बैशाख १२, २०८१ बुधबार

पशुपतिनाथको जलहरीमा विषयमा ओलीलाई जोड्न मिल्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा दाहालले पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भन्दै यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण दिए ।

प्रधानमन्त्रीले यो विषय अख्तियारमा छानबिन गरिरहेको उल्लेख गर्दै छानबिनमा सरकारले सघाउने बताए ।

शनिबार प्रतिनिधिसभा बैठक सूरू हुनेवित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए । प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गरे ।

‘पशुपतिनाथ मन्दिरको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइसकेको छ । स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ’, प्रधानमन्त्रीले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो ।

शनिवार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]