बैशाख १४, २०८१ शुक्रबार

पूर्वाधार निर्माणमा तीब्रता : रिङ रोडको लक्ष्य

बुद्धशान्ति गाउँपालिका झापाको उत्तरपूर्वी गाउँपालिका हो । भौगोलिक हिसाबले तराई र चुरे दुई भागमा पर्ने यो गाउँपालिका हावापानीको हिसाबमा झापाका अन्य पालिका भन्दा रमणीय छ । बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा उत्पादित तरकारी जिल्लाका सब्जी बजारहरुदेखि लिएर भारतको पानीट्याङ्की, नक्सालबारी र सिलिगुडीसम्म चर्चित छ ।

यहाँको काउली, गोलभेडा र सागको बजारमा बेग्लै महत्व हुन्छ । पर्यटकीय क्षेत्रमा पनि विशाल सम्भावना बोकेको यस गाउँपालिकामा पूर्वकै चर्चित सुसाईड पोईन्ट र ठुटेबर रहेको छ । यसैगरी नेपालको पुरानो चिया बगान मध्येको बर्ने चियाबारी पनि यसै गाउँपालिमा रहेको छ । कृषि क्षेत्रको रुपमा परिचत बुद्धशान्ति गाउँपालिका नगर उन्मुख गाउँपालिका हो । निकट भविष्यमै नगर बन्ने सम्भावना बोकेको यस गाउँपालिकाले विकासका कामहरु पनि नगर कै मापदण्डमा गरिरहेको छ ।

विकासका विविध पाटामध्ये शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधारलाई यस गाउँपालिकाले विषेश प्राथमिकतामा राखेर काम गरिरहेको छ । सबै क्षेत्रको विकासलाई दिगो विकासको पद्धतिमा काम गरिरहेको बुद्धशान्तिले पछिल्लो समय भौतिक पूर्वधारको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको पाइएको छ ।

गाउँपालिकाको कुल बजेट ६२ करोड ९४ लाख ४१ हजार तीन सय ४० रहेको छ । कुल बजेट मध्ये बुद्धशान्ति गाउँपालिकाले करिब १५ करोड रकम भौतिक पूर्वधारको विकासमा छुट्याएको छ ।

बुद्धशान्तिले भौतिक पूर्वधारको आफ्नो बजेट मध्ये विषेश प्राथमिकता सडकलाई दिएको पाइन्छ । सडक तथा पुल निमार्णमा गाउँपालिकाले पाँच करोड ८३ लाख रकम विनियोजन गरेको छ । यसैगरी विद्युतीय संरचना निर्माणको निम्ति तीस लाख बजेट विनियोजन गरेको छ ।

बुद्धशान्तिले तटबन्धन तथा बाँध निर्माणका निम्ति पनि राम्रै बजेट विनियोजन गरेको पाइएको छ । गाउँपालिकाको बजेट सिलिङ अनुसार तटबन्धन तथा बाँध निर्माणका निम्ति ४० लाख ५० हजार रकम विनियोजन गरेको छ । यसैगरी सिचाईका संरचनाहरु निर्माणका लागि बुद्धशान्तिले ५० लाख रकम छुट्याएको पाइएको छ ।

 

बुद्धशान्तिले पछिल्लो पाँच वर्षमा करिब १२ वटा नयाँ सडक खोलेको छ भने २२ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ । बुद्धशान्तिका सबै गोरेटो बाटोहरुले सडकको रुप हासिल गरिसकेको छ । योजना प्रमुख तथा सूचना अधिकृत मदन कुमार कडेलले बुद्धशान्तिमा अब ग्राभेल गर्न पर्ने सडक बाँकी नरहेको बताएका छन् । उनले भने, ‘बुद्धशान्तिका सडक अब कालोपत्रे गर्न मात्र बाँकी छ । सबै सडक ग्राभेल भइसके ।’

