बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडमा रात्री बजारको लागि बहस गरौं

सम्पादकीय
झापाको ठुलो बजार बिर्तामोडमा वर्षौदेखि रातीसम्म बजार लगाउने विषय चर्चा छ । विगत वर्षहरुदेखि चर्चामा रहेपनि यसको अगुवाई हुन सकिरहेको छैन । घाम अस्ताउन साथ बन्द हुने बिर्तामोड विहान पनि आरामले खुल्छ । झट्ट कुनै अत्यावश्यक सामग्री खरिद गर्नुपरेमा विहान बेलुका निकै दुख हुन्छ । व्यापारीहरुले रातीसम्म बजार चलाउन चाहि रहेका छन् कि छैनन् ? यहाँको बजारलाई राती कति बजेसम्म चलाउन संभव छ ? अव, बहसको विषय बन्नुपर्छ । छरछिमेकका बजारहरु दिनहु बढिरहेका छन् । तर, बिर्तामोड बजार खोल्न ढिलाई, बन्द गर्नको हतारोले व्यापार साँघुरिदैछ ।

बजार कति समयसम्म चलाउने भन्ने व्यापारीको हातमा छ । अब, व्यापारीहरुले बिर्तामोडलाई हवेरसम्म खुला गरेर व्यवसाय गर्नुपर्छ । बिर्तामोड नगरपालिकाले बजारलाई राती ९÷१० बजेसम्म सञ्चालन गर्ने गरी नीति कार्यक्रममा समेटेको छ । स्थानीय सरकारले बजारको हीतमा ल्याएको यो योजना बारे पर्याप्त छलफल र बहस हुन आवश्यक छ । स्थानीय सरकार, व्यापारी, प्रशासन, सुरक्षा निकाय समेतको छलफलबाट यसको निष्कर्ष निकाल्नुपर्छ । रात्रीकालिन बजार चुनौतिपूर्ण छ, सँगै विकासित ठाउँहरुमा रात्रीकालिन बजारहरु सञ्चालन हुन्छन् । छिमेकमा रहेको सिलिगुरी अवेरसम्म खुल्ला हुन्छ । यहाँका धेरै उपभोक्ताहरु सिलिगुरी राती किनमेल, घुमफिरका जाने गर्छन् ।

बिर्तामोड अब एउटा सामान्य बजार मात्र रहेन । यसलाई पर्यटकहरुको आगमन हुने गरिको व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि साँझसम्म बजार खुल्ला हुनुपर्छ । तेस्रो मुलुकका नागरिकहरु यहाँ बस्ने गरि आएको पाइदैन । किनभने, यहाँ घुमफिर गर्ने माहोल छैन । व्यापारीहरुलाई ५ बजे नै पसल बन्द गर्न हतारो हुन्छ । दिनभर व्यवस्त हुने उपभोक्ताहरुका लागि बजारको समय अनुकुल भइरहेको छैन । आरामले किनमेल गर्न सक्ने बजार बनाउन आवश्यक छ । त्यसका लागि रात्रीकालिन सुरक्षाको उचित प्रवन्ध हुनुपर्छ । यसका लागि बहसको थालनी गरौं ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]