बैशाख ६, २०८१ बिहीबार

शिवसताक्षीको शिक्षा : स्मार्ट विद्यालयदेखि ज्ञान घरसम्म

सरोज भट्टराई

शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक विद्यालय रहेका छन् भने, २४ वटा संस्थागत विद्यालय र तीन वटा धार्मिक विद्यालय रहेकको नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।

धार्मिक विद्यालयहरुमा अन्नत दर्शन संस्कृत विद्यालय, कन्या गुरुकुल र सतासीधाममा रहेको श्री शिवसताक्षी गुरुकुलम विद्यालय रहेका छन् । यसैगरी कुल ३५ वटा समुदायिक विद्यालयहरु मध्ये १२ वटा मावि, नौ वटा आधारभूत र १४ वटा प्रावि रहेका रहेका छन् ।

शिवगञ्जमा रहेको जनआर्दश मावि नमुना विद्यालयको रुपमा छनौटमा परिसकेको र धमाधम कामहरु भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । नमुना विद्यालय छनोटमा परेसँगै जनआदर्शले विज्ञान शंकायको पठन पाठन सुरु गरेको छ ।

यस नगरका शैक्षिकसंस्थाहरुमा अन्तर जिल्ला र अन्तरपालिकाका गौरादह र गौरीगञ्ज लगायतका विद्यार्थीहरु पनि अध्यननको लागि आउने गरेको शिक्षा शाखाले जनाएको छ । यसैगरी पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुङबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।

प्रविधिको प्रयोगसँगै शिक्षामा पनि यसको प्रयोग गरी विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन नगरले प्राविधिक शिक्षा पनि लगानी गरेको छ । .नगरका धेरै विद्यालयहरुमा वाइडबोर्ड हटाई इन्ट्रयाकटिभ प्यानल बोर्डबाट शिक्षण सुरु गरिएको छ ।

शिक्षा शाखा प्रमुख ढकालले शिवसताक्षीले प्राविधिक शिक्षा तर्फ गणेशमान सिंह अध्ययन प्रतिष्ठानमा तीन वर्षे डिप्लोमा तह अध्ययनका लागि छ जना, नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान बिर्तामोडमा तीन वर्षे कम्प्युटर इन्जीनियर डिप्लोमा तह अध्ययनका लागि चार जनालाई छात्रवृत्ति प्रदान गर्ने गरेको बताएका छन् ।

शिवसताक्षीको प्रत्येक विद्यालयमा नगरपालिकाबाट अनुगमन हुने गरेको छ । यसैगरी इ–हाजिरी ल्याउने र जडान गर्ने काम ठेक्का प्रक्रिया मार्फत कार्यान्वयनको अन्तिम चरणमा रहेको शाखा प्रमुख ढकालले जानकारी दिए । शिवसताक्षीमा नियमित विद्यालयको अनुगमन भइरहेको छ । यस पटकको कक्षा ८ को परीक्षामा अन्तर विद्यालय परीक्षा केन्द्र तोकेर परीक्षा लिएको छ । शाखा प्रमुख ढकालले यो अन्तर विद्यालय परीक्षा प्रभावकारी भएको विद्यार्र्थी, अभिभावक र शिक्षकहरुबाट राम्रो प्रतिक्रिया आएको बताए ।

शिवसताक्षीका सबै विद्यालयहरुमा स्काउट दल तयार भई सकेको छ । यहाँबाट १५ बढी विद्यालयमा दिक्षान्त भइसकेका छन् । शिवसताक्षीमा स्काउट प्रतिको विद्यार्थीहरुको आकर्षण बढेको पाइएको छ । विद्यार्थीमा अनुशासन सिकाउने र बिपद व्यवस्थापनमा स्काउट परिचालन भएको स्काउट शिक्षकहरु बताउँछन् ।

