बैशाख १७, २०८१ सोमबार

शुद्धीकरणका नाममा पत्रकारको अपमान किन ?

लक्ष्मी उप्रेती

अहिले नेपाल पत्रकार महासंघ देशव्यापी रूपमा सदस्य शुद्धीकरण महाअभियानमा छ । म पनि भन्छु महासंघलाई सक्रिय र व्यवसायिक पत्रकारहरूको साझा संस्था बनाउनका लागि सदस्य शुद्धीकरण आवश्यक थियो र छ ।
तर, झापामा अहिले जसरी शुद्धीकरण गर्ने विषयमा विभिन्न समाजिक सञ्जालमा प्रेस विज्ञप्ति र आरोप प्रत्यारोप भईरहेको छ त्यो देखेर केही लेख्न र नेपाल पत्रकार महासंघ झापा शाखालाई प्रश्न गर्न मन लाग्यो ।

शुद्धीकरणलाई साच्चिकै शुद्धीकरण बनाउन महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा महिला उपाध्यक्ष सुशीला संग्रौला, सचिव डिकेश लामा, सहसचिवद्वय राजु पाठक र अर्जुन राजवंशी र सदस्यहरू सुनिरा मैनाली र राजन साम्पाङ्ग सदस्य रहहेको कार्यदल २८ मे २०२३ मा गठन गर्याे ।

कार्यदल के गर्दैछ म बेखवर छु । सामाजिक सञ्जाल हेर्दा लाग्छ झापामा गन्नै नसकिने कार्यदल छ । तर, कुन आधिकारीक हो, म भन्न सक्ने अवस्थामा छैन । केही दिनअघि एकजना पत्रकार मित्रले आफ्नै फेसबुक पेजमा थुप्रै पत्रकारहरूको नाम भएको एउटा पत्र पोस्ट गर्नुभयो ।

‘कार्यदलले प्रतिवेदन नबुझाएसम्म निम्न सदस्यहरूको सदस्य नविकरण नगर्ने’ भन्दै ८१ जनाको नाम सार्वजनिक गर्नुभयो । जहाँ २४ नम्वरमा मेरो पनि नाम थियो । केही दिनपछि अर्कै एकजना पत्रकार मित्रले “पत्रकार महासंघ झापाले शुद्धिकरणका लागि तयार गरेको अन्तिम नामावली भनेर ६४ जनाको नाम सार्वजनिक गर्नुभयो । जहाँ मेरो नाम १२ नम्वरमा रहेछ ।

पहिलो पोष्टका विषयमा नेपाल पत्रकार महासंघले आफ्नो मुख खोल्यो र धारणा सार्वजनिक गर्याे । प्रेस विज्ञप्ति जारी गर्दैँ यसमा सत्यता नरहेको स्पष्ट पार्याे । साच्चै गलत थियो, सत्यता थिएन भने ८१ जना झापाली पत्रकारहरूको मानमर्दन हुने गरेर उहाँहरूको प्रतिष्ठा मै आँच आउने गरी सामाजिक सञ्जालमा उहाँले किन पोष्ट गर्नुभयो ? अनि प्रेस विज्ञप्ति जारी गर्दैमा महासंघको दायित्व पुरा भयो र ? जे होस दोस्रोमा अझै मौन देखिएको पत्रकार महासंघ झापा शाखाले पहिलो पोस्टमा विज्ञप्तिसम्म जारी गरेर ओैपचारिकता त पुरा गर्याे ।

यी दुवै पोष्ट गलत हो भने कहाँबाट गलत भयो खोज्ने काम कस्को ? यो कुरा कहाँबाट चुहिँयो प्वाल कहाँ छ पत्रकार महासंघले खोज्ने कि नखोज्ने ? झापाली पत्रकारहरूको हुर्मत काढ्ने गरी उहाँहरूलाई यो नाम सावर्जनिक गर्न उहाँहरूलाई कस्ले अनुमति दियो ? यो विषयमा उहाँहरूले बोल्न पर्छ कि पर्दैँन् ? यस्ता थुप्रै प्रश्न अहिले मेरो मनसपटलमा उव्जिएका छन् । जवाफ कहाँ खोज्ने थाहा छैन् ।

कि त सदस्य शुद्धीकरणका लागि गठित कार्यदलले १५ वटा बुँदामा रहेर सत्यतथ्य र पारदर्शीरूपमा को कुन संघको ? को आफ्नो, को अरूको ? नभनी नेपाल पत्रकार महासंघ झापा शाखालाई प्रतिवेदन बुझाउनु पर्याे । होईन भने, जथाभावी रूपमा पत्रकारहरूको नाम सावर्जनिक भएको विषयमा सत्यतथ्य छानबिन गर्नुपर्याे । नत्र नाम मात्रको कार्यदल तत्काल विघटन गर्दिए हुन्छ ।

झापामा पत्रकारहरूको संख्या कति छ र साच्चै पत्रकारिता गरेरै वा मुल पेशा पत्रकारिता बनाउनेको संख्या कति छ त ? सवै यो विषयमा जानकार हुनुहुन्छ । पत्रकारिता वा अक्षर कै खेती गरेर बाच्न सकिन्दैँन भन्ने कुरामा तपाई हामी सवै जानकार छौ । सायद त्यही भएर कसैले गैरसरकारी संस्था चलाउन बाँध्य हुनुहुन्छ त कोहि सरकारी त कोहि नीजि शिक्षण संस्थामा कार्यरत हुनुहुन्छ । कोहि सांगीतिक कार्यक्रम सञ्चालक, कोहि साहित्य अनि कोही विभिन्न तालिम प्रशिक्षक पनि । कोहि कहि कतै न कतै अल्झिए पनि पत्रकारितालाई सँगसँगै अघि बढाउनु भएको छ । यसको मतलव पत्रकारिता मै मात्र कोहि हुनुहुन्न भन्ने होईन् । त्यस्ता साथीभाईहरू पनि हुनुहुन्छ । झापामा साच्चै शुद्धीकरण गर्ने हो भने कति सदस्य होला यो नेपाल पत्रकार महासंघ झापा शाखा ।

