बैशाख १७, २०८१ सोमबार

यस्तो होस्, झापाको अनेरास्ववियु

मदन ओली

नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियु झापा आफ्नो २१ औँ जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा छ । अनेरास्ववियुको यो सम्मेलनबाट आम झापाली विद्यार्थीसँगै समग्र विद्यार्थी आन्दोलनले ठुलो अपेक्षा गरेको छ । नजिकबाट निहालेको छ । यसै सन्दर्भमा अबको झापाली अखिल कस्तो हुनुपर्छ भन्ने अखिलको कार्यकर्ताको दृष्टिकोण समेटेर यो आलेख तयार गरेको छु ।

पृष्ठभुमी
२०७८ साल पौष महिनाको २० गते सम्पन्न अनेरास्ववियुको २० औँ जिल्ला सम्मेलन क. रोशन लामाको नेतृत्वमा ३९ सदस्य जिल्ला कमिटी निर्माण गर्दै सम्पन्न भयो । आफ्नो १ बर्ष ५ महिनाको कार्यकाल सफलता पूर्वक सम्पन्न गरेर २१ औँ सम्मेलनको तयारी सम्पन्न भएको छ । २१ औँ सम्मेलनबाट आउने नेतृत्व कस्तो बन्ने र कस्ता कस्ता कार्यक्रम तय गर्ने नै अहिलेको प्रमुख सवाल रहेको छ ।

संगाठनिक संरचना
अनेरास्ववियुको २१ औँ जिल्ला कमिटीले संगाठनिक रुपमा चुस्त दुरुस्त कमिटी निर्माण गर्नुपर्छ । विद्यार्थी आन्दोलनमा देखिएको एउटा प्रमुख समस्या विद्यार्थीहिन विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्ने गरि कमिटी निर्माण गरिनु पर्छ । अनेरास्ववियु राजनीतिक नेतृत्व बिकासको कारखाना हो । तसर्थ, अनेरास्ववियु झापाले सम्पुर्ण क्षेत्र र बिषय अध्ययन गर्ने विद्यार्थीहरु समेट्ने गरि वर्तमान परिवेशको माग अनुरुप संगठन निर्माण गर्नुपर्छ । समावेशी र सहभागिता मुलक कमिटी गठन गर्न सके मात्र अहिलेको विद्यार्थी आन्दोलनको मुद्दाहरु सम्बोधन हुन सक्छन् ।

कार्यक्रमको बिषयमा
अनेरास्ववियु झापाको २१ औँ सम्मेलबाट निर्वाचित हुने कमिटीले आफ्नो मुख्य ध्यान विद्यार्थी आन्दोलनलाई थप वैचारिक र व्यवहारिक बनाउन लगाउनु पर्छ । विद्यार्थी संगठनहरुको नेता संगठन अनेरास्ववियु आफ्नो मुद्दा प्रति इमान्दर बनेर सत्ताको सदैव प्रतिपक्षी संगठनको रुपमा रहेको छविलाई आलोचनात्मक चेतको विकास र सिर्जनात्मक सुझावका माध्यमबाट थप परिस्कृत बनाउनु पर्छ । अबको अखिल हरेक बिषयमा प्रश्न गर्न सक्ने कार्यकर्ता नेता उत्पादनमा लाग्नुपर्छ । समाजमा रहेका तमाम बेथिति , बिकृतिको सम्बोधन गर्ने सरल उपाय भनेको प्रश्न गर्ने बानीको बिकास गर्नु हो । अनेरास्ववियु झापाले प्रश्न गर्ने बानिको बिकास गर्न प्रशिक्षण दिने देखि वैचारिक रुपमा यस्ता गतिबिधिमा लाग्ने कार्यक्रम २१ औँ सम्मेलनबाट पारित गर्नुपर्छ ।

२१ औँ सम्मेलनबाट खोजिनु पर्ने केहि उत्तरहरु :
विद्यार्थी अधिकारको सवाल : अनेरास्ववियु झापाले विद्यार्थी वर्गको हितको लागि के कस्ता कदम चाल्ने भन्ने बिषय आजको प्रमुख प्राथमिकताको बिषय हो । नेपालको संविधान २०७२ मा रहेको शिक्षा सम्बन्धी नैसर्गिक अधिकारको पुर्ण कार्यान्वयनमा के के कदम चाल्ने र अनेरास्ववियुको आन्दोलनबाट स्थापित अधिकारको कार्यान्वयनको बिषयमा ठोस निर्णय गर्नुपर्छ ।