पूर्वधार विकासको निम्ति पहिलो आवश्यकता सडक भएकाले बुद्धशान्तिको प्रमुख प्राथमिकतामा सडक परेको योजना प्रमुख कडेलको भनाइ छ । सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रका भवनहरु पनि निर्माण हुने क्रम जारी छ । अबको दुई वर्षभित्र स्वास्थ्य र शिक्षा क्षेत्रका भौतिक पूर्वधारहरु पूर्णरुपमा तयार भइसक्ने उनको दावी छ ।

भौतिक पूर्वधारको निम्ति हाल प्राप्त भइरहेको बजेट पर्याप्त नभएकाले प्रदेश र संघीय सरकारलाई उनी बुद्धशान्तिमा बजेट बढाइदिनका निम्ति आग्रह गर्दछन् । बजेट पर्याप्त मात्रामा प्राप्त भए बुद्धशान्तिलाई निकट भविष्यमै जिल्लाकै नमुना पालिका बनाउने उनको दावी छ ।

सबै सडक कालोपत्रे गर्ने योजना
बुद्धशान्ति गाउँपालिकाको पूर्वधार विकासको निम्ति सबैभन्दा पहिले सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको पालिकाका ईन्जिनियर बिक्रम दाहालले बताए । उनले सुरुवाती दिनमा बुद्धशान्तिमा सडकको निक्कै समस्या भएका कारण यो कामलाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनले ०७४ सालमा पालिकाले काम सुरु गर्ने बित्तिकैको अवस्थामा केही गाउँहरुमा बर्खामा जान सक्ने सडक नै नभएको बताए । उनले त्यस्ता सडकहरुको स्तरोन्नति गरेको र ग्राभेल गरेर मानिसहरुलाई सडकको पहुँचमा पु¥याएको बताए । त्यसैगरी केही गाउँमा सडक पु¥याउन नयाँ सडक पनि खोलेको उनले बताए । हाल बुद्धशान्तिले सडकमा पहुँच पु¥याउने काम सकेको र कालोपत्रेको कामको थालनी गरेको छ ।

इन्जिनियर दाहालले बुद्धशान्ति गाउँपालिकको हरेक वर्ष कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको बताएका छन् । यसै योजना अन्र्तगत अघिल्लो कार्यपालिकाको पाँच वर्षमा बुद्धशान्ति भरी कुल २२ किलोमिटर सडक कालोपत्रे भएको तथ्यांक रहेको छ । इन्जिनियर दाहालले बुद्धशान्तिका सबै मुख्य सडकहरु कालोपत्रे गर्ने गरी संघीय सरकारमा योजना पेश गरेको बताएका छन् ।

उनले बुद्धशान्तिमा सामुदायिक भवनहरुको निर्माणको काम पनि धमाधम भइरहेको बताएका छन् । उनले वडा नम्बर २ र ६ मा सामुदायिक भवन निर्माण भइसकेको बताएका छन् । यसैगरी वडाहरु नम्बर ७ र १ मा भवन बनाउने प्रस्ताव स्वीकृत भइसकेको तर काम सुरु नभएको बताएका छन् ।

बुद्धशान्ति गाउँपालिकामा रिङ रोडको अवधारणा भएको तर लगानी नभएको पाइएको छ । रिङ रोडको लागि सामान्य ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने काम मात्र भएको छ । इन्जिनियर दाहालले रिङ रोडको परियोजना संघीय सरकारमा पेश गरेको तर यो पालिका गौरबको योजना भएकोले पालिकाकै बजेटबाट गर्नुपर्ने भएकाले गर्न नसकिरहेको बताएका छन् । उनले रिङ रोडको काममा निरन्तरताको निम्ति खासै लगानी गर्न नसकेको बताएका छन् ।

बुद्धशान्ति गाउँपालिकामा वार्षिक करिब ५० वटा कल्बर्ट बन्ने गरेको तथ्यांक पाइएको छ । पछिल्लो पाँच वर्षमा बुद्धशान्तिमा तीन सय ५० वटा कल्बर्ट बनेको तथ्यांक पाइएको छ । यसै गरी करिब १० वटा सडकहरु बलोपत्रे गरेको पाइएको छ ।