पत्रकारिता संख्यात्मक होईन् । गुणात्मक हुनुपर्छ । मलाई लाग्छ पत्रकारिता गर्ने को कहाँ के जागिर खान्छ भन्ने होईन उसको सक्रियता, गुणस्तर र पत्रकारिताका आचारसंहिताभित्र कति ईमान्दार छ त्यो खोज्ने कि ?
जस जस्को नाम फेसबुकमा शुद्धीकरणमा परेको भनेर भनियो त्यही सहि होस कि गलत त्यसलाई छाडौँ । तर, ती नाम पत्रकारितामा कति सक्रिय छन् त्यसलाई नहेर्ने हो भने उनीहरू माथि अन्याय ठहर्छ ।

अब आफ्नै कुरा : म शुद्धीकरणको पक्षमा हो । यो अभियानको स्वागत गर्दछु । २०५८ सालको अन्त्यतिर फाट्टफुट्ट लेख्दैँ गर्दा २०५९ साल बैशाख २१ गते प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता प्रशिक्षणमा सहभागी हुने अवसर मिल्यो । प्रमुख प्रशिक्षक प्रेस चौतारी नेपालका तत्कालिन केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा हुनुहुन्यो । त्यो तालिम लिए पनि थोरै पत्रकारिता बुझे । र, लेख्ने कर्मलाई निरन्तरता दिन थाले ।

लेख्ने कर्मले निरन्तरता पाएपछि २०६१ साल मंसिर १० गते नेपाल पत्रकार महासंघको साधारण सदस्य प्राप्त गरे । मेरो सदस्य नम्वर ६० हो । त्यो बेलादेखि यो बेलासम्म आईपुग्दा झापाबाट प्रकाशित हुने दैनिक देखि साप्ताहिक छापा माध्यममा मेरा समाचार छापिए ।

झापाका अग्रज पत्रकार आदरणीय नकुल काजी प्रधान सम्पादक रहनु भएको विवेचना दैनिकमा समाचारदाता देखि संवाददाता हँुदैँ उपसम्पादक र व्यवस्थापकको भूमिका निर्वाह गरे । पूर्वाञ्चल , प्रतिदिन, पूर्व सन्देश, तहल्का दैनिकमा कर्म गरे । मैले वैकल्पिक पेशाका रूपमा पत्रकारिता पेशा रोजेको होईन । जुनदेखि शुरू गरे पत्रकारिताबाटै गरे । नेपाल पत्रकार महासंघ झापा शाखाको २०७० साल फागुन ५ गते सम्पन्न निर्वाचनमा महासंघको विधान २०६० को दफा १४ तथा निर्वाचन निर्देशिका २०६४ को दोस्रो संशोधन २०७० बमोजिम म सभासदमा निर्वाचित भए । पछि एफएम मेची टियून्स ९६.८ मा रेडियो कार्यक्रम देखि सूर्याेदय टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा रहेर हालसम्म पत्रकारिता पेशालाई मर्यादितरूपमा अघि बढाउँदैँछु । हव डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित न्यूज पोर्टल मेरो मेचीनगर डटकममा सम्पादकको जिम्मेवारी बहन गर्दैँछु ।

आजका मितिसम्म वा २०८० साल जेठ २९ गतेसम्म मेरो समाचार छापिएका छन् । बाँकी रह्यो मेरो सदस्यता नविकरण गर्ने कि नगर्ने भन्ने । मैले लाग्ने दस्तुर बुझाएर नियमित रूपमा सदस्यता नविकरण गरिरहेको छु । मैले २०८० सालसम्मको सदस्यता नविकरण गरिसकेको छु । भलै भोली रद्द पनि होला । अहिले जसरी पत्रकारितालाई अघि बढाउँदैछु र आय आर्जन गरिरहेको छु वा पत्रकारिताबाट प्राप्त आम्दानीले मेरो परिवार धान्न मुश्किल पर्छ । त्यसैले मैले पत्रकारिता पेशालाई मुख्य कर्म बनाएर अघि बढ्दै जादाँ कहि कतै रोजगारको अवसर प्राप्त गरेपछि सामान्य पारिश्रमिक प्राप्त गर्न थाले । जसका कारण मेरो घर चलाउँन राहत मिल्यो ।

अहिले पनि मोफसलबाट सञ्चालित सञ्चारमाध्यमबाट मात्र होईन देशकै ठुल्ठुला शहरबाट सञ्चालनमा आएका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूले तलव नपाएर अनसन, धर्ना समेत बस्नुपरेका घटना थुप्रै छन् । मुल पेशा पत्रकारिता बनाएका थुप्रै सञ्चारकर्मीहरूले विकल्पका रूपमा अन्य पेशा रोजे, धेरै विदेशिए । कारण थियो, पत्रकारिताबाट मात्र गुजरा नचल्नु ।

अहिले जो जुनजुन कर्ममा रहेर पनि अनुशासित, मर्यादित रूपमा पत्रकारिता गर्दै हुनुहुन्छ उहाँहरू त धन्यवादको पात्र हुनुहुन्छ । कम से कम उहाँहरूले पत्रकारिता त छाड्नु भएन । यसकारण शुद्धीकरण त गरौ तर, कसरी गर्ने त्यस विषयमा पनि सोच्ने कि ?
लेखकको नीजि विचार

प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]