बैशाख ७, २०८१ शुक्रबार

कथा : बिरोधाभाष

– तीर्थ सिग्देल

उमेर बढेर मात्र के हुन्छ र ? मनले मान्छेलाई सँधै तरुनो नै सम्झँदो रहेछ । तन बुढो भएर के हुन्छ र ? मान्छेको मन सदैब कलिलै हुँदो रहेछ ।
पान खाने बहानामा म प्रायः त्यहाँ पुग्दा एकजना बुढो मान्छेको किस्सा सुन्नु पर्ने हुन्छ । पान पसले गोपाल सँधै म पुगेपछि एक जनाको बारेमा कुरा गरिरहन्छ । म उतिसारो उसको कुरामा ध्यान दिन्न । तरपनि किन हो ? मलाई त्यही कुरा गरिरहन्छ ।

नभन्दै एकदिन उसले भनेको पात्रसँग मेरो भेट हुन्छ । मलाई उसले चिन्दैन ।
उही गोपाल कुरा झिक्छ । भन्छ, ‘अनी बा… आजको दिन कस्तो रह्यो …?,
करिब ६५ बर्ष पार गरेका ती मानिस बोल्छन् ।
भन्छन्, ‘के कुरा गछौ, नानी । म त यो जमानालाई धन्यबाद दिन्छु । हिजो हाम्रो जमानामा काँ यस्तो थियो र ? अहिले त जे भन्यो त्यै पुग्या छ । जे चाह्यो त्यही हुन्छ । हिजो कहाँ यस्तो थियो र ?,
उनको कुरा म बुझ्दिन । किनभने त्यो मेरा लागि त्यति रुचिको बिषय थिएन । तर, कथाका प्लटहरु आइरहने मेरा दिमागमा यो पनि कुनै कथाको बिषय बन्ला की भन्ने आशा भने जिवितै थियो । र, भइदियो पनि त्यस्तै । के खोज्छस् कानो, आँखो भनेझैं ।
अर्को दिन । गोपालसँग ती मानिस गफिइरहेका छन् ।

भन्छन्, ‘हेर नानी… छोरा मोराको भर हुन्न । दुई छोरालाई हुर्काएँ, पढाएँ, बढाएँ । अहिले ती कुनै मसँग छैनन् । सबै बाहिर गए । लामै समय भयो घर पनि नआएको । छोरी भएनन् । बाहुनीले मलाई छाडेर गएको पनि धेरै नै भो । अहिले म एक्लै छु । सिंगो जीवनमा एक्लो प्राणी हूँ म । मेरा अगाडि कोही छन्, न पछाडि, ।
ती मानिसका कुरा गजबका लाग्छन्, मलाई । मैले अलिकति समय बढाएको छु, उनका लागि । उनका पीडामा मल्हम पट्टी त के लगाउन सक्थें र ? तरपनि मेरो स्वार्थ छ, कथाको पात्र खोज्ने र कथा नै तयार गर्ने । मैले उनमा कथाको पात्र बन्ने बलियो सम्भावना देखें । त्यो संभावना कसरी भने उनको प्रारम्भकै कुराले मलाई तान्यो ।

उनले भनेका थिए, ‘म यो जमानालाई धन्यबाद दिन्छु…,
धेरै बृद्धबृद्धाहरु बर्तमानलाई गिज्याउँछन् । चिन्ता ब्यक्त गर्छन् । यो भएन, त्यो भएन । हाम्रो पालामा त यस्तो कहाँ थियो र ? भनेर बर्तमान समयलाई खिसिट्यूरी गरेको सुनिन्छ । छोराछोरीले दिएको दुःख र पीडामा आँसु चुहाइरहेको देखिन्छ । सम्पत्ति, लोभ, लाभ र जग्गा जमीनको पीर गरिरहेको पाइन्छ । तर, ती मानिसले यस्ता कुरामा कुनै टिप्पणी गरेको सुनिएन । बरु उल्टै अहिलेको परिबेश र समयकाललाई धन्यबाद दिइरहेको प्रायः सुनियो ।
यस कुराले मलाई अझ तान्यो ।
उनी भन्दै थिए, हिजो मोबाइल थिएन, इन्टरनेट थिएन, स्कूल थिएन, बाटो थिएन । आज सबथोक छ । के छैन आज ? जे चाह्यो त्यही छ, आफ्नै आँगनमा । जे पायो त्यही गर्न पाइएको छ ।
बरु उनी दुःख ब्यक्त गर्दे थिए, आफ्नो समयको ।
‘केही थिएन बाबु… केही पनि थिएन । न प्रबिधि, न ज्ञान । न शिक्षा न, मान ।,
आज उनी अलिक चिन्तित देखिए । सबथोक भएर पनि केही नभएजस्तो । पानी बिनाको माछाजस्तो र रहर बिनाको जिन्दगीजस्तो ।
यतिबेलसम्म त म उनको नजिक भइसकेको छु । प्रायः बुढाबुढी नयाँ मान्छे देख्ने बित्तिकै ठाउँ ठेगाना सोधिहान्छन् । उनले पनि मेरो परिचय लिए ।
मैले भने, ‘बा… म एउटा एनजिओमा काम गर्छु,
मेरो परिचयले उनलाई उत्साहित तुल्यायो ।
भने, ‘हेर बाबु… तिमी सही काम गरिरहेका रहेछौ । मानिसहरुमा निरासा छ । जीवन र जगतप्रति । अझ भनौं आफ्नै जिन्दगी र परिवारप्रति ।,
वास्तबमा आजको मान्छे खुशी छैन । अझ बृद्धबृद्धाको मन शान्त छैन । उनीहरुको गुनासो आफ्नै सन्तानप्रति छ । आफ्नै रगतप्रति र आफ्नै बिर्यप्रति छ ।
उनले आफ्नै उदाहरण दिन खोजे ।

