बैशाख २२, २०८२ सोमबार

अभिभावकबिहीन बालबालिकाको संरक्षण गर्ने सहाराको घोेषणा

बिर्तामोड । झापा बिर्तामोडका तीन जना अभिभावक विहीन बालबालिलाई सहारा नेपालले संरक्षण गर्ने भएको छ । आमाको निधन र बुबा सुधार गृहमा रहेका कारण तीन जना नावालक कष्टकर जीवन बिताउदै आएका थिए । आमाको निधनपछि अभिभावक विहीन भएका उनीहरुलाई एउटा भिडियोले जीवनमा ठुलो मद्दत पुगेको छ ।

बिर्तामोड –४ सुर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेस दाहालको सम्पूर्ण जिम्मेवारी सहारा नेपालले लिने घोषणा गरेको छ । युटुवर भाग्य न्यौपानेले तीन जना नावालकको दैनिक जीवन बारे भिडियो सामग्री सार्वजनिक गरेपछि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरीसहितको टोली बालबालिकाको अवस्था अध्ययन गर्न घर पुगेको थियो । नावालकहरुको दैनिक जीवनमा अत्याधिक कठिनाई भएको देखेपछि कार्यकारी निर्देशक गिरीले उनीहरुको संरक्षण गर्ने घोषणा गरेका थिए ।

ठुली छोरीले आमाको निधनपछि वारीपारी गरेर भाईबहिनीको रेखदेख गर्दै आएको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियामा निर्दिकाले आमाको दम रोगका कारण मृत्यू भएको बताएकी थिइन् । उनको भिडियोले सबैको ध्यानाकर्षण गराएको थियो । भिडियो हेरेर धेरैले आर्थिक सहयोग समेत गरेका छन् ।

सहारा नेपालले तीन जनाको संरक्षणका लागि स्थानीय तह र सरोकारवालासँगको समन्वयमा कानुनी प्रावधान पुरा गर्ने जनाएको छ । सहाराले तीनैजनाको उच्च शिक्षासम्म अध्ययनमा सहयोग गर्ने, बसिरहेको घरको पुनःनिर्माण गर्ने, घरमा चाहिने आधारभुत आवश्यक सामग्रीहरुको व्यवस्थापन मिलाउने, सानो छोरा र बुबाको उपचारमा सहयोग गर्ने, नानीहरुको संरक्षणको लागि रेखदेखको व्यवस्था मिलाउने, अध्ययन पश्चात इच्छुक भएमा १ जनालाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्ने जनाएको छ ।

युटुवर भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल बैंकमा खोलिएको खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । स्थानीय सुनिल न्यौपाने लगायत युवाहरुको पहलमा न्यौपानेले नावालकहरुको भिडियो निर्माण गरेका थिए ।

सहारा नेपालले उनीहरुको संरक्षणको जिम्मा लिने घोषणा गरे पश्चात नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले पनि उनीहरुको जिम्मेवारी लिन सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]