बजेटबाट बुद्धशान्तिले सडकको नियमित आवधिक र आकस्मिक मर्मत संभार कार्यलाई योजनावद्ध ढंगबाट कार्यान्वयन गरेको छ । यसैगरी गाउँपालिका क्षेत्रमा गरिएका पूर्वाधार विकासका भौतिक संरचनाहरुको दिगो व्यवस्थापनका लागि मर्मत संभार कोषमा हरेक वर्ष सात लाख रकम जम्मा गरेको पाइएको छ ।

भौतिक पूर्वधारको क्षेत्रमा पालिकाले आफूले गर्ने काम मात्र हैन नागरिक स्वयमले गर्ने काममा पनि आवश्यक मात्रामा प्राविधिक सहयोग गरेर गुणस्तरीय काम गर्न प्रेरित गरिरहेको छ ।

बुद्धशान्ति भौतिकपूर्वधारको दिगो तथा गुणस्तरीय विकासको निम्ति लागि परेको पाइएको छ । बुद्धशान्तिमा गाउँपालिकाले निजी आवास तथा भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन गराउने गरेको पाइएको छ । बुद्धशान्तिमा घर नक्सा तथा सड़क बाटो सम्बन्धी मापदण्डलाई कडाइका साथ लागू भएको छ ।

गाउँपालिकाको स्वीकृति विना भौतिक संरचना निर्माण नगर्ने नीति तर्जुमा गरिएको छ । पालिकाले गुणस्तरलाई ध्यानमा राखी निर्माण स्वीकृति दिने गरेको छ । गाउँपालिका क्षेत्रमा भू–संरचना बिगार्ने, अरुको जग्गामा असर पर्ने गरी जग्गा सम्याउने वा जमिन खण्डीकरण गर्ने समेत पूर्व स्वीकृतिविना लिनुपर्ने व्यवस्था गरिएको छ । ईन्जिनियर दाहालले यि सबै नीति पूर्वधारको क्षेत्रका गुणस्तरीय र दिगो विकासको निम्ति लिइएको बताएका छन् ।

सघन शहरी बस्ती भएका स्थानमा उपभोक्ता समेतको साझेदारीमा पार्क, ढल, विद्युत, खानेपानी तथा शहरी सडक निर्माणलाई प्राथमिकता दिने बुद्धशान्तिको योजना रहेको छ । यसरी समग्र बुद्धशान्तिको विकास गरी यसलाई चाँडै नगरपालिका बनाउने योजना रहेको ईन्जिनियर दाहालको भनाई छ ।

भौतिक पूर्वधार विकासमा काम गर्न सामान्य नीतिगत झन्झट रहेको उनले बताएका छन् । उनले नेपाल सरकारको खरिद नीति सुधार गर्नुपर्ने माग राखेका छन् । यसैगरी भिजनका साथ काम गर्ने पालिकाहरुलाई भिजनका आधारमा बजेट दिनुपर्ने उनको माग छ । उनले बुद्धशान्ति गाउँपालिकासँग पर्याप्त भिजन भएको तर बजेट नभएको गुनासो गरेका छन् ।

बुद्धशान्तिको बिकास गर्ने हुटहुटी
बुद्धशान्ति गाउँपालिकामा भौतिक पूर्वधारको क्षेत्रको विकासका निम्ति द्रूत गतिमा काम भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताएका छन् । उनले सडक कालोपत्रे, कल्बर्ट निमार्ण, सामुदायिक भवन निर्माण, सामुदायिक अस्पतालहरुको भवन निमार्ण र अघिल्लो कार्यपालिकाको कार्यकालमा बाँकी रहेका कामहरु पनि भइरहेको बताएका हुन् ।

