बैशाख १७, २०८१ सोमबार

ज्ञानेन्द्रलाई सुझाव

गगन ढकाल 

मौसुफको वक्तव्य हेरियो, पढियो । सत्ताच्युत मौसुफको हुङ्कार लेखक खगेन्द्र संग्रौलाले लेख्नुभएको आलेखमा झैं ‘सामर्थ्य मुसाको गर्जन सिंहको’ जस्तै लागो । हुन त म लोकतन्त्रवादी भएर पनि यस्तो लाग्या हुन सक्छ ।

मौसुफ स्वयम् सत्तामा हुँदा ढुङ्गा लागेर तर्सेको कुकुर झैं लुरुलुरु नारयणहिटी छाडेर निस्किबक्सेको थियो । आज यत्रो हिम्मत कहाँबाट आयो मौसुफ ? तपाईलाई यो हिम्मत राजेन्द्र लिङ्देनको हलोले दिलायो ? कि रवीन्द्र मिश्रको बिचारभन्दा माथि देशले ? वा, रवीन्द्र कै नेपाल र बेलायतको तुलनाले ? कि अराजकताको हद नाघेकोको दुर्गा प्रसाईको हाई हाई ले ?

ओ सरी ! लेख्दा लेख्दै भावनामा एक लाइन गलत लेखेँछु । मौसुफको शासन इतिहासकै काम नलाग्ने भएकाले मौसुफलाई ज्यान बक्सिसमा दिई नेपाली जनताले सत्ताबाट लखेटेका हुन् । मौसुफले आफ्नो ज्यादती भुलेर आफूलाई आम नेपाली जनताले ज्यान बक्सिस गरेकोमा धन्यवाद भन्न पर्ने हो । तर, त्यस्तो धन्यवाद वक्तव्य कहिलै आएन । बरु मौसुफले पुरानो बिरासत फर्काउनलाई आम जनतालाई आह्वान गरिबक्सियो । जुन आफैँमा हास्यास्पद छ । मौसुफले स्ट्यान्ड अफ कमेडी सुरु गरिबक्सेको हो ?

मौसुफलाई आफ्नो पुरानो विरासत मेरो ज्ञानमाथिको नियन्त्रण गराउन मेरो टेबलमा भएको पुस्तक जलाउन फर्काइदिउँ ? कि गँजडी छोरालाई श्री ५ को पगरी भिराउन ल्याइलिउँ ? कि आउँदो पिँढीलाई तिम्रो परिवारको दास हुन फर्कादिउँ ? कि सत्तामा तिम्रा आसेपासे मात्दा मेरी चेली समर्पित गर्न तिम्रो विरासत फर्काइदिउँ ? भन मौसुफ, बोल ! के म तिम्रो विरासत दूरसञ्चारमाथि वक्र दृष्टि पार्न फर्काइदिउँ ?

मौसुफलाई यादै होला वि.सं. २०४७ को संविधानले राजालाई राष्ट्रध्यक्ष र प्रधानमन्त्रीलाई कार्यकारी प्रमुखको मान्यता दिएको थियो । तर, मौसुफ आफैँलाई ०६१ माघसम्म आइपुग्दा प्रधानमन्त्री बन्ने झोक चलेको देखिन्छ । माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै मौसुफ स्वयम् कार्यकारी पदमा आइबक्स्या हैन र ? कार्यकारीको लोभले संविधान मिच्दै निरङ्कुशताको पराकाष्ठा मौसुम स्वयमले नाग्या हैन र ? कुनै बेला कार्यकारीको लोभले राजाको गद्दीबाट प्रधानमन्त्रीको कुर्सीमा झर्ने चेष्टा गरेको मौसुफले आज फेरि आफूलाई राजा नै मान्दिए हुन्थ्यो भन्ने धारणाको तुक नमिलेको देखिन्छ ।

ज्ञानु सरले अब जान्न पर्छ कम्तीमा आज नेताको छोरा फटाहा, गजडी, स्त्री लम्पट, जुवाडे वा अराजक भए त्यसलाई नेता नबनाए हुन्छ । तर तिम्रो शासन रहन्थ्यो त आज गँजडी पारस श्री ५ हुन्थ्यो । आम नेपालीले छातीमा हात राखेर विश्लेषण गर्न पर्छ के त्यो राजतन्त्र सही थियो ? जसले आम जनतालाई दासको भन्दा माथिल्लो हैसियत कहिलै दिएन । के त्यहाँ आज जस्तो आफ्नो नेता छान्न पाउने अधिकार थियो ? के कुनै कुरा चित्त नबुझे खुलेर राख्न पाइने अवस्था थियो ?

