बैशाख ८, २०८१ शनिबार

सर्वोच्चले फेरि रोक्यो नागरिकता

काठमाडौं । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशज आधारमा नागरिकता नदिन फेरि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता आचार्यको संयुक्त इजलासले यसअघि नागरिकताका विषयमा फरक फरक आदेश जारी भएकाले यसलाई पूर्ण इजलासबाट टुंगो लगाउनुपर्ने फैसला गर्दै हाल गृह मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन २०७५ चैत १९ गते गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएपछि उक्त पत्रको कार्यान्वयन रोक्न माग गर्दै दायर भएको दुई छुट्टाछुट्टै रीटमा फरक फरक आदेश भएको भन्दै सर्वोच्चमा पुन निवेदन परेपछि यो विषय पूर्ण इजलासमा लैजाने फैसला भएको हो ।


गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेपछि उक्त पत्रको कार्यान्वयन रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले रीट दायर गरेका थिए । उक्त रीटमा न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको थियो । त्यसपछि वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतले यसअघि २०५४ सालमा नागरिकता वितरण टोलीले वितरण गरेको ३४ हजार ९० वटा फर्जी नागरिकताका आधारमा वंशजको नागरिकता वितरण हुन सक्ने भन्दै त्यसलाई रोक्न माग गरी अर्को रीट दायर गरेका थिए ।


यो रीटमा भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले नागरिकता वितरण टोलीबाट वितरण गरिएको नागरिकता प्राप्त गर्नेहरुको हदसम्म भन्दै गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
एउटै विषयमा फरक फरक आदेश भएको भन्दै वरिष्ठ अधिवक्ता नेउपानेले सर्वोच्चमा अर्को निवेदन दिएपछि मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले दुबै विषयलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको अनलाइन खवरले समाचार प्रकाशित गरेको छ ।

त्यतिन्जेलसम्मका लागि गृह मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश भएको वरिष्ठ अधिवक्ता नेउपानेले बताए । ‘उपरोक्तअनुसार पूर्ण इजलासबाट सुनुवाई भई अन्तरिम आदेश जारी हुने, नहुने सम्बन्धमा टुंगो नलागेसम्म नेपाल सरकार गृह मन्त्रालयको च नं ५८३ मिति २०७५र१२र१९ को पत्र कार्यान्वयन नगर्नु नगराउनु, हाल सो पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’ फैसलामा भनिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]