बैशाख १४, २०८१ शुक्रबार

भत्ताले संकट पार्दैछ झापाली पत्रकारिता

प्रदीप परियार

मेची उधोग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनमा पत्रकारलाई भत्ता बाँडेको कुराले यतिबेला सामाजिक सञ्जाल रंगिचंगी छ । पत्रकार महासंघ झापाले जिल्लाको सबै क्षेत्रलाई कुनै पनि कार्यक्रममा पत्रकारलाई भत्ता नदिन गरेको आव्हानलाई मेची उधोग वाणिज्य संघले अटेर गरी भत्ता बाढ्यो । उधोग वाणिज्य संघलाई पनि कुनै पत्रकारले नै भत्ता दिनुपर्छ भन्ने सिकाएर , भत्ता दिएको हुनुपर्छ । महासंघले भत्ता नलिनु भन्छ, नदिनु भन्छ ।

तर, त्यहि पत्रकार महासंघ भित्रका साथीहरु कार्यक्रम आयोजकलाई भत्ता दिन सुझाव दिइरहेका छन् । झापाको पत्रकारितामा यि दुई किसिमको दृष्टिकोण छ । पत्रकार महासंघले गरेको निर्णय कार्यान्वय गर्न सबैको सहयोग हुनुपर्ने हो । तर, झापामा पत्रकारलाई भत्ताको नसाले छोड्न सकेको छैन । कसैले भन्ला, म लिन्न । तर, झापाको हकमा एउटाले नलिएर केहि हुन्न । बहसमा झापा जोडिएको छ । एउटाले लिए पनि नीतिगत हिसावले हेर्दा सबैले लिएको बुझाई भइरहेको छ ।

भत्ताले उब्जाएको समस्या
विभिन्न कार्यक्रममा सहभागी हुँदा पत्रकारलाई ५ सय देखि १ हजारसम्म खामबन्दी गरेर दिइन्छ । ठुला सहकारीहरु त २ हजारसम्म दिन पनि तयार छन् । भत्ता थापेको समयमा पत्रकारलाई लोभ हुन्छ । विना लगानी २ हजारसम्म पाउदा अरु कामधन्दाको कुनै मतलव हुदैन । त्यस्तै कार्यक्रममा नबोलाए पनि भत्ताको लोभले पुग्ने धेरै छन् । समाचार लेखेरै आफुलाई टिकाउन नसक्नुको परिणाम पनि हो, भत्ता ।

धेरैले भन्लान्, तैले चाँही नलिएको हो र ? हो मैले पनि विगतमा लिए । म स्वीकार गर्छु । तर, यसको दिर्घकालिन असरको बारेमा गहन अध्ययन गरेर अहिले महासंघको एजेण्डामा म पनि साथमा छु । भत्ताले पत्रकारितालाई दिगो बनाउन सक्दैन । अर्को प्रश्न पनि छ , कार्यक्रममा सहभागी जनाउन पुग्दाको इन्धनको कुरा । जब, कार्यक्रम स्थलमा पुगेर रिपोटिङ गर्दा पनि हाउसले त्यसको ज्याला दिदैंन भने हामीले बुझ्न जरुरी छ , कि मिडिया हाउस कमजोर भयो । मिडिया हाउस किन कमजोर बन्दैछन् ? मिडिया हाउस कसरी मजबुद बनाउने ? भन्ने तर्फ समाचार लेख्नेहरुको खास ध्यान पुगेको छैन ।


कुनै पनि कम्पनीले राम्रो र गुणस्तर उत्पादन गरेन भने घाटामा जान्छ । कम्पनी कमजोर हुन्छ । यहि शुत्र हामी मिडिया हाउसमा पनि जोडेर हेरौं । हाम्रो उत्पादन राम्रो र गुणस्तर नभएर कमजोर भएको हो । कमजोर हुनुमा आफ्नै दोष छ । त्यसैले मिडिया हाउस आफ्ना पत्रकारलाई कार्यक्रमसम्म पुग्ने इन्धन सकिरहेका छैनन् । समाचार लेख्दा त्यसको उचित पारिश्रमिक दिन सकिरहेका छैनन् । भत्ताकै कारण पत्रकारिता कमजोर यस मानेमा भइरहेको छ । एउटै हाउसबाट भत्ताको गन्धले संवाददाता देखि व्यवस्थापकलाई तानिरहेको हुन्छ । जिल्लाको ठुला मिडियाका त प्रायः सबै पत्रकार, पत्रकार सम्मेलनमा पुगेकै हुन्छन् ।