२१औं शताब्दीमा धनी परिवारमा जन्मिएकालाई नै राजा मान्न सकिन्न ज्ञानु सर । तिम्लाई यदि देशमा नेतृत्व गर्न नै छ भने दल खोल । चुनाव लड । बहुमत प्राप्त गर । त्योभन्दा नि सजिलो राजेन्द्र लिङ्देनलाई प्रचण्ड सामु पठाएर आफ्नो निम्ति ६ महिनाका लागि मन्त्री पद माग । प्रचण्डले अहिले सत्ता टिकाउने झोँकमा तिम्लाई उप–प्रधानमन्त्रीसम्म दिन पनि सक्छन् । कृपा गरेर ।
ज्ञानेन्द्र र उनको परिवारलाई देशमा शान्तिपूर्ण ढङ्गले सम्मानजनक स्थान दिएकोमा फेरि नेपालीले ज्यान गुमाउन नपरोस् । यसका निम्ति ज्ञानेन्द्र स्वयम्ले विचार गर्न पर्छ । मनन गर्न पर्छ । आफ्ना सुण्ड मुुसुण्डलाई थान्कोमा राख्न सक्न पर्छ । जनताले उनको जहानियाँ शासन भुलेर उनलाई बस्न र टिक्न दिएको कुरालाई उनले कमजोरी ठान्न हुन्न । यदि हाम्रो दयाभावलाई हाम्रो कमजोरी ठाने हानि उनैलाई छ भन्ने उनले बुझ्न पर्छ ।

आम नागरिकको हैसियतसम्म नभएको ज्ञानेन्द्रसँग आजको मितिसम्म पनि नेपाली नागरिकता छैन । मतदान गर्ने अधिकार छैन । दल खोल्न र मतदान गर्न म जस्तो आम नागरिकसँग भएका यी सामान्य लोकतान्त्रिक अधिकार पनि यिनीसँग छैन । यिनीसँग यी अधिकार नहुनुमा कसैको गल्ती छैन । यिनको घमण्डले यिनलाई नागरिकता लिने साधारण बुद्धिसम्म दिँदैन । बरु यिनलाई आफ्नो हैसियत भुलेर हुङ्कार गर्ने बुद्धि दिन्छ ।

सुनौलो लोकतन्त्रमा सुधार गर्न पर्ने अनेक पक्ष छन् । हालको हाम्रो व्यवस्था पूर्ण रुपले ठिक छ म भन्दिन । तर, मोटरसाइकल बिग्रे ग्यारेज जाने हो । त्यसलाई फ्याँक्नै परे नयाँ किन्ने हो । कवाडी बोक्ने हैन । लोकतन्त्रबाट राजतन्त्रमा फर्किनु भनेको कवाडी बोक्नु जस्तै हो ।

कम्तीमा हालको व्यवस्था ज्ञानु सरको शासन जस्तो पाखण्ड र निरङ्कुश छैन । मन नपरेको सरकारी नीतिको खुलेर विरोध गर्न पाइन्छ । विरोध गर्देमा कसैको ज्यान जाँदैन । मन लागेको पुस्तक र विचार खोजी खोेजी पढ्न पाइन्छ । पुस्तक पढेकै कारण कोही जेल पर्दैन । वाक् स्वतन्त्रता छ । प्रेस स्वतन्त्रता छ । लेखेकै र बोलेकै कारणले कसैले पेस्तोल दाग्दैन । हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुन्छ । आफ्नो नेता आफैं मतद्वारा छान्न पाइन्छ । मौसुफले नेता जन्माइदिबक्सेला कि भन्न पर्दैन ।

ज्ञानु सरलाई सुझाव नआएको हुन सक्छ । राजनीति नै गर्ने, सत्तामै बस्ने भन्ने विचार हो भने सर्वप्रथम जिल्ला कार्यालय गएर नागरिकता लिने । जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाएर मतदाता परिचयपत्र लिने । मतदाता परिचयपत्र प्राप्त हुने बित्तिकै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने कि त राजेन्द्र लिङ्देनसँग राप्रपाको अध्यक्ष पद माग्ने । आउँदो ०८४ को निर्वाचनमा चुनाव लड्ने । आफ्नो दललाई दुईतिहाई दिलाउने । त्यस पश्चात् संविधान संशोधन गरी राष्ट्रपतिको ठाउँमा संवैधानिक राजतन्त्र बनाउने र आफू राजा हुने ।

तिमीलाई हाम्रो लोकतन्त्रले यति अवसर पनि दिएको छ । तर, विडम्बना तिम्रो राजतन्त्रमा तिम्रो शासन ठिक भएन, जनतालाई शासन सुम्प भन्दा १७ हजारले ज्यान गुमाउन परो । आज खुलेर सडकमा लोकतन्त्रकै विरोध गर्न पाइन्छ । तिम्रो शासन काल तिम्रो विरोध गर्नभन्दा पहिल्यै कात्रो किन्नुपर्ने अवस्थाको थियो ।

(लेखक गगन ढकाल इजलास दैनिकका समाचार संयोजक हुन् ।)

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]