बैशाख २२, २०८१ शनिबार

बिर्तामोडको एक वर्ष : जग्गा वर्गीकरणदेखि बुधबारे हटिया व्यवस्थापनसम्म

झापाको बिर्तामोड नगरपालिकाले गत असार १० गते आर्थिक वर्ष ०८०-८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । बजेट, नीति तथा कार्यक्रम पारित गर्ने अन्तिम तयारीमा पुगेको बिर्तामोड नगरपालिकाले सुर्तिजन्य पदार्थको नियन्त्रणलाई प्राथमिकतमा राखेको छ । स्थानीय तहको दोस्रो निर्वाचनको पहिलो कार्यकाल वितेको छ । वितेको एक वर्ष कस्तो रह्यो ? बिर्तामोड नगरपालिकाले पहिलो वर्षलाई कसरी समीक्षा गरेको छ ? चालु आर्थिक वर्षको उपलब्धीहरु र आगामी योजना लगायतका सन्दर्भमा नगर प्रमुख पवित्रा महतारा प्रसाईसँग इजलास दैनिकका सम्पादक प्रदीप परियारले गरेको संक्षिप्त कुराकानी :

१. बिर्तामोड नगरपालिकालको दोस्रो कार्यकालको पहिलो वर्ष कस्तो रह्यो ?
बिर्तामोड नगरपालिकाको दोस्रो कार्यकाल, नगर प्रमुखको रुपमा मेरो पहिलो कार्यकाल सौहार्दपूर्ण भएको छ । निर्वाचित भएपछि सपथ ग्रहण गरेर कार्यभार सम्हालेका थियौ । जनप्रतिनिधिको रुपमा आइसकेपछि नागरिकसँग नियमित रुपमा सहकार्य र समन्वय भइरहेको छ । नगरपालिकाबाट हुने दैनिक प्रशासनिक कामहरु नियमित नै छ । सँगसँगै विकास निर्माणका काम नियमित रुपमा सञ्चालित छन् । सबै क्षेत्र, निकायसँगको सहकार्य पहिलो वर्ष राम्रै रह्यो ।

२, पहिलो वर्षको उपलब्धीका रुपमा के–के लिन सकिन्छ ?
पहिलो वर्ष उपलब्धीकै वर्ष रहन पुग्यो । आम नागरिक, राजनीतिक दल, कर्मचारी, सामाजिक संघसंस्था सबैको साथ सहयोगमा यो वर्ष उपलब्धीपूर्ण बनेको छ । बिर्तामोड फुटपाथ व्यवसायका कारण अस्तव्यस्त थियो । त्यसलाई हामीले हटाएका छौं । भद्रपुर रोडसहित सबैतिर फुटपाथ व्यवसायीका कारण हिडडुलमा समस्या हुन्थ्यो । सवारी साधन सञ्चालनमा समेत कठिनाई भइरहेको अवस्थामा फुटपाथ व्यवस्थापनपछि एउटा समस्याको हल भएको छ । कृषिथोक बजार अगाडि फुटपाथले बजारलाई समस्या भएको थियो । अहिले बिर्तामोडमा फुटपाथको समस्या पूर्ण रुपमा समाधान गरिएको छ । सडक आसपासमा धेरैजसो फलफुल व्यापार थियो । अहिले फलफुल व्यवसायीको व्यवस्थापन भइसकेको छ । सडक किनारबाट व्यवसायीहरु आफ्नै बजार निर्माण गरेर व्यापारमा लाग्नु भएको छ । सबैको प्रयासबाट ठेला, फुटपाथको व्यवस्थापन गर्न सफल भएका छौं ।

भद्रपुर रोडको डिभाइडरमा फुल हुर्काएका छौं । धेरै मेहनत र प्रयासपछि फुल रोप्ने काम भएको छ । बिर्तामोडलाई हरित नगरको रुपमा विकास गर्ने, सुन्दर बिर्तामोड बनाउने उद्देश्यले भद्रपुर रोडलाई हरियारी रोडको रुपमा परिणत गर्न सफल भयौं ।

यस्तै, जग्गा वर्गीकरणको काम सकेका छौं । झापा जिल्लामै वर्गीकरण सम्पन्न गर्ने बिर्तामोड पहिलो स्थानीय तह भएको छ । ऐनले व्यवस्था गरे बमोजिम बिर्तामोडको जमिनको वर्गीकरण गरिएको हो । अर्काको जमिनलाई वर्गीकरण गर्न धेरै चुनौति थियो । त्यो काम पनि सकिएको छ ।