त्यसको मतलव, के हो ? ४ जना एउटै मिडियाका पत्रकार, पत्रकार सम्मेलनमा सहभागी भएपनि एउटा अखवारमा एउटै समाचार प्रकाशित हुने हो । चार जना जाँदैमा , एउटा पत्रिकामा ४ वटा प्रकाशित हुने होइन । यदि १ जना सम्मेलनमा जाने र ३ जना तिन वटा बेग्ला बेग्लै समाचार खोजी गर्ने हो भने पाठकले नयाँ तिन वटा समाचार पढ्न पाउने छन् । तर, आज सबै पत्रकार एउटै कार्यक्रममा सहभागी बनिरहँदा पाठक एउटै समाचार पढ्न बाध्य छन् । पाठक घट्नुको मुख्य कारण पनि यहि हो । भत्ता नै हो । भत्ताले मिडिया हाउसलाई आर्थिक रुपमा कमजोर बनाएको छ । पत्रकार ५ हजारको विज्ञापनलाई ५ सयमा समाचारको रुपमा उतारिरहेका छन् ।
पत्रकार पाउनै छोडे
चिन्ता , मिडिया हाउस बचाउनुको पनि छ । राम्रो समाचार लेख्ने मान्छे खोजौं न भन्दा गाह्रो छ । नत मिडिया हाउस राम्रो तलव दिन सक्छन् । नत, पत्रकार काम गर्न नै तयार छन् । पत्रकारलाई फिल्डको भत्ता तलवभन्दा बढी हुने भएपछि किन दुःख गर्थे । तलव भन्दा भत्ता धेरैं हुँदा काम गर्न कोहि मान्दैनन् । यसको श्रेय , पत्रकार महासंघ झापाले नै लिनुपर्छ । किनभने, चुनावको मुखमा बाडेको सदस्यताको उपज हो, यो । भोटका लागि किराना पसलेदेखि डेरी चलाउनेसम्मलाई महासंघको सदस्यता दिएको छ । पत्रकारको संख्यात्मक उपस्थिति हेर्ने हो भने झापा निकै अगाडि छ । तर, आम झापाबासीले साच्ने बेला आएको छ । के झापामा हरेक दिन एउटा नयाँ खोज भइरहेको छ ? संख्यात्मक उपस्थितिको कुनै अर्थ छ ?

भत्ताकै लोभले पछिल्लो समय पत्रकार बन्नेको होड छ । काम नै नगरी खाममा ५ सय पाउदा कोहि किन अरु पेशा गर्लान् र । एउटा मजदुर ५ सयको लागि ८ घण्टासम्म पसिना बगाइरहेका हुन्छन् । पत्रकार १० मिनेट एक ठाउँमा सहभागी बन्दा ५ सय झ्याम्मै । यत्राको, दुःख गर्छन् । यस्तै–यस्तै समस्या यतिबेला मिडिया हाउसले व्यहोर्नु पनि परेको छ । यहाँ काम अनुसारको पैसा दिन्छु भन्दा कोहि कामको लागि तयार बन्दैनन् । काम अर्थात समाचार नखोज्ने भएपछि पाठकले किन अखवार, रेडियो, टिभी, अनलाइन् हेर्छन्, सुन्छन् र पढ्छन् । उनीहरु पनि मिडिया खोज्न बाध्य छैनन् । हामीले आम पाठक, स्रोतालाई मिडियाबाट आफै टाढा बनाइरहेका छौं ।

