जेष्ठ ६, २०८१ आईतबार

विकास रोक्न बुधबारे हटियामा चरम राजनीति

सम्पादकीय
बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको बुधबारे हटिया (देवि हाट) खाली गर्न दिएको समय सकिएको छ । नगरपालिकाले अन्तिम पटक ३ दिने सूचना जारी गरेर घर, टहरा र संरचनाहरु खाली गर्न भनेको थियो । नगरपालिकाले दलहरुको सहमतिमै बुधबारे हटियामा बहुतले व्यवसायिक भवन बनाउने निर्णयमा पुगेको हो । सर्बपक्षीय बैठकको सहमतिपछि कार्यपालिकाले समेत बजार बनाउने निर्णय गरेको थियो । यो नयाँ विषय पनि होइन । २०७७ सालदेखि नै नगरपालिकाले ठाउँ खाली गर्न भनेको थियो । बहुतले भवन बनाउन नगरले थालेको अभियानमा अहिले व्यवसायीको पूर्ण असहयोग देखिएको छ ।

नगरपालिकाले दिएको समय सकिएपछि व्यवसायीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे । जहाँ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएका थिए । नगरपालिकाले अहिलेसम्म आफ्नो व्यवस्थापन गर्न व्यवसायीहरुलाई समय दिएको हो । तर, व्यवसायीहरुले पसल सारेकै दिनदेखि चकाचक व्यापार हुने ठाउँ हुनुपर्ने अडान कसे । व्यापारीले भने जस्तैको ठाउँ नभए नसर्ने अडानका कारण अहिलेसम्म ठाउँ खाली गरिएको छैन । स्वभाविक रुपमा व्यापारीहरुको विचल्ली हुनुहुदैन । त्यसमा सबैको एकमत छ । त्यसको बदलामा भवन निर्माण नै रोक्ने भन्ने चाँही हुदैन । व्यापारीले भविष्यको सुविधाका लागि अहिले थोरबहुत दुख सहनुपर्छ ।

विडम्बनाको कुरा त, बुधबारे हटियाको विषयमा भइरहेको चरम राजनीति हो । कोहि भविष्यको मेयरको रुपमा त्यहाँ प्रस्तुत भइरहेका छन् भने कोहि भविष्यको वाणिज्य संघको अध्यक्षको रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् । उनीहरु अहिले सबै व्यवसायीले ताली बजाउने गरीको भाषण गरिरहेका छन् । ताली ठोक्ने भाषणले दुख दिन्छ । त्यसले कुनै समाधान दिन सक्दैन । बरु, गालीको भाषणले केहि गर्न सक्छ । समाधान दिन सक्छ । व्यापारीहरुलाई अर्को ठाउँ व्यवस्थापन नगरी निर्माणको काम गर्न सकिदैन भन्ने आसयबाट व्यापारीहरुलाई उचाल्ने काम भयो । कुनै व्यापारिक बजारले ठाउँ दिन सक्छ । तर, सरकारी जमिन समेत छोड्न नमान्ने व्यापरीहरुलाई निजी जमिन दिन कसैले जोखिम मोल्दैन । त्यै भएर पनि जमिनको व्यवस्थापन नभएको अनुमान गर्न सकिन्छ । व्यापारीले आफ्नो व्यवस्थापन आफै गरेर नगरको विकासमा सहयोग गर्नुको विकल्प छैन । केहि दलहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । त्यसको पछि व्यापारीहरु लागेभने उनीहरु स्वयमलार्ई क्षति हुन सक्छ । त्यसतर्फ सबैले समन्वय गर्न आवश्यक छ ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]