जेष्ठ ४, २०८१ शुक्रबार

मेचीनगरमा उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर । मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् ।

सङ्घीय सरकारले २०७८ साल चैत १६ गते मिर्गौला डायलासिस गराइरहेका तथा प्रत्यारोपण गराएका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार खर्चबापत मासिक रु पाँच हजार दिने निर्णय गरेको थियो ।

यो रकम चालु आव २०७९/८० मै बिरामीहरुले पाउनुपर्ने हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै बजेट नपठाएका कारण मेचीनगरले सम्बन्धित बिरामीहरुलाई उपचार खर्च दिन नसकेको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । उहाँले नगरपालिकाको आन्तरिक स्रोतबाट सो रकम उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै स्वास्थ्य मन्त्रालयलाई पटकपटक बजेटका लागि ताकेता गर्दासमेत सकारात्मक जवाफ नआएको गुनासो गर्नुभयो ।

“गत मङ्सिर, वैशाख र असारमा गरी तीनपटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी उपचार खर्चको बजेट विनियोजन गरिदिन पत्र लेखेका छौँ”, नगरप्रमुख बुढाथोकीले भन्नुभयो, “न बजेट आउँछ, न कुनै प्रतिक्रिया ।”

सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेर स्थानीय तहसम्म वितरणका लागि बजेट पठाए झैँ उपचार खर्चको बजेट पनि केन्द्रबाटै आउनुपर्ने उहाँको माग छ ।

मेचीनगर नगरपालिकामा दुई सय एकजना मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरुले नेपाल सरकारले घोषणा गरेबमोजिम मासिक उपचार खर्च माग गर्दै नगरपालिकामा निवेदन दिइसकेका छन् । उनीहरुको मागबमोजिम उपचार खर्च उपलब्ध गराउन रु ८७ लाख २० हजार बजेट आवश्यक हुने नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।

सङ्घीय सरकारले घोषणाबमोजिम बजेट नपठाएको जनाउँदै स्थानीय तहको सरकारले रकम नदिने कार्यबाट सरोकावाला बिरामीहरु चिन्तित भएका छन् । उनीहरुले नगरपालिकालाई जसरी भए तापनि उपचार खर्चको व्यवस्था मिलाउन दबाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण समाजका केन्द्रीय सदस्यसमेत रहनुभएको मेचीनगर–१४ धाइजनका राजन मैनाली जीवन र मरणको दोसाँधबाट गुज्रिरहेका आफ्ना नागरिकको उपचारको दायित्वबाट स्थानीय सरकार पन्छिन नमिल्ने बताउनुहुन्छ । उहाँ मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहनुभएको सामान्य आर्थिक अवस्थाको नागरिक हुनुहुन्छ । प्रत्यारोपणपछि नियमित रुपमा महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता रहेको हुँदा मासिक रु पाँच हजार सरकारले दिए आफूजस्ता धेरैलाई ठूलो राहत मिल्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : असार ६, २०८० बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]