शिक्षा शाखा प्रमुख छवि ढकालको शिक्षा क्षेत्रको थप विकासको निम्ति सुझावहरु दिदै भन्छन् ‘शिक्षक, कर्मचारी, सम्बन्धित सरोकारवाला निकायहरु जिम्मेवार भएर जिम्मेवारी पूरा गर्नुपर्छ । शिक्षालार्ई प्रविधिसंँग जोड्नु पर्छ । बिशुद्ध गुणस्तर कायम गर्न नगरपालिकाले ध्यान दिनुपर्छ ।’

आधारभूत विद्यालयहरु मध्ये सुर्योदय आधारभूत विद्यालय र पाथिभरा आधारभूत विद्यालयमा विद्यार्थी संख्या उच्च भएका कारण मावि उन्मुन विद्यालय विद्यालयको रुपमा हेरिएको छ ।

त्यसैगरी छोटो समयमा र्यापिट ग्राम विद्यार्थी संख्यामा प्रगति गर्ने विद्यालयहरुमा शिवसताक्षी ८ को सरस्वती आधारभूत विद्यालय, शिवसताक्षी १० को श्रीजंग आधारभूत विद्यालय र शिवसताक्षी ११ को मैनाचरी आधारभूत विद्यालयल रहेका छन् । ती विद्यालयहरुमा नगरपालिकाले विद्यार्थी ओसार पसार गर्न सवारी साधानको व्यवस्था, आइसीटी कक्षा लगायतका आधारभूत सुविधा उपलब्ध गराएसँगै विद्यार्थीको संख्यामा बृद्धि भएको सम्बन्धित विद्यालयले जनाएको छ ।

भौतिक पूर्वाधारमा अब्बल विद्यालय
शिवसताक्षी नगरपालिकामा भौतिक पूर्वाधारमा ६ विद्यालयहरु सवल देखिएका छन् । जसमा शिवसताक्षी ७ को भानु माध्यमिक विद्यालय, शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालय, शिवसताक्षी ७ को भगवती माध्यमिक विद्यालय, शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालय र शिवसताक्षी ७ को बाल सेवा आधारभूत विद्यालयहरु रहेका छन् । उक्त विद्यालयहरुमा विद्यार्थी संख्या उच्च रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

जसमा शिवसताक्षी नगर भित्रका ८ विद्यालयहरुमा भवन निर्माण कार्य भइरहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे , ३ कोठे र २ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नगर शिक्षा शाखाले जनाएको छ । जसमा राष्ट्रिय रमणीय मा.वि., भगवती मावि, लालपानी मावि., त्रिभूवन मावि, झिलझिले मावि. मोती मावि, हिमालयन प्रावि, सूर्योदय आधारभूत विद्यालय रहेका छन् भने श्रीजङ्ग आधारभूत विद्यालयमा आइसीटी कक्षाको तयारी भइरहेको छ ।

स्मार्ट विद्यालयको अवधारणा
स्थानीय सरकारले शिक्षामा गरेको लगानीको प्रतिफललाई अझै धेरै प्रभावकारी बनाउनका निम्ति नगर स्मार्ट विद्यालय कार्यक्रम कार्यन्वयनको चरणमा रहेको छ । नगर स्मार्ट परियोजनाको मुख्य उदेश्य भनेको विद्यार्थीलाई कक्षा कोठामा कसरी आकर्षण गर्ने भन्ने हो । विद्यालयको चौतर्फी विकासका लागि भौतिक पूर्वाधार, खानेपानी लगायत मात्रले पूर्ण नहुने भन्दै नगरपालिकाले यस आ.व.बाट स्मार्ट विद्यालयको अवधारणा ल्याएको छ ।

