जेष्ठ ६, २०८१ आईतबार

झापामा सुशासनमा चलेका सहकारी बचाउन छुट्टै एलायन्स बनाइयो

बिर्तामोड । झापामा सुशासनसहित सञ्चालित सहकारीहरु संगठित भएका छन् । कोअरेटिभ एलायन्स अफ झापा नाम दिएर सहकारीहरुले १४ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् ।

जिल्ला सहकारी संघको विकल्पमा एलायन्स स्थापना गरिए पनि संगठित सहकारीका सञ्चालकहरुले त्यस्तो नबुझिदिन आग्रह गरेका छन् । एलायन्सका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारीमाथि भइरहेको आक्रमण विरुद्ध रचनात्मक अभियान सञ्चालन गर्दै सहकारीहरुलाई सुशासनमा सञ्चालन गर्न संगठित भएको बताए । सहकारीविरुद्ध भ्रम छर्दै सिंगो सहकारी अभियानलाई मुछ्ने काम भइरहेको छ, उप्रेतीले भने – सबै सहकारीले बद्मासी गरेका छैनन् । गलत काम गर्ने र सुशासनमा हिड्ने सहकारीलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । उनले थपे, ऋण मिनाह हुन्छ भन्ने भ्रम छरिएको छ, यो रकम पनि सदस्यहरुकै हो । कुनै पनि हालतमा श्रण मिनाह हुदैन ।

सहकारी नीतिमा सञ्चालित सहकारीहरुलाई संरक्षण गर्ने उद्देश्यले झापाका एक दर्जन सहकारी एलायन्समा संगठित भएका छन् । उक्त एलायन्समा नियतवस बद्मासी गर्ने सहकारीहरु संगठित हुन पाउने छैनन् । नीति बमोजिम, सुशासनमा चल्ने प्रतिवद्धता पुरा गरेमा त्यस्ता सहकारीहरुलाई पनि जोड्दै जाने बताइएको छ ।

जिल्ला सहकारी संघले सहकारीमाथि भइरहेको आक्रमणको प्रतिरोध गर्न नसकेको सहकारी सञ्चालकहरुको आसय थियो । संघले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै कारण एलायन्स बनाइएको बुझिएको छ ।

एलायन्सको १४ बुँदे अवधारणा

१. झापा सहकारी व्यवसायका क्षेत्रमा उर्वर भूमि हो । वित्तीय कारोबार अनि सदस्य संख्याका आधारमा देशकै केही ठूला सहकारी संस्थाहरु झापामा छन् । यतिमात्र होइन, झापाकै एक दर्जन हाराहारी सहकारी संस्थाको वित्तीय कारोबार एक अर्बभन्दा माथिको छ । कोशी प्रदेशका अन्य जिल्लाहरुको तुलनामा झापाको सहकारी अभियान अग्रणी छ । यहाँको सहकारी व्यवसायमा विविधिकरण पनि छ । सहकारी संस्थाहरुबाट बचत तथा ऋणको कारोबार मात्र भइरहेको छैन । सदस्यहरुको आवश्यकतालाई परिपूर्ति गर्ने गरी डेरी उद्योग, चिया उद्योग, मह उद्योग, सहकारी पसल, विऊ विजन उत्पादन, चक्लाबन्दी खेती, कृषि उपज खरिद बिक्री, विद्यालय तथा अस्पताल सञ्चालन, सुपारी प्रशोधन, सहकारी आवास लगायतका व्यवसाय झापाका सहकारीबाट नमूनाका रुपमा सञ्चालन भइरहेका छन् ।

२. देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा सिङ्गो सहकारी अभियान नै तहसनहस पो भएको हो कि भन्ने भ्रमसहित कतिपय सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शङ्का उत्पन्न भएको आभाष गराएको छ । ठीक यही बेला केही व्यक्ति र समूहले सहकारी, लघुवित्त र बैंकबाट लगानी भएको कर्जा तिर्नु पर्दैन भनेर भ्रम पैmलाउने र कर्मचारीलाई धम्क्याउने, दूव्र्यवहार गर्ने एवं त्रासको वातावरण सिर्जना गर्ने गरेको पनि पाइएको छ । केही ऋणीमा यस्ता सन्देशहरुले भ्रम सिर्जना गरेको आभाष पनि गराएको छ ।

३. सहकारी ब्यवसायमा देखिएका यस्ता घटनाहरुको निराकरण गर्न सहकारी संघ–संस्थाहरु स्वयम् जागरुक हुनुपर्ने अवस्था बनेको छ । राज्यले नियन्त्रण गर्ला वा अरु कसैले गरिदेला भनेर कुरेर बसिरहने अवस्था अब रहेन । कतिपय अवस्थामा एक्ला एक्लै गरिएका प्रयासहरु पनि अपूर्ण भइरहेको सन्दर्भमा अब सार्थक सामुहिक प्रयासको थालनी गर्न ढिला हुनु हुँदैन भन्ने निश्कर्षमा हामी पुगेका छौं । यस कार्यका लागि सहकारीको मूल मर्ममा रहेर सदस्य केन्द्रित व्यवसाय सञ्चालन गर्दै आएका प्रारम्भिक संस्थाहरु एक ठाउँमा उभिन सहमत हुँदै ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन गरेका छौं ।

