चैत्र १६, २०८० शुक्रबार

अनेरास्ववियु झापाको अध्यक्षमा पोखरेल र गिरीको चर्चा

बिर्तामोड । झापामा अनेरास्ववियुको जिल्ला अधिवेशन भव्य रुपमा तयारी गरिएको छ । नेकपा एमालेको प्रभावशाली भातृ संगठन अनेरास्ववियुले जेठ २९ गते बिर्तामोडमा हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ ।

२१ औं जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष रोशन लामाको संयोजकत्वमा अधिवेशन आयोजक कमिटीले काम गरिरहेको छ । अध्यक्ष लामाका अनुसार अधिवेशनको सम्पुर्ण तयारी भव्य रुपमा भइरहेको छ । तल्लो कमिटीसम्म अधिवेशनको प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु भइरहेको लामाको भनाई छ । उनले सभ्य र भव्य बनाउन उत्साहका साथ विद्यार्थीहरु लागेको जानकारी दिए ।

अधिवेशन नजिक आउँदै गर्दा अध्यक्षका आकांक्षीहरुले विद्यार्थी भेटघाट र छलफललाई बाक्लो बनाएका छन् । सकेसम्म अधिकतम प्रतिनिधिहरु आफ्नो पक्षमा बनाउने गरी आकांक्षी दौडधुपमा लागेका छन् । जिल्लाभरका विद्यार्थीहरुको बीचमा वर्तमान उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पोखरेल अध्यक्षको प्रत्यासी भएको चर्चा छ । अनेरास्ववियुको तल्लो तहको कमिटीबाट आएका गिरी र पोखरेलले अध्यक्षमा एकले अर्कालाई छोड्न नसक्ने बुझिएको छ ।

गिरी युवा संघबाट अनेरास्ववियुमा आएका हुन् । युवा संघको जिल्ला सदस्य रहेर जिम्मेवारी निर्वाह समेत गरेका गिरी बिर्तामोडको देवि क्याम्पसमा अध्ययनसँगै अनेरास्ववियुमा सक्रिय भएका हुन् । उनले झापाको विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्न सक्षम भएको दावी गरेका छन् । हल्दिवारी अनेरास्ववियुको अध्यक्ष, क्याम्पस कमिटी अध्यक्ष हुँदै २० औं जिल्ला सम्मेलनबाट उपाध्यक्ष बनेका थिए ।

यस्तै, अर्का अध्यक्षका प्रत्यासी नारायण पोखरेल कनकाई क्याम्पस सुरुङाका विद्यार्थी हुन् । इलामबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेल अध्ययनका क्रममा झापा आएका हुन् । मावि कमिटीबाट विद्यार्थी राजनीति प्रारम्भ गरेका पोखरेल १७ वर्षको उमेरमा संगठनको राष्ट्रिय महाधिवेशन प्रतिनिधि बनेका थिए ।

प्रभावशाली क्षमता भएका पोखरेल झापाको विद्यार्थी आन्दोलनमा सुरुङाबाटै चर्चामा आएका हुन् । आफु अध्ययन गर्ने क्याम्पसमा भएको वेथिती विरुद्धको आन्दोलनमा क्याम्पसका अध्यक्षलाई क्याम्पस परिसर मै कालोमोसो दलेर चर्चामा आएका थिए । सो समयमा प्रहरीको निगरानीमा रहेका पोखरेल भारतको सीमा अतिक्रमणको विरुद्धमा इलामको सन्दकपुर पुगेका थिए ।

२० औं झापा जिल्ला अधिवेशनबाट सचिव बनेका पोखरेल जिल्लाको नेतृत्वका लागि आफ्नो दावी बलियो रहेको बताउँछन् । यसअघि जिल्लाको सहसंयोजकको समेत जिम्मेवारी निर्वाह गरिसकेका पोखरेलले आम विद्यार्थीको चहाना बमोजिम नै अध्यक्षमा तयारी गरिहेको जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]