बिर्तामोड–५ मा रहेको बुधबारे हटियामा बहुतले भवन निर्माणका लागि काम सुरु भइसकेको छ । अहिले ठाउँ खाली गरि सकिएको छ । अब, यसको विस्तृत परियोजना निर्माण गरेर तत्कालै निर्माणको काम थालनी गर्ने योजनामा छौं । दाताले उपलब्ध गराएको जमिन उद्देश्य विपरित सञ्चालन भइरहेपछि जमिनको संरक्षण र उचित उपयोग गर्ने उद्देश्यले बजार खाली गराइएको छ । त्यहाँ नगर विकास कोषको समेत सहयोगमा पार्किङ सहितको बहुतले भवन निर्माण गर्नेछौं ।

बिर्तामोड–३ मा व्यापारिक भवन निर्माण भइरहेको छ । उक्त भवन निर्माणपछि बिर्ताबजारको मुहार नै बदलिन्छ । सो क्षेत्रको समेत फुटपाथ व्यवस्थापन गरिएको छ ।

नगर अस्पतालमा सेवा थप गरेर उपचार प्रदान गरिरहेका छौं । नगरवासीलाई स्वास्थ्य सेवामा कुनै पनि कमि हुन नदिने गरी काम गर्दैछौं । अहिले सुरुआत पनि छ । यसलाई ठिक ढंगबाट सञ्चालन गर्दै स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछौं । भर्खरै २५ वेडको लागि थप भवन निर्माण कार्य प्रारम्भ गरिएको छ । उक्त भवन निर्माण भएपछि स्वास्थ्य सेवा सुविधा सम्पन्न हुनेमा विश्वस्त छु । साढे १८ करोडको लागतमा बिर्तामोड नगर अस्पतालको नयाँ भवन बन्दैछ ।
बिर्तामोड–६ बुट्टाबारीदेखि प्याकुरेल चोकसम्म विश्व बैंकको सहयोगमा सडक निर्माण कार्य प्रारम्भ गरिएको छ । सडकको गत महिना मात्रै शिलान्यास गरियो । अन्तराष्ट्रिय मापदण्डको सडक निर्माणले बिर्तामोडको पूर्वी भागमा नयाँ आयाम ल्याउने छ । समग्र बिर्तामोडलाई हेर्ने दृष्टिकोण नै बदलिनेछ । बुट्टाबारी–प्याकुरेल सडक खण्ड नगरको ठुलो योजना हो । चालु आर्थिक वर्षको बजेट, कार्यक्रमको कार्यान्वयन ९५ प्रतिशत भइसकेको छ । र, बाँकी योजना पनि असार मसान्तभित्र सम्पन्न हुदैछन् ।

विषादीयुक्त माछाको विक्रि वितरणमा प्रतिवन्ध लगाएका छौं । भारतबाट आयात हुने विषादीयुक्त मरेका माछालाई नगर क्षेत्रभरी विक्री गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ ।

३, आर्थिक वर्ष ०८०-८१ का प्राथमिकताहरु के हुन् ?
नगरवासीको स्वास्थ्य र यहाँको वातावरणलाई ख्याल गर्दै नीति तथा कार्यक्रममा सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि योजना अघि सारेका छौं । सूर्तिजन्य पदार्थले रोगी बनाउने, क्यान्सर जस्तो घातक रोगबाट ज्यान जाने भएको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै यसको नियमन गर्ने विषयलाई प्राथमिकतामा राखेका छौं । सूर्तिजन्य पदार्थको प्रयोग, भोला गुट्खाको खोलहरु बाटोभर फालिने गर्दा वातावरणमा समेत असर गरिरहेको छ ।

यसलाई सफल बनाउन सबैको साथ सहयोगको खाँचो पर्छ । सूर्तिजन्य पदार्थको प्रयोग र विक्रि वितरणमा नियमन गर्ने योजना अनुरुप काम गर्दै जानेछौं । यस्तै, लागुपदार्थले समाजमा नकारात्मक असर पुराइरहेको छ । धेरै परिवारहरु लागुऔषध दुव्र्यसनले उजाडिएका छन् । यसैले यसको नियन्त्रणका लागि स्थानीय सरकारको तहबाट पर्याप्त एक्शन लिनेछौं ।

बिर्तामोडलाई वातावरण मैत्री बनाउन विरुवा रोप्ने अभियान सञ्चालन गर्नेछौं । फोहोरमैला व्यवस्थापनका लागि वर्गीकरणको कामलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । त्यसलाई सफल बनाएर बिर्तामोडलाई स्वच्छ र हरावरा बनाइनेछ । साथै, निर्माणधिन योजनालाई निरन्तरता दिदैं जानेछौं ।

