झापा अखिलमा सक्षम नेतृत्वको खाँचो
सम्पादकीय
विद्यार्थी आन्दोलनमा स्थापित अनेरास्ववियु मुलुकको विभिन्न परिवर्तनको आन्दोलनमा सशक्त भूमिकामा छ । देशभर संगठन भएको अनेरास्ववियुले शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । शिक्षासँगै समाज रुपान्तरणमा योगदान गरिरहेको अनेरास्ववियुको केन्द्रीय नेतृत्व भर्खरै परिवर्तन भएको छ । जसको नेतृत्वमा अनुभवी विद्यार्थी नेता समिक बडाल आएका छन् । अनेरास्ववियु एक बेलाको शक्तिशाली संगठन मानिन्छ । अहिले विगतको जस्तो शक्तिशाली संगठनको रुपमा अनुभुत हुन सकेको छैन । त्यसको एउटा कारण मुलुकमा राजनीतिक क्रान्ति सकिएको हुनुपर्छ । र, सत्ताको गलत कदम विरुद्ध खरो उत्रिन नसक्नु हो ।
राजनीतिक क्रान्तिमा प्रभावशाली उपस्थिति जनाएको अनेरास्ववियु अब शैक्षिक क्षेत्रको सुधारमा केन्द्रीत हुनुपर्छ । देशभर संगठन भएको अनेरास्ववियुको आज झापामा २१ औं जिल्ला अधिवेशन हुदैछ । हरेक दलका विद्यार्थी संगठनहरु छन् । सबै विद्यार्थी संगठनमध्ये समाजमा विद्यार्थीको हितमा, विद्यार्थीको प्रिय संगठन बनेको अनेरास्ववियुलाई कुशल, क्षमतावान नेतृत्वको खाँचो छ । राजनीतिक जीवनमा सबैभन्दा महत्वपूर्ण मानिने विद्यार्थी राजनीतिले आगामी राजनीतिक यात्रा सफल बनाउन सहयोग गर्नेछ । त्यसैले अनेरास्ववियुमा उत्कृष्ट व्यक्तित्व नेतृत्वमा स्थापित हुनुपर्छ ।
झापाको विद्यार्थी आन्दोलनमा अनेरास्ववियु अगाडि छ । तर, अहिलेको गतिले मात्र पुग्दैन । युवा, विद्यार्थीहरुलाई राजनीतिक चेतना दिन सक्ने नेतृत्वको खाँचो छ । एक बेला चरम गुटबन्दीले आन्दोलनलाई प्रभाव पार्ने गथ्र्याे । तर, अहिले विद्यार्थीमा एकता छ । एकतामा खल्बल्याउने, नेतृत्वमा आफ्नै हठ राख्ने, अधिवेशनमा मात्रै सक्रिय हुने, नेतृत्व विरुद्ध आन्दोलन गर्नेहरु अनेरास्ववियुका लागि घातक हुन्छ । यसलै विद्यार्थीहरुको शैक्षिक एवम् सामाजिक जीवनमा सधैंभरी योगदान गर्न सक्नेलाई नेतृत्व चयन गर्नु उपयुक्त हुन्छ । नेतृत्व पाउदा मात्रै सक्रिय हुने नत्र निष्किृय हुनेहरुको पहिचान गरेर नेतृत्व चयनमा विवेक पुर्याऊ । युवा विद्यार्थीको पलायन रोक्न सक्ने, देशमै केहि गर्न सक्छौं भनि आत्मविश्वास जगाउन सक्ने नेता चयन गरियोस् ।