विद्यालयको भौतिक पूर्वाधार साथसाथै कक्षा कोठाहरुलाई डेकोरेसन गरेर विद्यार्थी मैत्री कक्षाकोठा निर्माणमा लागेको हो । आफु निर्वाचित भएपछि शिक्षाका लागि थप नयाँ योजना अनुरुप नगरप्रमुख मेगाहाङ्ग थोप्राले स्मार्ट विद्यालयको अवधारणा ल्याएका हुन् । उनले विद्यालयका कक्षा कोठाहरुलाई स्मार्ट बनाउने, डेकोरेसन गर्ने, विद्यार्थीहरुलाई बस्नका लागि आधुनिक किसिमका डक्स बेन्चहरुको व्यवस्था गर्ने उद्देश्यले स्मार्ट विद्यालयको अवधारणा ल्याएको जानकारी दिए । यसले विद्यार्थीलाई कक्षा कोठामा पढ््ने वातावतरण बन्छ । विद्यार्थी विद्यालय आउन उत्सुक बन्छ । हाल नगरपालिकाले नगरका ४ ओटा विद्यालयहरुलाई छनौट गरी कक्षाको कोठाको स्तरोन्नती गर्न सुरु गरेको छ । स्मार्ट विद्यालय निर्माण गर्न ७५ लाख रकम विनियोजन गरी काम गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा बालसेवा आधारभूत विद्यालय, बालनिकञ्ज माध्यमिक विद्यालय, सुर्योदय आधारभूत विद्यालय र हिमालय प्राथमिक विद्यालय रहेका छन् ।

संस्कृत र लिम्बु भाषा पढाई हुँदै
माइधारमा रहेको कन्या गुरुकलमा भागवत, गीता र चण्डी पाठ सम्बन्धी पढाई भइरहेको छ । यहाँ २१ जना विद्यार्र्थी रहेको गुरुकुलले कक्षा चारसम्म बिहान र बेलुकी शास्त्रीय विधा पढाई गरिरहेको गुरुकुलकी प्राचार्य विन्दा बरालले जानकारी दिइन् । विद्यार्थीलाई निशुल्क रुपमा पढाई रहेको यस गुरुकुललाई यसै साल नगरपालिकाले भवन निर्माणका लागि शिवसताक्षी नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा पनि श्री शताक्षी गुरुकुलम सञ्चालनमा छ । जसमा ३४ जना विद्यार्थीहरु रहेका छन्, भने, भारतको आसाम, मणीपुर, सिक्किम र प्रदेश नं. १ का विभिन्न ठाउँबाट संस्कृत पढ्नका लागि विद्यार्थीहरु आउने गरेका छन् । कुरुकुलमा विद्यार्थीहरुलाई खान विद्यार्थीहरुका लागि छात्रा बासको पनि राम्रो व्यवस्था रहेको विद्यालयका प्राचार्य मदन मोहन अधिकारीले बताए । त्यस्तै शिवसताक्षी १० माइधारमा अनन्त दर्शन संस्कृत विद्यालय पनि सञ्चालनमा रहेको छ ।

यता शिवसताक्षी न.पा. १० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयमा लिम्बु भाषाको पठन पाठन सञ्चालनमा ल्याएको छ । वि.सं.२०७८ सालदेखि लिम्बु भाषाबाट पठन पाठन गराउन थालिएको विद्यालयका प्र.अ. भुवानी प्रसाद थापाले बताए । उनले लिम्बु भाषालाई स्थानीय विषयको रुपमा १ देखि ३ कक्षा सम्मका सबै विद्यार्थीहरुलाई अध्यापन गराइरहेको जानकारी दिए । हाल लिम्बु भाषा अध्ययन गर्ने ८५ विद्यार्थी रहेका छन् ।

नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम
शिवसताक्षी नगरपालिकाले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा के कस्ता गतिविधीहरु भैरहेका छन् भनेर विद्यार्थी सँग प्रत्यक्ष साक्षकार गरेको छ । नगर शिक्षा शाखाले नगरप्रमुखसँग विद्यार्थी एक दिवशीय कार्यक्रम गरेर विद्यार्थीहरुको समस्याहरुको विषयमा छलफल गरेको हो । शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र विद्यार्थीका समस्याहरुको पहिचान गरी कार्यक्रम बनाउन पनि नगरपालिकाले यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। नगरप्रमुख सँग विद्यार्थी कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीहरुले शिक्षकले विद्यार्थी कै अगाडि गुड्का मदु खाने, समय सम्म अध्यापन नगराउने, विद्यालयमा खाने पानीको व्यवस्था नभएको, कक्षा ८ को परीक्षाकन्द्र अन्तर विद्यालयमा राखिएकाले परीक्षामा सम्वन्धित विद्यालयका शिक्षकहरु आएर सिकाइदिने जस्ता गुनासाहरु सुनाएका थिए । संस्थागत विद्यालयकाहरुका विद्यार्थीहरुले नगरपालिकाबाट विद्यार्थीले पाउने सुविधाबाट संस्थागत विद्यालयका विद्यार्थी किन बन्चित हुनु परेको भन्ने प्रश्न राखेका थिए ।

