान कार्यक्रम अन्तर्गत कृषि जैविक विविधता संरक्षण कार्यक्रम मार्फत हराउँदै गोइरहेका स्थानीय जातको बाली, धान, कोदो, वोडीको बिउ उत्पादन संरक्षण र जैविक विविधितामा आवद्ध कृषक समुह, किसानहरुको संस्थाको निवेदनको मागको आधारमा आवश्यक कृषि औजारहरु प्रदान गर्ने गरेको बताइएको छ ।
आकस्मिक बाली संरक्षण सेवा अन्तरर्गत मुख्य बालीनालीमा लाग्ने रोग किराको रोकथाम पहिलो प्रयास रहने कृषि शाखा अधिकृत कुवँरको भनाइ रहेको छ । धानमा अहिले फड्के किरा, ब्लाष्ट, डढुवा रोग मुख्य देखिएको छ । मकैमा फौजी किरा र गवारो रोग देखिएको छ । ब्याकटेरिया, ढुसी नासक आवश्यक विषादीहरु आवश्यक बोट बिरुवाको अवलोकन गरी विषादी दिने गरेको कृषि प्राविधिकहरु बताउछन् ।
तरकारीमा लाग्ने खवटे, लाइ, फल कुवाउने झिगा नियन्त्रणका लागि पनि अग्र्यानी विषादी निशुल्क कृषकहरुलाई दिने गरेको बुझिएको छ ।
एक दशक बढी समयदेखि तरकारी खेती गर्दै आएका शिवसताक्षी ७ सिमल चोकका बासिन्दा डिल्ली प्रसाद पौडेलको दैनिकी भनेको तरकारी खेती हो । आफ्नै १ बिगाहा क्षेत्रफलमा कोभी, काउली, टमाटर, भेडे खोर्सानी आदिको व्यवसायिक तरकारी खेती लगाउने काम उनी गरी रहेका छन् ।
बाली नालीमा देखिएका साना हुन् या ठूला समस्या खबर पाउन साथ नगर पालिकाको कृषि शाखाका प्राविधिक कर्मचारीहरु स्थलगत रुपमा पुगेर होस् वा सञ्चार माध्यमवाट सल्लाह परामर्श दिने गरेको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिका अध्यक्ष समेत रहेका पौडेल बताउँछन् । उनी भन्छन् ‘अन्य किसानले वालीमा यस्तो समस्या आएको छ भनीदिनुन भन्छन् त्यस बेला फोन गरिदिन्छु उनीहरु आएर धेरै किसानको बाली हेरेर सकेको उपचार गरी दिने, परामर्श दिने गरेका छन् ।’
बिगतमा कृषि शाखाबाट पानी तान्ने मोटर पाएको अगुवा किसान पौडेलको सुझाव छ । गाउँ, टोल सकिन्छ खेत बालीमा कृषि शिक्षा, विषादी प्रयोग र त्यसको असरवारे अभियानको रुपमा चलाउनु पर्छ । आगामी दिनमा कृषिमा बजेट धेरै वृद्धि गर्न पौडेलको माग छ ।
किसानले बाली नालीमा लगाएको विषादी कसरी लगाउने, विषादी लगाएको तरकारी कति दिनपछि खान हुने नहुने उपभोक्तालाई थाहा छैन । सम्बन्धित निकाय मौन छ, एग्रोभेटका पसलेहरु मापदण्डलाई ख्याल गर्ने भन्दा पनि विषादी बिक्री गर्ने तर्फ ध्यान छ । यसले गर्दा तपाई हामीले धेरै विषादी मात्र खाइरहेका छौं । यसको प्रभावकारी अनुगमन छैन, उनले गुनासो गरे ।
शिवसताक्षी १० का कोइरी कृषि फर्मका किसान राजन सिंह कोइरी ३ बिगाहा क्षेत्रफलमा टमटर खेती गरी रहेका छन् । उनले टमटर खेतीमा अनुदान पाएका छन् । ३ वर्ष अघिदेखि कृषि शाखाको सम्पर्कमा रहेर तरकारी खेती गरी रहेका सिंहले तरकारी खेतीमा पानी तान्ने मोटर अनुदानमा पाएको र जुनसुकै बेला पनि कृषि प्राविधिकहरुको सल्लाह पाएको बताएका छन् ।