४. सहकारी अभियानमा देखिएका हालका समस्या अस्थायी हुन् । यी समस्या सहकारी अभियानका नभई केही सञ्चालक र व्यवस्थापन पक्षका कमजोरी हुन् । यस्ता कमजोरीलाई शून्यमा झार्न र पुनः दोहोरिन नदिन हामी प्रतिवद्ध छौं । यसका लागि सबै प्रारम्भिक संस्थाले सहकारीका मूल्य, मान्यता, सिद्धान्त, ऐन नियम, संस्थाको विनियम र संस्थाका निर्णयहरुको पूर्ण पालना गर्न प्रतिवद्ध छौं । निर्णयहरु पूर्ण पालना नगरेको पाइएमा कानुन अनुसार सजाय भोग्न तयार छौं ।

५. सहकारी संस्थामा सदस्यहरुले नै शेयर र बचतको रुपमा जम्मा गरेको पुँजी प्रचलित कानुन र संस्थाको नीति नियम अनुसार सदस्यलाई नै ऋणको रुपमा लगानी गरिएको हुन्छ । यस्तो रकम कहीँ कसैले मिनाहा गर्न सक्दैन । यस्तो प्रचलन दुनियाँमा कहीँ छैन । त्यसैले ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न सहकारीका सम्पूर्ण सदस्यलाई अनुरोध गर्दछौं ।

६. सस्तो लोकप्रियता आर्जन गर्न र सत्ताको भर्याङ बनाउन चालिने यस्ता कदमप्रति सबैलाई सतर्क हुन अनुरोध गर्दै आर्थिक अराजकता निम्त्याउन चाहने कुनै पनि व्यक्ति वा समूहलाई सचेत गराउँदछौं ।

७. सहकारी संस्था सदस्यहरुको संस्था हो । यो विशेष अवस्थामा सदस्यलाई अभैm विश्वासमा लिन सदस्य जागरण अभियान विशेषरुपमा सञ्चालन गर्न सबै सहकारी संस्था प्रतिवद्ध छौं । सदस्य जागरण अभियानमा संस्थाको वित्तीय विवरणलाई यथार्थ एवं पारदर्शीरुपमा प्रस्तुत गर्नेछौं ।

८. सहकारी अभियानमा देखिएका आन्तरिक समस्या र बाह्यरुपमा भएका आक्रमणको बारेमा विचार विमर्श गर्दै मूलतः झापाको सहकारी ब्यवसायलाई सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, तीनै तहका सरकारले जारी गरेका सहकारी ऐन तथा नियमावलीहरु, सहकारीका मूल्य, मान्यतामा आधारित रहेर संस्था सञ्चालन गर्न गराउन ‘कोअपरेटिभ एलायन्स अफ झापा’मा आवद्ध सबै संस्थाहरु प्रतिवद्ध छौं ।

९. ‘कोअपरेटिभ एलायन्स अफ झापा’मा आवद्ध सबै संस्थाहरु सहकारी अभियानलाई सदस्यमैत्री एवम् पारदर्शी बनाउँदै एकापसको परिपुरकका रुपमा सहकार्य गर्न सहमत हुँदै हस्ताक्षरित प्रतिवद्धताहरु पालनामा कटिवद्ध हुनेछौं ।

१०. यो फोरमले सहकारी अभियानको प्रवद्र्धनका लागि काम गरिरहेका अरु संघ–संस्थाहरुसँग पनि हातेमालो गर्दै सहकार्य गर्नेछ । यो फोरम कसैको विरुद्धमा गतिविधि गर्न नभई मुलतः नीति, विधि, सिद्धान्त एवम् पारदर्शिताका पक्षधरहरु संस्थाहरु यस फोरममा आवद्ध भई एकापसको परिपुरक एवम् अभियानको प्रवद्र्धन गर्नेछन् ।

११. संस्थाको पारिदर्शिताका लागि ‘कोअपरेटिभ एलायन्स अफ झापा’मा आवद्ध सबै संस्थाहरुको आर्थिक कारोबार र अन्य विवरण मासिक, त्रैमासिक, अर्धवार्षिक एवं वार्षिकरुपमा तोकिएको ढाँचामा निरन्तर सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदछौं ।

१२. ‘कोअपरेटिभ एलायन्स अफ झापा’मा आवद्ध सहकारी संस्थाहरु आपसी सहयोग र एकतामा विश्वास गर्दछौं । राम्रा अभ्यासहरु र सूचनाको आदानप्रदान गर्नेछौं । यदाकता देखिने अस्वस्थ प्रतिष्पर्धा नदोहोर्याउने तर्फ हामी सचेत छौं । एउटै पालिकाका र एकै प्रकृतिका सहकारी संस्थामा दोहोरो सदस्यता कानून अनुसार क्रमिकरुपमा घटाउँदै लैजानेछौं ।

१३.. सुशासनमा सञ्चालन गरिएका सहकारी संस्थाहरु सदस्यकै सहभागितामा झन् सक्षम र अब्बल बनिरहेका छन् । एउटा सहकारी संस्था समस्यामा पर्नु भनेको सिङ्गो अभियान माथि नै प्रश्नचिह्न उब्जनु हो भन्ने कुरालाई ख्याल गर्दै हाम्रा संस्थाहरुलाई पनि अझै विश्वासिलो एवम् पारदर्शीरुपमा सञ्चालन गर्न प्रतिवद्ध छौं ।

१४. सहकारी अभियानलाई दर्बिलो बनाउन प्रारम्भिक सहकारी संस्थाका सञ्चालकहरु, सेयर सदस्यहरु एवम् कर्मचारीहरुसँगै सबै क्षेत्रको सकारात्मक, रचनात्मक सहयोग तथा सुझावको हामी सदैव अपेक्षा राख्दछौं । धन्यवाद । सहकारी अभिवादन ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]