जेष्ठ ३, २०८२ शुक्रबार

बालबालिकालाई गर्मीबाट जोगाऔं

सम्पादकीय
झापाको अधिकांश स्थानीय तहले गर्मी बढेपछि विद्यालय विदा गरेका छन् । स्थानीय तहले केहि दिनका लागि बालबालिकालाई घर मै आराम गराउन विदा दिइएको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई समस्या हुन सक्ने जोखिमलाई मध्यनजर गरेर विदा गरिए पनि उनीहरुको स्वास्थ्य सुरक्षाका लागि परिवारमा सतर्कता अपनाउन जरुरी देखिन्छ । केही दिनयताको तापक्रमले वयस्कलाई पनि निकै कठिन बनाइरहेको छ । जसका कारण मानवीय जनजीवन नै प्रभावित भएको छ । बालबच्चादेखि वृद्धसम्मको यतिवेला स्वास्थ्य सुरक्षामा ख्याल गर्नुपर्छ ।

तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्नेछ । मौसम विभागले लु चल्न सक्ने संकेत समेत गरेका कारण विशेष सतर्कता अपनाउनु अहिलको आवश्यकता हो । लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको विशेष हेरचाह गर्नुपर्छ । बालबालिकालाई तातो हावालूबाट जोगाउन सकिन्छ । बालबालिकालाई तातो हावा÷लूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउनु उत्तम हुने चिकित्सकहरुको सूझाव छ ।

जाडोमा चिसोबाट जोगिने चिन्ता थियो । अहिले तातो गर्मीबाट जोगिनुपर्ने समय आएको छ । सुरक्षाका वैकल्पिक विधिहरुलाई अपनाउन सकियो भने ठुलो समस्या आउने छैन । बच्चालाई सुतीको कपडा लगाइदिनुपर्छ । टाउको ढाकेर राखिरहनुपर्छ । कपडा, टोपी, छाताको प्रयोग गर्नुपर्छ । पत्रु खाना (जंक फुड) को प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने गरे शितलता मिल्नेछ । गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र बाहिर निकाल्नु ठिक हुन्छ । गर्मीको समयमा कुनै समस्या आइपरेमा चिकित्सकको सल्लाहमा स्वास्थ्य जाँच गर्नुपर्छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]