यसै वर्ष ११ ओटा सडकमा कालोपत्रे गर्नेे ठेक्का लागि सकेको बुद्धशान्ति सडक बिस्तारमा तीव्रता लागिरहेको छ । अध्यक्ष प्रसाईले पनि आफ्नो कार्यकालभित्र सबै ग्राबेल सडकहरुलाई कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताएका छन् । उनले वार्षिक आठदेखि १० किलोमिटर कालोपत्रे गर्ने तयारी रहेको बताएका हुन् ।

हरेक पालिकाले आफ्नो नगर गौरबको कार्यक्रममा राखेको रिङ रोडको परियोजना बुद्धशान्तिले पनि राखेको छ । आर्थिक वर्ष ०७८÷७९ बाट काम सुरु भएको रिङ रोडको कार्यक्रममा सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । अध्यक्ष प्रसाईले बुद्धशान्ति रिङ रोडको योजना आफ्नो कार्यकालमा सम्पन्न गर्ने योजना लक्ष्य रहेको बताए । उनले संघ र प्रदेशसँग बजेट मागेर भए पनि रिङरोड सम्पन्न गर्ने बताए । बुद्धशान्तिले रिङ रोडको निम्ति संघीय सरकारमा योजना पेश गरिसकेको अध्यक्ष प्रसाईंले बताए । उनले आफ्नो कार्यकालमा रिङ रोड निमार्णको कामलाई एउटा महत्वपूर्ण कामको रुपमा राखेको बताएका छन् । उनले रिङ रोड निर्माणको जस आफ्नो कार्यपालिकालाई दिलाउन चाहेको बताए ।

बुद्धशान्तिले भौतिक पूर्वधारमा सडक र भवनलाई प्राथमिकतामा राखे पनि अन्य कामहरु समेत गरिरहेको छ । पर्यटनको क्षेत्रमा पनि आवश्यक पूर्वधार निमार्णमा बुद्धशान्तिले काम गरिरहेको अध्यक्ष प्रसाईंको भनाइ छ । उनले पर्यटन, खानेपानी र सिचाइँका क्षेत्रका भौतिक पूर्वधार निर्माणका लागि पनि ध्यान दिएको बताएका छन् । यसैगरी उनले विद्युतीय क्षेत्रको बिस्तार र भौतिक पूर्वधार निर्माणमा पनि आफूको ध्यान पुगेको दावी गरेका छन् । हाल बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र इलामको रोङ गाउँपालिका मिलेर सिचाइँ परियोजना तयारी भइरहेको अध्यक्ष प्रसाईंले जानकारी दिए । उनले यो परियोजना सम्पन्न हुने बित्तिकै बुद्धशान्तिमा पानीको समस्या समाधान हुने बताएका छन् ।

पालिकाहरुले रोङ गाउँपालिका इलामको पाँच बिघा जमिन भाडामा लिएर ड्याम बनाउने योजना संघीय सरकारमा पेश गरी सकेका छन् । त्यहाँ जम्मा भएको पानीले बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको खानेपानीको समस्या समाधान गर्ने छ । यो योजनाका लागि संघीय सरकारले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको बुद्धशान्ति अध्यक्ष प्रसाईंले बताए । यो योजना पूरा भएमा सिचाइँको निम्ति पनि पानिको समस्या नहुने अध्यक्ष प्रसाईको भनाई छ ।

बुद्धशान्तिका अध्यक्ष प्रसाईंले काम गर्ने कुरामा कर्मचारीहरुको राम्रो साथ सहयोग भएको बताएका छन् । उनले कतिपय विषयहरुमा कानुनी विषय र व्यवहारिक विषय नमिल्दा त्यसलाई कर्मचारीहरुले मिलाउन सहयोग गर्ने गरेको बताएका छन् । उनले जनप्रतिनिधिहरु जनताको प्रतिनिधि भएकाले जनताको समस्या तत्काल समाधान गर्न इच्छा हुने तर नीति गत कठिनाईले गर्दा नसकिने बताएका छन् । यस्ता नीतिगत कठिनाईलाई कर्मचारीहरुले हल गरिदिने र नीतिगत तरिकाले जनताको अधिकतम समस्या समाधान भइरहेको उनको दावी छ । कहिलेकाही जनप्रतिनिधि स्वयम्ले नीतिगत विषयको ज्ञान नराख्दा मात्र समस्या पर्ने गरेको उनको भनाइ छ ।