कोइरी मात्र होइन शिवसताक्षी १ का बेनु प्रसाद अधिकारी ५ वर्ष अघिदेखि तरकारी खेती गरी रहेका छन् । विदेशबाट फर्किएपछि आफ्नै ३÷४ कठ्ठा जमिनमा तरकारी लगाएका अधिकारीले बेला बखत वडाको कृषि समुह मार्फत थोरै भए पनि अनुदानमा बिउबिजन लगायतका सामाग्री पाएको बताए । बिउबिजन रोप्ने छर्ने समय सकिए पछि कृषि शाखाले किसानलाई अुनदान पठाउने, धेरै माग हुन्छ थोरै पठाउने प्रवृत्ति रहेको गुनासो कृषक अधिकारीले सुनाए ।
यस्ता अनुदानले वास्तविक किसान र धेरै साना किसानलाई प्रोत्साहन गर्नु पर्ने उनको सुझाव छ । शिवसताक्षी १ कै अर्का किसान लुङ्गा कृषि फर्मका मोती लावतीले अर्गानिक तरकारी खेती ५ वर्ष अघिदेखि गर्दै आएका छन् । लावतीले नगरपालिकाको कृषि शाखाबाट अनुदानमा एउटा टनेल र एउटा मकै रोप्ने मेसिन पाएका छन् ।
यो मेसिनले ३ कठ्ठा जमिनमा मकै पनि रोपी सकेको उनले बताए । नगर पालिकाको कृषि शाखामा रासायनिक मलका कारण उत्पन्न समस्याको उपचार गर्ने प्राविधिक मात्र रहेको अर्गानिक खेती सम्बन्धिको प्राविधिक राखी दिए उनीहरुबाट प्रत्यक्ष सल्लाह, परामर्श लिन सजिलो हुने अर्गानिक तरकारी खेती गर्दै आएका किसान लावतीको धारणा रहेको छ ।
नगरभित्र मुख्य रुपमा खाद्यान्न बाली चैते धान, बर्खे धान, नगदे बाली मकै तोरी आदि उत्पादन हुने गरेको रहेको छ । कनकाई नदीले कटान गरी छोडेको धेरै बगर रहेको हुँदा त्यो बगरमा खेती अन्तर्गत खरबुजा खेती रहेको शिवसताक्षी नगरपालिकाको कृषि शाखा प्रमुख, प्राविधिक सहायक रविन भट्टराईले बताए ।
हिउँदे बालीमा कोपी, बन्दा, काउली बौडकाउली, करेला, टमटर र आलु रहेका छन् । यहाँ बर्खे तरकारीमा घिरौला, भिन्डी, फर्सी, सिमी बोडी उत्पादन हुन्छ । शिवसताक्षीवाट हिउँदको समयमा मनग्गे तरकारी शिवसताक्षी बाहिरका कनकाई, बिर्तामोड, कमल, दमक लगायतका ठाउँमा निर्यात हुने गरेको कृषि शाखाले जनाएको छ ।
बर्खे सिजनको असार, साउन र भदौ महिनामा भने बाहिरबाट तरकारी आयात गर्नु पर्ने अवस्था रहेको कृषि शाखाका कर्मचारीहरु बताउँछन् । झापाको अन्य पालिका मध्ये शिवसताक्षीमा सिचाईको अवस्था धेरै राम्रो रहेको छ । यहाँ कन्काई नहरबाट हुने नहरको सिचाई र भूमिगत सिचाई गरी ८० प्रतिशत खेतीमा सिचाई हुने गरेको कृषि शाखा प्रमुख भटराईले बताए । शिवसताक्षीको वडा नम्बर ४, ५, ६ र ७ को पूरै भागमा सिचाई हुने गरेको छ । वडा नं. २, ३ र १० को केही भागमा मात्र सिचाई हुने गरेको अगुवा किसानहरु बताउछन् ।