समाधानको उपाय
पत्रकार महासंघ झापाको भत्ता बारेको निर्णय ठिक छ । विस्तारै, कार्यानवय पनि होला । एकै पटक कार्यान्वय हुने कुरा किमार्थ संभव छैन । यो चाँही महासंघले बुझ्नुपर्छ । कार्यान्यन त भइरहेकै छ । हरेक पत्रकार सम्मेलनमा केहि साथीहरु भत्ता नबुझ्ने हुनुभएको छ । यो कार्यान्वयकै चरण हो । यहि निर्णयका कारण साथीहरु भत्ता बुझ्नबाट पछि हट्नु भएको छ । एक दिन त्यस्तो पनि आउला कि सबै साथीहरुले भत्ता अस्वीकार गरुन् ।
कुनै पनि क्षेत्रमा वेथिती बढ्नुको कारण नेतृत्वको प्रभाव नै हो । झापाको पत्रकारितामा पनि वेथिती बढ्नु महासंघको नेतृत्वकै कारण हो । महासंघले नियमन गर्न फेसबुकको स्टाटस लेखेर संभव छैन । काम नगर्ने, गफ मात्र गर्नेले स्टाटस लेख्ने हो । व्यवहारिक सुधारमा लाग्नु भएका साथीहरु स्टाटस् लेखालेखमा हुनुन्न ।

पहिलो त कार्यक्रम आयोजकले मिडिया हाउसलाई निम्तो दिने हो । मिडिया हाउसमा खवर भए सोहि अनुसार पत्रकारलाई समाचार संकलनमा पठाउनु पर्छ । हाउसले पक्कै ४ जना पठाउदैन । एक जना मात्र पठाउँछ । किन आज पत्रकार एउटै समाचारमा लागि दौडिरहेका छन् ? खास प्रश्न हो यो । समाचार नदेखेर हो ? कि समाचार लेख्न जाँगर नभएर हो ? सम्पादकीय स्वतन्त्रता रहे पनि हाउसको नियमभित्र पत्रकार बस्ने हो भने यो सबै ‘भत्ता’ रोगको उपचार संभव छ । हाउसको नियन्त्रण बारिह पत्रकार बस्छन् भने त्यो सुधार गर्ने जिम्मेवारी हाउसकै हो ।

पत्रकार महासंघको भूमिका कमजोर
महासंघले भत्ताको बारेमा गरेको एउटा निर्णयले धेरैलाई पोल्यो । तर, झापाको पत्रकारितालाई बलियो र नागरिकमैत्री बनाउने हरु त्यसको पक्षमा उभिए । केहि साथीहरु नेतृत्वप्रतिको पूर्वाग्रहले विरोधमा उत्रिए । महासंघले निर्णय गरेपछि आजसम्म मिडिया हाउससँग कुनै समन्वय गरेको छैन । सञ्चालक, सम्पादक लेभलमा यसको बहस जरुरी थियो । निर्णय महासंघले गरे पनि कार्यान्वयमा सहयोग गर्ने मिडिया हाउसले नै हो । पहिलो कमजोरी यहि छ ।
अर्को, महासंघको जिम्मेवारीमा रहेका, भोलीको दिनमा अध्यक्ष बन्छु भनेर दौडधुप गर्नेहरु भत्ताको विरुद्धमा छैनन् ।

किनभने, भत्ताको विरोध गर्यो भने भोट नपाइएला कि भन्ने डर छ । बाहिर आदर्श देखाएर भित्र–भित्र भत्ता दिन लगाएको धेरै घटना देख्न नै पाइयो । आफैं प्रेस हेर्दिने, भत्ता बाढ्न थालेपछि लुकिदिने महासंघका कथित नेता खोज्न टाढा जानै पर्दैन । यस्ता अनेकौ समस्यामा रहेको झापाली पत्रकारिताको रथ यसरी नै दौडियो भने झापामा पत्रकारिता क्षेत्र अवश्य संकटमा पर्ने छ । झापाको पत्रकारिता बचाउन पत्रकारिता क्षेत्र कमै लाग्ला । भत्ता बाँढ्नेहरुले सचेत भइदिनु प¥यो ।

प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]