बैशाख २७, २०८२ शनिबार

के हो शिवसताक्षीले बनाएको ज्ञान घर ?

दुधे । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञान घर निर्माण सुरु गरेको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले शनिवार शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आजै ज्ञान घरको निर्माणपछि उद्घाटन गर्दै अभियानको सुरुवात गर्नुभएको हो । स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञान घरमा नगरप्रमुखले बृहत नेपाली शब्दकोष लगायतको पुस्तकहरु प्रदान गर्दै ज्ञानघरको उद्घाटन गर्नुभयो । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बुले बताउनुभयो ।

यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो ।

पछिल्लो समय बालवालिकाहरुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्य मै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन संस्कृतिको विकासका लागि नगरका प्रायः सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले लगेको नगरप्रमुख थोप्राले बताउनुभयो । ज्ञानघरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले नीति बनाएर र आवश्यक बजेट समेतको व्यवस्थापन गरिसकेको नगरप्रमुखको भनाई छ । ज्ञानघरको लागि अघिल्लो आर्थिक वर्षबाट बजेट बिनियोजन सुरु गरेकोमा झापाकै १५ पालिका तथा संम्भवत कोशी प्रदेशकै नौलो कार्यक्रम यस ज्ञान घर निर्माण भएको नगरप्रमुखले बताउनुभयो ।

ज्ञानघरबाट सबै उमेर समुह र समुदायका नगरवासीले फाइदा लिन सक्ने थोप्राले बताउनुभयो । ज्ञान घरमा विद्यार्थी, घर गृहणी, लोकसेवा आयोगका विद्यार्थी देखि लिएर राजनीतिक गतिविधि जान्न चाहने स्थानीय नेतासमेतलाई फाइदा पुग्ने गरि पत्रपत्रिकाको व्यवस्था गरिने समेत नगरप्रमुखले बताउनुभयो ।

ज्ञानघरलाई शिक्षाकै महत्वपुर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताउनुभयो ।

नगरका ग्रामीण चौकहरुमा स्थापना हुने ज्ञानघरमा पुस्तक, विभिन्न पत्रपत्रिका र जानकारी मुलक सूचनाहरु उपलब्ध हुने योङहाङ्गले बताउनुभयो । बालबालिका तथा युवा पुस्ताहरुमा पठनशैली हराउदै गएकोले यसको विकास गर्नका लागि नगरपालिकाले ज्ञानघरको अवधारणा ल्याएको लेखा प्रमुख योङहाङ्गको भनाई छ । शिवसताक्षी नगरपालिकालाई शैक्षिक हव बनाउने योजनामा ज्ञानघरको मुख्य भुमिका हुन सक्ने प्रकाशले धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष भवानीविक्रम चेम्जोङ्गले ज्ञानघर निर्माण नगरकैमात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको भन्दै नगरको गौरवको योजना भएको दावी गर्नुभयो । ज्ञानघरलाई सबै उमेर र समुहका नागरिकले फाइदा लिन समेत वडाअध्यक्षले अनुरोध गर्नुभयो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा साखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका पिन्सिपल पदम कुबँर लगायातले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपुर्ण काम भएको बताउँनुभयो ।
यसैविचमा ज्ञानघर निर्माणपछि स्थानीय उमा अधिकारी, रोहित गिरी लगायातका दाताहरुले ज्ञानघरका लागि पुस्तक समेत प्रदान गर्नुभयो । कार्यक्रमको स्वागत चन्द्रहाङ लिङदेनले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बुले गर्नुभएको थियो ।

प्रकाशित मिति : असार १६, २०८० शनिबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]