कृषि उत्पादन र बजारको सन्दर्भमा कुरा गर्दा शिवसताक्षी पालिका भित्र सबै वडामा हटियाहरु धेरै रहेका छन् । यहाँ कृषि उत्पादन पनि राम्रो हुन्छ तर बजार व्यवस्थापनमा भने कमजोर अवस्था रहेको बुझिएको छ । थोक बिक्री हुने ठूलो बजार स्थापना हुन नसक्नु, किसानले सिजनमा धेरै उत्पादन गर्ने सस्तोमा बाध्य भएर तरकारीको बिक्री गर्ने, बेमौसममा ग्राहकको माग अनुसारको तरकारी उत्पादन गर्न नसकेको शिवसताक्षी बासीको कृषिको मुख्य समस्या र चुनौती रहेको हुँदा यसको समाधान खोज्नु पर्ने कृषि शाखाका प्रमुख भटराईको सुझाव रहेको छ ।
स्थानीय तहमा कृषि शाखा आए पछि किसान र सरोकारवालालाई धेरै कुराले सहज भएको कृषि पशु शाखाको अधिकृत तथा प्रमुख रामअवतार यादवले बताए ।
किसानले साना तिना कामको लागि जिल्ला सदरमुकाम धाउनु पर्ने वाध्यता हटेको छ । घर गाउँमै रहेको कृषि शाखामा आएर आफना समस्या र गुनासो प्रत्यक्ष राख्न पाएको यादवको भनाइ रहेको छ । जनप्रतिनिधिहरुले पनि कृषिको गतिविधि र कृषकका बीच पुलको काम गरेको र वडा सरकार र पालिका सरकार बीच सिधा सम्पर्क समन्वय, सहकार्य गर्न सजिलो भएको प्रमुख भटराईले अनुभव छ ।
कृषि प्राविधिक, पशु सेवा प्राविधिक, पशु चित्किसक विशेषज्ञको दरबन्दी अभाव, दरबन्दी भएर कर्मचारीको अभावले किसानका धेरै समस्या हल हुन नसकेको, भने जस्तो सेवा दिन नसकेको अधिकृत यादवले बताए ।
शिवसताक्षीको प्रत्येक वडामा छिटो छरितो सेवा दिन कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्नु पर्ने आवश्यकता रहेको अधिकृत यादवको सुझाव छ । वि.स. २०७३ साल फागुन २७ गते राजपत्रमा सुचना प्रकाशित गरी साविक पाँचगाछी, धरमपुर, शिवगञ्ज, सतासीधाम गाविसलाई समेटेर शिवसताक्षी नगरपालिका बनाइएको हो ।
यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । नगरपालिकाको नगर प्रोफायलका अनुसार शिवसताक्षीमा १० हेक्टर बढी भूभाग खेती योग्य जमिन रहेको कृषि शाखा प्रमुख भटराईले जानकारी दिए ।
जिल्ला भित्रका अरु पालिकामा भन्दा पनि शिवसताक्षी नगरपालिकाले कृषि, पशुको क्षेत्रमा प्रभावकारी बजेट छुट्याएको नगर पालिकाले जनाएको छ । चालु आर्थिक वर्ष ०७९÷०८० को वजेटमा कृषि शिर्षकमा ९० लाख र पशु शिर्षक ६० लाख बजेट छुट्यााएको कृषि शाखाले जनाएको छ ।
धानवाली प्रर्वद्धन अन्तर्गत धान खेती गर्ने किसानहरुलाई त्यस सम्बन्धी तालिम दिने, किसानलाई एड्भान्स तालिमका लागि अन्यत्र पठाउने, सिचाई गर्ने मोटर वितरण, धानको बिउ वितरण, नयाँ धानको जातको प्रविधिको प्रर्दशनी गर्ने गरेको शिवसताक्षीको कृषि शाखाले जनाएको बुझिएको छ । चालु आर्थिक वर्षको वजेटवाट आउँदो बैशाखको अन्त सम्ममा किसानको माग बमोजिम तीन सय थान पानी तान्ने मोटर बोरिङ् किसानलाई वितरण गर्ने कामको प्रक्रिया सुरु भइसकेको छ । एक मोटर बोरीङ्को रकम शिवसताक्षी नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानी रहेको कृषि शाखाले जनाएको छ ।
