बैशाख १६, २०८१ आईतबार

दाताको भरमा ७२ वर्ष पुरानो भद्रपर गौशाला

अम्बिका भण्डारी

झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो ।

गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गर्नुभएको हो । गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि तत्कालीन समयमा भद्रपुरमा स्व मित्रुकाले २५ बिघा, जोशीले तीन बिघा र शर्माले साढे तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । आठ कठ्ठा जग्गा शर्माबाट खरिद गरिएको थियो ।

सोही जग्गामध्ये भद्रपुर नगरपालिका–५ मा साढे ११ कठ्ठा जग्गामा गौशाला सञ्चालनमा आएको छ । अन्य २० बिघा जमिन ठेक्कामा लगाइएको छ भने बाँकी छ बिघामा गौशाला सार्ने तयारी भइरहेको अध्यक्ष चापागाईंले बताउनुभयो । गोठमा हाल एक सय १३ उन्नत र स्थानीय जातका गाईबाच्छा छन् । गौशालामा भएका गाईमध्ये शिवसताक्षी धामस्थित गोलक गोवद्र्धन गौशालाका प्रमुख नन्दकिशोर भारद्वाजको सहयोगमा केही वर्षअघि दिल्लीबाट ल्याइएका उन्नत जातका जर्सी, गीरा, साइबल, हरियाना र इलामे जातका गाई छन् । हाल झापामा दुई गौशाला छन् ।

यिनै गाईको दूधबाट वार्षिक रुपमा गौशालाले रु २४ लाख र गोबर बिक्रीबाट रु छ लाख आम्दानी भइरहेको छ । चापागाईंका अनुसार गौशाला सञ्चालनका लागि वार्षिक रु ७२ लाख खर्च हुने गरेको छ । उहाँले गाईवस्तुको हेरचाहमा दैनिक १० जना तथा एक पशु चिकित्सकलाई मासिक तलब दिएर राखेको बताउनुभयो । गाईको दाना, पराल, बिरामी हुँदा उपचार र कर्मचारी खर्चमा वार्षिक रु ७२ लाख खर्च हुने गरेको चापागाईंले बताउनुभयो ।

गोठ आधुनिक खालको छ । हरेक गाईका डुढमा पानीको धारा जडान गरिएको छ । गाईलाई गर्मी र लामखुट्टेबाट जोगाउनका लागि पङ्खाकोसमेत व्यवस्था गरिएको छ । यी सबै संरचना दाताको सहयोगबाट नै बनेको उहाँको भनाइ छ । “सेवा नै धर्म हो भन्ने हाम्रो अभिप्राय हो”, चापागाईंले भन्नुभयो, “तर खर्चले धान्नै गाह्रो भयो । यहाँबाट हुने आम्दानी भन्दा बढी दाताको सहयोगबाट चलिरहेको छ । सरकारको सहयोग छैन ।”

गौशाला सञ्चालनका लागि वार्षिक रु १८ लाख जगदीश मिण्डाले सहयोग गर्दै आउनुभएको छ । उहाँ जस्तै अन्य दाताले समेत वर्षेनि रु ५० हजारदेखि रु एक लाखसम्म सहयोग गर्दै आउनुभएको छ । हाल गौशाला सञ्चालनमध्येका जगदीश मिण्डा मात्र जीवित हुनुहुन्छ । उहाँ दैनिकजसो गौशालामा पुग्ने र गाईबस्तुलाई सुसुम्याउने र समस्या बुझ्ने गर्नुहुन्छ । “गौमाता भनेपछि मरिहत्ते गर्नुहुन्छ”, चापागाईंले भन्नुभयो, “गाईको सेवाका लागि उहाँले वर्षेनि एक्लै रु १८ लाख सहयोग गर्नुहुन्छ ।”

मिण्डाको नेतृत्वमा २०७४ सालमा गौशाला परिसरमा दाताको सहयोगमा सङ्कलन गरिएको रु ८० लाखको लागतमा कृष्ण मन्दिर, आधुनिक गोठ, कार्यालय, सन्त आवासलगायत संरचना निर्माण गरिएका छन् ।

गोठ सार्न समस्या

हाल भद्रपुर नगरपालिका–५ स्थित गाईगोठ साँघुरो भएको चापागाईंले बताउनुभयो । तस्करले भारततिर लैजाँदै गरेका गाई प्रहरीले पक्रेर ल्याउँदा राख्ने ठाउँको अभाव भएको हुँदा खुल्ला र फराकिलो स्थानमा गोठ सार्न आर्थिक अभाव छ । अध्यक्ष चापागाईंले आगामी आर्थिक वर्षमा भद्रपुर–४ मा छ बिघा जमिनमा गाईको गोठ सार्ने तयारी भइरहेको बताउनुभयो ।

“हाल ११ कठ्ठा जमिनमा भएको गौशाला साँघुरो हुँदा पराल र गोबर व्यवस्थापनमा समस्या भइरहेको छ” उहाँले भन्नुभयो । गोठ सार्न करिब रु दुई करोड बढी लाग्ने अनुमान गरिएको छ । “बजेट छैन । गोठ नसारी भएको छैन”, चापागाईंले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]