समग्र पालिकाको नेतृत्व गर्न धेरै चुनौतिहरु भएको अध्यक्ष प्रसाई बताउँछन् । उनले संघीय सरकार र स्थानीय सरकारको नीतिमा तालमेल नभएको बताएका छन् । उनले संघीय सरकारले अधिकार दिए जस्तो गरी केही पनि नदिएको बताएका छन् । ‘हामीलाई काम गर चाहिँ भनेको हुन्छ । तर कानुन चाहिँ दिएको हुँदैन’ उनले भने । संघीय सरकार हामीलाई राजश्व उठा भन्छ । तर उठाउने कार्यविधि चाहिँ दिदैन, उनले भने, ‘संघीय सरकारको कारण बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगानको करिब ६४ करोड राजश्व उठाउन सकिएको छैन । संघीय सरकार आश्वसन दिन्छ सहयोग गर्दैन ।’

जनताले जनप्रतिनिधिहरुबाट धेरै आशा राखेको हुने तर बजेटको अर्पप्ताका कारण सम्बोधन गर्न नसक्नुलाई पनि एक चुनौतिकै रुपमा अध्यक्ष प्रसाईले हेरेका छन् । समयमा काम सम्पन्न गर्न नसक्नुलगायत तमाम चुनौतिहरु रहेको उनको बुझाई छ । स्थानीय तहबाट ठेकेदारहरुलाई छिटो काम सक्न दबाब दिए पनि प्रायः संघीय सरकारले म्याद बढाईदिने गरेको प्रति उनले गुनासो व्यक्त गरेका छन् । उनले केही ठेकेदारहरु भागेका कारण समयमै काम हुन नसकेको गुनासो गर्दै भर्खर ठेकेदार खोजेर ल्याएर काम सुरु गराएको जानकारी समेत दिए ।

प्रसाईले प्रदेश र संघको सरकारसँग आफ्नो पालिकाको बजेट वृद्धि गर्न सहयोग मागेका छन् । पर्याप्त मात्रामा बजेट भए आफैं बिकासले गति लिनेथ्यो भन्दै उनले कत्ति कामहरु गर्ने आफ्नो चाहना हुँदाहुँदै बजेटको अभावले काम गर्न नसकोको बताएका छन् ।

उनले आफ्नो कार्यकालमा कम्तिमा देखिने काम गर्ने योजना भएको बताएका छन् । उनले गाउँपालिका अध्यक्षहरुको सूचिमा आफ्नो नाम थप्नु मात्र भन्दा पनि आफू अध्यक्ष बन्नुको अर्थ पुष्टि हुने गरी काम गर्ने बताए । उनले बुद्धशान्तिमा टाउनहल र बिजनेस मार्ट बनाउने साथै पर्यटकीय क्षेत्रको बिकास गर्ने बताएका छन् । यसका साथै ठूला परियोजनाहरुको काम गरि गाउँपालिकालाई नगरपालिका बन्ने आधार तयार गर्ने उनको योजना रहेको बताएका छन् ।

उनले बुद्धशान्ति गाउँपालिका बासीहरुलाई अनुभूत हुने गरी बिकासको कामहरु गर्ने बताएका छन् । उनले नागरिकहरुको विश्वासको मतको कामद्वारा सम्मान गर्ने बताउँदै सबै गाउँबासीहरुलाई निराश नभई बस्न आग्रह गरेका छन् । उनले आउँदो ०८०/८१ को बजेटबाटै गाउँबासीहरुले कामको अनुभूति गर्ने बताए ।
प्रस्तुति : गगन ढकाल

 

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  १ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]