भने, ‘मैले पहाडमा लामो समय गुजारें । के गरिन त्यो समयमा मैले ?
शिरको टोपी निकाल्दै आफ्नो ललाटको दाग देखाए । पहाडमा हुँदा नूनका लागि गरेको संघर्षको कथा सुनाए उनले । पूर्वी पहाडमा हुँदा दार्जिलिंगदेखि नून बोकेर भोजपुरसम्म पुगेको कथाले मन खिन्न पार्छ रे । ती दिनहरु उनले सम्झिए ।

बरु आज सहरका दिनहरु उनलाई निक्कै सहज लाग्छ । सहरमा चिप्लिएर दौडने गाडीले उनलाई रहर जगाउँछ । यहाँ खुलेका मनोरन्जनका साधनहरु र त्यसमा लिप्त मान्छेहरुले बेलाबेला उनलाई तान्छ । उनलाई लाग्छ रे, उहिलेका मान्छेहरु बलिया त थिए । उनीहरुमा चेतना थिएन । अग्र्यानीक खानेकुराले शरिर बलियो त बनाउँछ, स्वस्थ्य त भइन्छ । तर, शरिर जति नै स्वस्थ्य र बलिष्ठ भए पनि मनस्थिती ठीक भएन भने के फाइदा र ?

उनलाई लाग्छ रे, उहिलेका मान्छेहरुले आफुलाई तगडा बनाए । हावापानी राम्रो थियो । आफ्नै गोठका गाई भैसीको दुध खाएर बलिया भए । तर, दुःख जति आँफै बोकेर हुर्किए । जवसम्म मान्छेले संसार नियाल्न सक्दैन, अर्थात् त्यो चेतना उसमा पलाउँदैन । त्यो जिन्दगी के जिन्दगी ?
आधुनिकताले संसारलाई साँगुरो बनायो । उनी आँफै पनि छोराहरुको निम्तो मान्न नेदरल्याण्ड पुगे । संसारकै अति बिकसित देशको परिवेशसँग नजिक पनि भए । त्यो देखेपछि उनलाई आफ्नो बिगत र आज पनि मान्छेहरुले भोगिरहेको त्यो दृश्य सम्झेर दुःख लाग्छ रे ।
उनी नेदरल्याण्ड पुगेर पनि त्यहाँ बसेनन् । त्यहाँ उनको तन अढिए पनि मन अडिएन । मनले यतै तान्यो । एक महिना पछि आफ्नै आँगन र परिबेशलाई नियाले उनले । उनी फकिए, आफ्नै संसारमा ।

आधुनिकताले गाँजेको मान्छे पनि देखे उनले । जिन्दगीमा चरम सुख र चरम दुःख पनि भोगे उनले । भोजपुरको सुख्खा डाँडामा जतिबेला कोदो रोपेर जिन्दगी बिताउँदाको त्यो क्षण र छोराहरुको रंगीन संसारमा रुमल्लिदा उनलाई कता कता जिन्दगी बिरोधाभाष लाग्छ रे । र, आज त्यही बिरोधाभाषको जिन्दगीभित्र आफूलाई कता कता अल्मल्याउन खोजिरहेका छन् उनले ।
‘बाँच्नु मात्र पर्छ बाबु.. धेरै थोक देख्न पाइने रहेछ, एकदिन उनले सुरुमा राखेको प्रसंगले मेरो मनमा कौतुहलता पैदा गराउँछ । उतारचढावले मान्छेको सोचमा आएको परिवर्तन, समय र समाजले पारेको प्रभावले आजको मान्छे बदलिएको हो भन्ने उनलाई लागेको रहेछ । वास्तवमा हो पनि । किनभने आजको मान्छेसँग समय छैन ।