शिक्षामा सुधार : शिक्षामा सुधार ल्याउन के कस्ता कदम चाल्ने भन्ने बिषयमा अबको झापाली अखिल थप प्रष्ट हुनुपर्छ । जस्तै पाठ्यक्रम अपडेट, शिक्षक तालिम, बिद्यालय विकास र पठन विधिहरूको आधुनिकिकरणमा अनेरास्ववियु झापाको बिशेष भूमिका रहनुपर्छ ।

युवा सशक्तिकरणः अनेरास्ववियु झापा युवाहरूलाई कसरी सशक्त बनाउन र सामाजिक, राजनीतिक र आर्थिक मुद्दामा उनीहरूको सक्रियतामा उत्कृष्ट भूमिका खेल्ने कार्यक्रम ल्याउनुपर्छ । युवाहरूको नेतृत्व कौशलहरूलाई कसरी बढाउन सकिन्छ र उनीहरूलाई सक्रियता पूर्वक अवसरहरू प्रदान गर्न सकिन्छ यि र यस्ता तमाम् बिषयमा आफ्नो प्रष्ट दृष्टिकोण सहित अगाडि आउनु पर्छ ।

सामाजिक न्यायः अनेरास्ववियु झापा शिक्षामा देखिएको वर्गीय खाडललाई तोडेर समान रुपमा शिक्षा हासिल गर्न सक्ने अबस्थाको निर्माण गर्न भुमिका खेल्नु पर्छ । सामाजिक न्याय र शैक्षिक समानता को मुद्दा अझ सशक्त बन्नुपर्छ ।
रोजगार र उद्यमशिलता : अनेरास्ववियु झापाले विद्यार्थीलाई कसरी रोजगार र उद्यशिलतामा जोड्ने भन्ने बिषयमा बहस गर्नुपर्छ र निकास दिनुपर्छ । देशमा देखिएको शैक्षिक बेरोजगारीलाई सम्बोधन गर्न र विद्यार्थी पलायन रोक्न अनेरास्ववियु झापाले समाधान सहितको सुझाव लिएर सरोकारवाला निकायसँग समन्वय गर्नुपर्छ निकास दिनुपर्छ ।
विद्यार्थी आन्दोलनः अनेरास्ववियु झापाले विद्यार्थी आन्दोलनमा तमाम विद्यार्थीलाई सहभागिताको प्रोत्साहन दिने र सामाजिक, राजनीतिक मुद्दामा सक्रियता पुर्ण रुपले लाग्न प्रेरितसहित जागरुक गर्नुपर्छ । विद्यार्थीहरूलाई न्यायपूर्ण प्रदर्शन वा अभियानमा सहभागी बन्न प्रेरित गर्ने कार्यभार पनि अनेरास्ववियु झापाले पुरा गर्नुपर्छ ।
शैक्षिक स्वतन्त्रता : अनेरास्ववियु झापाले शैक्षिक संस्थानहरूमा शैक्षिक स्वतन्त्रता, बौद्धिक विविधता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न आफ्नो कार्यक्रम ल्याउनु पर्छ ।

विद्यार्थीको स्वास्थ्य : विद्यार्थीहरुको शारीरिक र मानसिक सुधार गर्ने उपायको बिषयमा अनेरास्ववियु झापाले कार्यक्रम ल्याउनु पर्छ । विद्यार्थीको निशुल्क स्वास्थ बीमा अनेरास्ववियु झापाको मुद्दा बन्नुपर्छ ।

पर्यावरणीय संरक्षण : अनेरास्ववियु झापाले क्याम्पस र समुदायमा पर्यावरणीय जागरुकता, संरक्षणको बिषयमा अभियान चलाउनु पर्छ । पर्यावरणको संरक्षणमा समाजको सबैभन्दा सचेत वर्ग विद्यार्थी वर्गको सक्रिय सहभागिता हुनुपर्छ । अनेरास्ववियु झापा को २१ औँ जिल्ला अधिवेशनले विद्यार्थीका बिषयमा गम्भीर बनेर आफ्नो वर्गीय हितको नीति र सोहि नीतिलाई कार्यन्वयन गर्न सक्ने सक्षम नेतृत्व पाउन सके समग्र अधिवेशन सफल बन्नेछ । विद्यार्थी आन्दोलनले थप गति लिएर आफ्नो औचित्य पुष्टि गर्नेछ ।

(लेखक : अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्य एवम् अर्जुनधारा नगर इन्चार्ज हुन् ।)

प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]