अनुदान वितरणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, कृषक समुहको अध्यक्ष, प्रतिनिधिहरुको परामश, सल्लाह र अनुदान वितरणको मापदण्डमा रहेर छनौट गरिने कृषि शाखाका प्राविधिकले जनाएका छन् । अनुदानमा दिएको मोटर बोरिङ् किसानले जडान गरे नगरेको अनुगमन गर्ने पनि कृषि शाखाको कार्यतालिकामा रहेको अधिकृत कुवँरले बताए ।
बेमौसमी तरकारी उत्पादनलाई वृद्धि गर्ने उदेश्यले पालिका भित्र कृषि कर्म गरी रहेका चार सय बढी किसानलाई टनेल वितरणको प्रक्रिया सुचारु भइसकेको हुँदा आगामी जेठ महिनाको पहिलो सातासम्म वितरण गरिने योजना रहेको कृषि शाखा प्रमुख भटराईले बताए । यसबाट किसानहरुले राम्रो आम्दानी गर्ने प्रमुख भटराईले आशा व्यक्त गरेका छन् ।
कृषि शाखाले नगर पालिका भित्रका सबै कृषकलाई दिने सेवा प्रभावकारी रहेको छ । कृषि शाखाबाट प्राप्त हुने अनुदान आदिको सेवा वडा कार्यालय मार्फत दिदा दुरुपयोग भएको दोभानटोल आईपीएम कृषक समुह शिवसताक्षी ३ का अध्यक्ष शंकर राज निङ्लेखुको बुझाइ रहेको छ ।
मापदण्ड पूरा गरी दर्ता भएका कृषक समुहबीच सहकार्य, समन्वय गरी कृषि सेवा, प्रविधि हस्तान्तरण गाउँ–गाउँका किसानसम्म पु¥याउन सके नतिजामुखी काम हुने, कृषक समुहले अपनत्त्व महसुस गर्ने अगुवा किसान निङ्लेखुको धारण रहेको छ । यसमा कृषक दाजुभाइ, अगुवा किसान पनि हर समय जागरुक भएर कृषक र कृषि शाखालाई खबरदारी गर्दै पाएको सेवा खोजेर लिनु पर्ने निङ्लेखुको सुझाव छ । हिजो जिल्लामा धाएर सेवा लिनुपर्ने स्थितिको अन्त भएसँगै अहिले समयको बचत, कृषि कार्यालयमा पुगेर सेवा लिएर अन्य व्यक्तिगत काम सकेर आउन सकिने लगायतका धेरै फाइदा पुगेको निङ्लेखुले बताए ।
पानी तान्ने मोटर बोरिङ, टनेल आदिको किसानबाट जति माग आएको बमोजिम वितरणको प्रक्रिया अघि बढी सकेको शिबसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्रा (मेगाहाङ)ले बताए । कृषि प्राविधिक, पशु सेवा प्राविधिक, पशु चित्किसक विशेषज्ञको दरबन्दी अभाव, दरबन्दी भए पनि कर्मचारीको अभावको सम्बन्धमा राखेको जिज्ञासामा नगर प्रमुख थ्रोपाले भने ‘किसानको माग र आवश्यकता रहे पनि केन्द्रदेखि बजेट कटौती, शिवसताक्षीको पनि आर्थिक अवस्था खस्किएको हँुदा भविष्यमा नगरको आर्थिक अवस्था मजबुद्ध भएपछि ती विशेषज्ञहरुको व्यवस्थापन गर्ने छौं ।’
कृषि प्राविधिक लगायतका केही कर्मचारी विज्ञापन आब्हानपछि छनौट गरेर काममा लागीसकेका छन् । केही पदको विज्ञापन गरे पनि उम्मेदवारी नपरेको, पद पुर्ति हुन बाँकी रहेको नगर प्रमुख थोप्राको भनाई रहेको छ । प्रस्तुती : मनकुमार गदाल