समय बिक्रीमा छ र ऊ त्यो समयको बन्दी भएको छ । समय बलबान भनेको त्यसै होइन रहेछ । हिजोका दिनमा शक्ति, सार्मथ्य र बल भएको मान्छे बलियो थियो । तर, आज त्यसको उल्टो छ । आजको मान्छेसँग बुद्धि छ । बुद्धि बिक्री गर्छ मान्छे । बुद्धिका लागि मरिहत्ते गरिरहेको छ मान्छेले । आजको दिनमा समाजमा कोही बलवान छ भने त्यो बुद्धिजीवि हो ।
म प्रायः कथाका पात्रको खोजीमा हुन्छु । किनभने समाज नबुझी देश बुझिन्न र समाज बुझ्न त्यहाँ बस्ने मान्छेहरुको बारेमा बुझ्नु पर्ने हुन्छ । अझ मैले देखेको र बुझेको समाजको बिरोधाभाष बुझ्नका लागि उनै पात्र मेरा लागि उपयुक्त पात्र थिए ।

यो समयमा बाँचेको मान्छेले धेरै देख्न पायो । अचानक आफ्नो हातमा एन्रोइड मोबाइल फेला परेको उनको कथाले हाम्रो यर्थाथलाई झल्काउँछ । ल्याण्डलाइन फोनको प्रयोग र मोबाइलको सिमकार्ड लिनका लागि रातभरि लाइनमा लागेको ब्यथा आजको पुस्ताले के पत्याउला ? पुष्पक बिमानको कथा सुनेर बर्षौ बिताएको हाम्रो एउटा पुस्ता घण्टौंसम्म बोइंग चढेर समुद्रपारिका आफ्ना छोराछोरी भेट्न पुगेको यथार्थले हाम्रै समाजको बिरोधाभाषलाई झल्काउँछ ।

उनमा पनि केही त्यस्तो झल्को आउँछ । बेलाबेला उनको पनि आत्मबिश्वास डग्मगाउन खोज्छ । कताकता उनमा पनि गुनासा र निरासाका धर्सा देखिन्छन्, अरुहरुजस्तै । तर, उनी सम्हालिन्छन् र भन्छन्, ‘बुढेसकालमा चिन्ता गरेर मात्र हुन्न रहेछ । वर्तमानसँग रमाउन सक्नु पर्ने रहेछ ।,

‘किनभने हरेक मान्छेका आ आफ्नै सपना र सोच हुन्छ । आजको यूवालाई बाँधेर राख्नु हुन्न । सबैमा स्वतन्त्रताको अधिकार निहीत छ । समय जति बलबान छ त्यति नै प्रतिष्पर्धी पनि छ । प्रतिष्पर्धामा खरो उत्रिएको मान्छे मात्र सफल हुन्छ । आजको बिश्वमा टिक्ने र बिक्ने बन्नका लागि पहिले अध्ययन हुनु पर्यो । त्यसपछि अनुभव । त्यसका लागि ती बिचारा केटाकेटीसँग हामी बुढाबुढी स्याहार्ने कहाँ फुर्सद हुन्छ र, बाबु ?,

उनको यो तर्कले मन छुन्छ । कताकता त्यो निरासापन हटेको महसुस हुन्छ । आधुनिक बन्ने नाममा आफ्ना बाबुआमा र परिबारलाई चटक्कै छोडेर हिँड्ने यूवा मनलाई त्यसपछि सलाम गर्न मन लाग्छ । यद्दपि, ती बर्षोंदेखि डाँडापारिको घाम बनेर बरण्डा र आँगनमा घाम तापेर समय गुजारिरहेका बृद्धबृद्धाहरुलाई देख्दा माया लाग्छ ।

ती बाबुआमाको सपना नानीहरुको शुख र समृद्धिको कल्पना, जसलाई बिर्सेर आजसम्म पनि घर फकिएका छैनन्, उनीहरुको मन सम्झेर दुःख लाग्छ । त्यस्ता सन्तान, जो आफूलाई जन्म दिने बाबु आमालाई बिर्सेपनि आफ्नो आगतमा रमाइरहेका रमाइरहेका छन् ।

प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]