बजेट अनुसार नयाँ योजनाहरु सञ्चालन गर्ने, बुधबारे हटियाको बहुतले व्यावसायिक भवन निर्माणलाई अघि बढाउने योजनाहरु प्राथमिकतामा छन् । यहाँको पर्यटकीय गन्तव्यहरुमा लगानी गर्ने निर्माण लगायतका कामहरु गरिनेछ । र, नयाँ आर्थिक वर्षबाट बिर्तामोडमा रहेको ड्रेनहरुको खोजी गरिनेछ । सडक आसपासमा रहेका सबै पुराना डे«न खोजेर सरसफाई गरि वर्षभरीमा सबै ड्रेनलाई निकास दिने योजना छ । महत्वपूर्ण योजनाका रुपमा डे«नको खोजतलास गर्ने र निकास दिने कामलाई राखेका छौं । यस्तै, डोमालाल राजवंशी रंगशालालाई घेरावारा गरेर व्यवस्थित रंगशाला बनाउनेछौं ।

औधोगिक, शैक्षिक र स्वास्थ्यको हवको रुपमा विकास भइरहेको बिर्तामोड बजारलाई राती ९-१० बजेसम्म सञ्चालनका लागि काम गर्ने योजना छ । त्यसका लागि प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकायसँगको समन्वयमा राती अवेरसम्म बजार सञ्चालन गर्ने तयारीमा छौं ।

४, बिर्तामोडको बिकासमा नगरपालिका र दलहरुबीचको समन्वय कस्तो छ ?
सबै राजनीतिक दलहरुसँगको सहकार्यबाट नै पहिलो वर्ष सफल भएको हो । दलहरुको सकारात्मक सहयोगबाट नै बिर्तामोडको विकास हुने हुँदा समन्वय र सहकार्य निरन्तर रुपमा चलिरहन्छ । नगरपालिका र दलहरु यस ठाउँको विकासमा उत्तिकै जिम्मेवार भएकाले सबै जसो काममा सरसल्लाह, छलफल गरेरै काम गरिरहेका छौं ।

५, जनताको सूझाव कति सुन्नु हुन्छ ?
जनताको सूझाव अनुसार नै काम गर्ने हो । त्यसका लागि हामीले वडा–वडासम्म सूझाव संकलनका लागि फारम नै वितरण गरेका छौं । नागरिकको तहबाट नगरपालिकालाई सूझाव आवश्यक छ भन्ने उद्देश्यले फारम वितरण गरिएको हो । महत्वपूर्ण सूझावहरु आइरहेका छन् । चालु वर्षमा १५० भन्दा बढी महत्वपूर्ण सूझावहरु आएका छन् । सूझावहरुको निरन्तर कार्यान्वयन गर्दै जाने सोचमा छौं । संकलित सूझावहरुको हामीले नगरमा प्रस्तुति नै गरेका थियौं ।

६, यो वर्ष नगर प्रमुख हुनुको नाताले के काममा खुशी हुनुभयो ?
नगरका सबै काम प्रति खुशी छु । दुखी भएर काम गरिदैन । कुनै काममा धेरै, कुनै काममा कम खुशी हुनु स्वभाविक हो । बुट्टाबारी–प्याकुरेलचोक सडक खण्डको शिलान्यास हँुदा असाध्यै खुशी भए । किनभने, यो सडकमा विश्व बैंकको सहयोगमा बन्दैछ । अन्तराष्ट्रिय मापदण्डको सडक बन्ने भएपछि धेरै नै खुशी भएको छु । बजार व्यवस्थापन, बुधबारे हटियामा बहुतले व्यावसायिक भवन निर्माण र नगर अस्पताल फुल फेजमा स्वास्थ्य सेवा प्रदान भएपछि गर्व लागेको छ ।

७, काम गर्दागर्दै पनि कहिलेकाँही दुख लाग्छ कि लाग्दैन ?
खुशी मात्र होइन, काम गर्दा दुखका क्षणहरु पनि आउछन् । महत्वपूर्ण काममा पनि बेलाबखत घेराबन्दी हुँदा, असहयोग हुँदा धेरै दुख लाग्छ । जानकार व्यक्ति, माथिल्लो ओहोदामा बस्नेहरुको असहयोग हुँदा पीडा लाग्छ । हामी जनप्रतिनिधि हौ । जनताले गुनासो राख्ने, दुख विसाउने हामीसँगै हो । तर, कहिलेकाँही जान्नेबुभ्m्नेकै व्यवहार देखेर दुखित हुनुपर्छ । अर्को चाँही, कति नगरवासीहरु विभिन्न योजना, काम लिएर आउँदा बजेट अभावले दिन सकिन्न । त्यो बेला पनि मन दुख्छ । दिन पाए हुन्थ्यो जस्तो छ । तर, दिन नसक्दा दुख लाग्छ ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]