अनेरास्ववियु झापाको अधिवेशन जेठ २९ मा, संयोजकमा लामा
बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको मिति तोकिएको छ । आज सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले जेठ २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रोशन लामाले जानकारी दिए ।
नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसेको बैठकले मिति तय गरेको लामाले जानकारी दिएका छन् । उनका अनुसार बैठकले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । जिल्ला अध्यक्ष रोशन लामाको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको हो । जिल्ला पार्टीले जेठभित्र जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन गरेपछि अनेरास्ववियुले जेठ अन्तिमका लागि मिति तय गरेको छ । बैठकले ६ वटा उपसमिति बनाएको छ ।
प्रतिनिधि व्यवस्थापनको संयोजकमा लामा, आर्थिक समिति संयोजकमा अनुजा शर्मा कट्टेल, हल व्यवस्थापनको संयोजकमा सन्तोष धमला, प्रचारप्रसार संयोजकमा नारायण पोखरेल, स्वयमसेवक व्यवस्थापनको संयोजकमा बलराम गिरी, प्रतिवेदन लेखन उपसमितिको संयोजकमा रोशन लामालाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले अनेरास्ववियुको २१ औं जिल्ला अधिवेशनलाई सभ्य र भव्य बनाउन शुभकामना दिएका छन् । अध्यक्ष कार्कीले पार्टीभित्र सबैभन्दा सचेत जनसंगठन अनेरास्ववियु भएकाले सामाजिक भूमिकामा समेत सोही अनुसार प्रस्तुत हुन आग्रह गरे । कार्कीले भने- ‘अनेरास्ववियु भनेको अनुशासन पनि हो । सबै विद्यार्थीहरु अनुशासित भई विद्यार्थी अधिकारका लागि सशक्त आवाज उठाउनुपर्छ ।’
बैठकमा नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेल, उपसचिव असारु राजवंशी, सचिवालय सदस्य टिकाराम मंग्राती, विद्यार्थी सहइञ्चार्ज समर्पण खतिवडा, अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल पौडेल, कोशी प्रदेशका सहसंयोजक दुर्गा धमला, केन्द्रीय सदस्य रोशन भट्टराई, प्रदेश कमिटी सदस्य लक्ष्मी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।