नगरप्रमुख सँग विद्यार्थी कार्यक्रमले विद्यार्थीका समस्याहरुको पहिचानमा सहयोग पुगेको नगर शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए । विद्यार्थीहरुले उठाएका विषयहरुमा सम्बन्धित विद्यालयका प्र.अहरुसँग छलफल समेत गरिएको उनको भनाई छ ।

ज्ञान घर निर्माण
विद्यालय भन्दा बाहिरका नागरिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यले शिवतसाक्षी नगरपालिकाले ज्ञान घर निर्माण कार्य सुरु गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावक वा आम नागरिकलाई एकै ठाउँमा बसेर विभिन्न किताब, पत्रपत्रिकाहरु पढ्ने स्थान निर्माण गर्न लागिएको बताए ।

हाल ज्ञान घर शिवसताक्षी ७ को व्याङ्गडाँडामा निर्माण भइरहेको छ । नगरपालिकाले प्रत्येक वडामा एउटा ज्ञान घर निर्माण गर्ने अवधारणा ल्याएको जनाएको छ । ज्ञान घरले आम मानिसहरुलाई पढ्ने वातावरण बन्ने अपेक्षा गरिएको नगर प्रमुख थोप्राको भनाई छ । ज्ञान घरमा विहानपख चियाको चुस्की सँगै पत्रपत्रिका, दार्शनिक सम्बन्धी किताव, समान्य ज्ञान, दैनिक जीवन चाहिने जानकारी मुलक पुस्तिका, लोक सेवा तयारी पुस्तिाका लगायतका पाठ्य सामग्री पढ्ने वा अध्ययन गर्ने छन् । ज्ञान घर मानिसको जमघट हुने स्थानमा बनाइने छ । ज्ञान घर शिवसताक्षी नगरपालिका वडा नं. १० को माइधारमा, वडा नं. २ को मंगलबारेमा समेत निर्माण गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिक्षकहरुको क्षमता अभिबृद्धि कार्यक्रम
शिवसताक्षी नगरपालिकाले नगर भरिका शिक्षकहरुका लागि क्षमता विकास तालिमहरु दिइएको छ । नगरभरीका सामुदायिक विद्यालयमा समय सापेक्ष शिक्षाको गुणस्तरमा बृद्धि र पाठ्यक्रम परिवर्तन हुँदै गइरहेकाले शिक्षणमा नयाँ सिकाईका लागि क्षमता अभिबृद्धि तालिम दिइएको नगर शिक्षा प्रमुख ढकालले जानकारी दिए । शिक्षा शाखाले शिवसताक्षीको दुधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श मावि विद्यालयमा नगर भरीका प्रधानाध्यापकहरुलाई क्षमता विकास तालिम दिइएको थियो । त्यस्तै सामुदायिक तथा संस्थागत विद्यालयका बाल शिक्षकहरुलाई मन्टेश्वरी तालिम पनि दिइएको नगर शिक्षा शाखाले जनाएको छ । हालै मात्र शिवसताक्षी नगरपालिकामा दुई दिवशीय इमिस तालिम सम्पन्न भएको थियो ।

त्यसैगरी विद्यार्थीहरुको अन्तनिहीत क्षमताको विकास गर्ने उद्देश्यले अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन भैरहेको समेत शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा पदाधिकारीहरुलाई समेत विद्यालय सञ्चालन र व्यवस्थापन समितिले गर्नु पर्ने काम कतव्र्य अधिकार सम्बन्धि तालिमहरु प्रदान गरिदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८० सोमबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]