झापामा लम्पी स्किनबाट ११६ चौपाय मरे, गौरादह धेरै प्रभावित
गगन ढकाल
झापा । झापामा पछिल्लो समय पशुचौपायमा लम्पी स्किन रोग तीब्र गतिमा फैलिएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा यो रोगको जोखिम बढेर गएको पशु विज्ञ केन्द्र झापाले जनाएको छ । झापामा हालसम्म यस रोगको कारण ११६ वटा गाई गोरु मरिसकेको पशु विज्ञ केन्द्र झापाको तथ्यांकले देखाएको छ ।
झापामा हालसम्म छ हजार चार सय ९५ गाईगोरु यस रोगबाट प्रभावित हुँदा एक सय १६ वस्तु मरेका छन् । झापामा लम्पी स्किनको प्रभाव सबैभन्दा धेरै गौरादह नगरपालिकामा देखिएको छ । गौरादह नगरपालिकामा हालसम्म तीन हजार वस्तु यस रोगबाट प्रभावित रहेका छन् भने पाँच वटा वस्तुको मरेका छन् । यसैगरी बाह्रदशी गाउँपालिकामा हालसम्म एक हजार दुई सय वस्तु प्रभावित भएका छन् । ७० वटा वस्तु मरिसकेका छन् । झापामा सर्वाधिक लम्पी स्किनका कारण वस्तुभाउ मर्ने पालिकाको रुपमा बाह्रदशी रहेको छ ।
कचनकवल गाउँपालिकामा एक हजार वस्तु प्रभावित हुँदा १२ वटाको मृत्यु भएको छ भने दमक नगरपालिकामा सात सय वस्तु प्रभावित हुँदा मर्नेको संख्या भने शून्य रहेको छ । यसैगरी शिवसताक्षी नगरपालिकामा दुई सय वस्तु लम्पी स्किनबाट प्रभावित भएका छन् भने कमल गाउँपालिकामा १५० प्रभावित र १० वटा वस्तु मरिसकेका छन् । साथै हल्दीबारीमा ६५ वटा वस्तु प्रभावित रहेको पशु विज्ञ केन्द्र झापाको तथ्यांकले देखाएको छ ।
मेचीनगर नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६० वस्तुभाउ प्रभावित भएका छन् भने १५ वटा मरेको बताइएको छ । यसैगरी कनकाई नगरपालिकामा ५० र भद्रपुर नगरपालिकामा ४५ वस्तु प्रभावित भएका छन्, भद्रपुरमा चार वटा वस्तुको ज्यान गएको छ । यसैगरी गौरीगञ्ज गाउँपालिकामा पनि २५ वटा वस्तुमा यस रोगको प्रभाव देखिएको पशु विज्ञ केन्द्र झापाको तथ्यांकले जनाएको छ ।
झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा भने लम्पी स्किन रोगको कुनै पनि प्रभाव नदेखिएको पशु विज्ञ केन्द्र झापाको तथ्यांकले जनाएको छ ।
पशु विज्ञ केन्द्र झापामा सूचना अधिकारी गणेश भट्टराईले जिल्लामा यस रोगको कारण गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका, कचनकवल गाउँपालिका र दमक नगरपालिकामा भयाबह स्थिति रहेको बताएका छन् ।
सूचना अधिकारी भट्टराईले यो रोग कोरोनासँगै आएको तर, पछिल्लो समय मात्र यसले महामारीको रुप लिएकोे बताएका छन् । रोग लागेको पशुहरुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण रहेको उनले बताएका छन् । साथै यस रोग लागेको पशुहरुको खुट्टा सुन्निने, मासु झर्ने र नली खुट्टा मात्र बाँकी रहने गरेको पनि पाइएको उनले बताए ।
अघिल्लो वर्ष असार, साउन र भदौमा बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा यस रोगको प्रभाव देखिदा विज्ञ केन्द्र झापाले आकस्मिक रोग नियन्त्रण शिविर सञ्चालन गरेको तर यस वर्ष बजेट अभावले सो काम गर्न नसकोको सूचना अधिकारी भट्टराईले जानकारी दिए । उनले हाल जिल्लाका केही नीजि भेटनरी अस्पतालहरुमा यस रोगको भ्याक्सिन उपलब्ध भएको बताएका छन् । उनले उक्त भ्याक्सिन रोग लागेको पशुलाई प्रयोग गर्न नमिल्ने समेत बताएका छन् । रोगी पशु रहेको ५ किलोमिटर वरपरका वस्तुहरुमा पनि सो भ्याक्सिन प्रयोग गर्न नमिल्ने उनले बताए । सो भ्याक्सिन रोग नलागेका वस्तुहरुलाई रोग लाग्न नदिन मात्र प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
जिल्लाकै सबैभन्दा प्रभावित क्षेत्र गौरादह नगरपालिका क्षेत्रमा यसका रोकथामका निम्ति नगरपालिकाले गाउँ–गाउँमा विज्ञ पठाएर निशूल्क रुपमा पशु उपचार गरिरहेको पालिका प्रमुख छत्रपती सुवेदीले बताएका छन् । उनले यसको भ्याक्सिनको प्रयोग गर्न नमिल्ने भएका कारण औषधीहरुको प्रयोग गरेर रोकथाम गर्न प्रयास गरिरहेको बताएका छन् ।
यसै गरी बाह्रदशी गाउँपालिकाका पशु शाखा प्रमुख देव कुमार यादवले बाह्रदशीमा करिब ३० वटा पशुहरु मरिसकेको बताएका छन् । उनले यसको रोकथामका निम्ति हाल सामान्य औषधी उपचार मात्र भइरहेको बताए । उनले बजेटको अभावले यसमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । आउँदो आर्थिक वर्षबाट बजेट व्यवस्थापन गरेर रोकथामको कामलाई तीब्रता दिने उनले बताए ।